आलेख

सी विचारधारा : मार्क्सवाद र कन्फ्यूसियसवादको संश्लेषण

मार्क्सवाद र कन्फ्यूसियसवादलाई संश्लेषण गर्ने सीको प्रयास व्यावहारिक यथार्थको कसीमा अवैध छैन । चिनियाँ पहिचान एकमनावादी हैन,बहुमुखी छ । चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ सांस्कृतिक परम्परालाई बेवास्ता गर्न सक्दैन ।

सी विचारधारा : मार्क्सवाद र कन्फ्यूसियसवादको संश्लेषण

सन् २०२३ मा चीनको दोस्रो धेरै हेरिने टेलिभिजन हुनानले ‘जब मार्क्सले फन्फ्यूसियसलाई भेटे’ नामक शृङ्खला देखायो ।

यसमा दुई चिन्तक कार्ल मार्क्स र कन्फ्यूसियस कन्फ्यूसियवादी दर्शनको विकासमा उल्लेखनीय भूमिकाको लागि प्रख्यात हजारौं वर्ष पुरानो युएलू एकेडेमीमा भेट गर्छन्‌ । कन्फ्यूसियसले लामो होर्ल्याङ्गे जामा र कार्ल मार्क्सले कालो सूट र लियोनिनको सेतो केश लगाएको हुन्छ ।

५ वटाभन्दा बढी शृङ्खलामा कार्ल मार्क्स र कन्फ्यूसियस राजनीतिको प्रकृतिबारे छलफल गर्छन्‌ । अन्ततः यो निष्कर्षमा पुग्दछन् कि मार्क्सवाद र कन्फ्यूसियसवाद मिल्दोजुल्दो छन् वा कार्ल मार्क्सले अवचेतनरूपमा कन्फ्यूसियसवादको कुवाबाट आफ्ना सिद्धान्त उगाएर निकालेका हुन् ।

शृङ्खलाको एक प्रकरणमा कार्ल मार्क्स यस्तो संवाद बोल्छन् कि उनी र उनका कमरेडहरू ‘राजनीतिक स्थिरताका लागि प्रतिबद्ध’ थिए र थप्छन्, “वास्तवमा म आफैँ लामो समय चिनियाँ थिए ।” उनी यो पनि भन्छन् कि उनको सोच सधैँ चिनियाँ विश्व दृष्टिकोणसँग मेल खाने खालको थियो ।

यो टिभी शृङ्खलालाई चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन थियो । टिभी शृङ्खला राष्ट्रपति सी चिनफिङको देशको विचारधारात्मक पहिचानलाई पुनर्अवधारणाकृत गर्ने परियोजनाको अंश थियो ।

सन् २०१२ मा सत्तामा आएपछि राष्ट्रपति सीले चिनियाँ जनताका लागि विचारधाराको नयाँ व्याख्या बुझ्न आवश्यक बनाएका छन् । त्यसलाई उनले ‘सी चिनफिङ विचारधारा’ भनेका छन् । नोकरशाह, व्यवसायी र पपस्टारले यसलाई समर्थन गर्नुपर्दछ । विद्यार्थीलाई स्कूलमा पढाइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यले एक मोबाइल एप्समार्फत यस विचारका उपदेश नियमित सञ्चार गर्दछन् ।

सीको यो विचारधाराको मूल कुरा मार्क्सवाद र कन्फ्यूसियसवादलाई जोड्नु हो । सन् २०२३ मा उनले आजका चिनियाँले मार्क्सवादलाई ‘आत्मा’ र कन्फ्यूसियसवादलाई ‘परम्परागत चिनियाँ संस्कृतिको जरा’ मान्नुपर्ने घोषणा गरेका थिए ।

सीको चिनियाँ विचारधारालाई पुनर्परिभाषित गर्ने प्रयासप्रति बढ्दो आकस्मिकता महसुस हुन थालेको छ । किनकि अहिले चिनियाँ बृद्धि मन्दीमा छ । लगानीकर्ताको शङ्का र घर-घरमा सार्वजनिक अविश्वास फैलिँदो छ । उनी त्यस्तो देशको नेतृत्व गर्दैछन्, जसको सरकारको रूपभन्दा आर्थिक शक्ति धेरै बढी सम्मानित छ ।

चीनले अहिले विश्वका प्रमुख अर्थतन्त्रमध्ये एक स्थान जितेको छ । तर, विश्व व्यवस्थाभित्रको स्थानका लागि अझै आकांक्षी छ । सी र अन्य चिनियाँ नेताहरू यसकारण निराश छन् कि पश्चिमा देशहरू चीनको विश्वव्यापी प्रभावलाई स्वीकार गर्न हिच्किचाइरहेका छन् । जबसम्म चीनले आफूलाई आधुनिक विश्वव्यापी उदार मूल्यअनुरूप गर्दैन, स्वीकार्य हुन सकिरहेको छैन । तर, मार्क्स र कन्फ्यूसियसको संश्लेषणले चीनभित्र र बाहिरका अवलोकनकर्ताका लागि हतप्रभ र परिहासतिर उस्काउँछ ।

विगत शताब्दीका चिनियाँ कम्युनिष्ट विचारक फस्टाउँदो भविष्यले मुर्झाउँदो विगतको अन्त्यको माग गर्दछ भन्ने विश्वास गर्थे । चीनका प्रारम्भिक कम्युनिष्ट विचारकले विशेषगरी कन्फ्यूसियसवादको निन्दा गर्थे । कन्फ्यूसियसवादको दर्शनले पदसोपानक्रम, कर्मकाण्ड र आदर्शमय विगततिर फिर्ता हुन जोड दिन्छ ।

माओ लगायतका चिनियाँ मार्क्सवादीहरू कन्फ्यूसियसवादलाई मार्क्सवादसँग मिल्दोजुल्दो ठान्दैनथे । उनीहरूको बुझाइमा यी दुईबीच सैद्धान्तिक असङ्गति थियो । मार्क्सवादको क्रान्ति र निरन्तर परिवर्तन उत्सव मनाउने व्यावहारिक राजनीतिक प्रभावले चीनलाई कमजोर बनाएको थियो ।

तिनको विचारमा कन्फ्यूसियसवादी सोच आधुनिकताका चुनौतीहरू अनुकूलन गर्न असफल नोकरशाहीबाट उत्पन्न थियो । माओको सांस्कृतिक क्रान्तिको अन्तिमतिर यस्ता अभिव्यक्ति बलिया थिए । चिनियाँ रेडगार्डहरूले दार्शनिकका चिहानमाथि नग्न लास उभ्याएर डाइनामाइट प्रहार गर्थे ।

तर, यति धेरै सम्पन्न इतिहास भएको देशको विगतलाई मेटाउनु सधैँ ठूलो तनावको कुरा थियो । चिनियाँ विचारक र जनता निरन्तर यो ठान्थे कि देशका राजनीतिक परिवर्तनलाई आफ्नै स्रोतबाट ब्यूत्पन्न विधिहरूको प्रतिक्रियाका रूपमा हेर्न पर्दछ ।

बीसौं शताब्दीको प्रारम्भका धेरै राजनीतिक सिद्धान्तकारले कन्फ्यूसियसवादको निन्दा गर्थे । तर, त्यस्ता विचारक पनि थुप्रै थिए, जो चीनको आधुनिकताका लागि पश्चिमा विचारको अनुकरण, चाहे त्यो मार्क्सवाद, उदारवाद वा राष्ट्रवाद नै किन होस्, आवश्यक छैन भन्थे । उनीहरूले आधुनिकीकरणका लागि चिनियाँ परम्परागत विचारको ब्रह्माण्डभित्रै फरक र सम्भावित मार्गचित्र फेला पारे ।

सिन्ह्वा विश्वाविद्यायलका चिनियाँ भाषा र साहित्यका विद्वान् वाङ हुई आफ्नो उत्कृष्ट रचना ‘दी राइज अफ मोर्डन चाइना थड’मा उन्नाइसौं शताब्दीको उत्तरार्धतिरका दार्शनिकतिर फर्किन्छन्, जसले चिनियाँ दर्शनलाई पुनर्आकारित गर्ने काम गरे । वाङले चिनियाँ इतिहासको सहस्राब्दीमा राजनीतिक सिद्धान्त र शासनका ठोस सवालबीचको सम्बन्ध विश्लेषण गर्दछन् ।

उनी यो भन्छन् कि सन् १६४४ देखि सन् १९१२ सम्म शासन गर्ने क्विङ राजवंशको आधुनिक चीनको व्याख्यालाई बेवास्ता गर्न सकिँदैन । उनी चीनले मार्क्सवाद अङ्गाल्नु कन्फ्यूसियसवादलाई अस्वीकृत गर्नु हैन भन्दछन् ।

पुस्तकले चीन आफ्नो राजनीतिक सिद्धान्तमा सधैँ जीवन्त र बहुलवादी रहेको उत्कृष्ट चित्रण गर्दछ । चिनियाँ विचार एकमनावादी र खण्डित थिए भन्ने बुझाइसँग यो बाझिएको छ । यस दृष्टिकोणबाट राष्ट्रपति सीको मार्क्सवाद र कन्फ्यूसियसवादलाई संश्लेषण गर्ने प्रयास अकल्पनीय लाग्दैन । गम्भीर चिन्तकहरूले यो प्रयास पहिलेदेखि नै गर्दै आएका थिए ।

कतिपय लेखक के ठान्दछन् भने सीको विचारधारात्मक प्रकार्य सामान्य जनताका लागि सान्दर्भिक छैन । उनीहरू धितोको मोटो रकम भुक्तानी तथा जेष्ठ नागरिकको स्वास्थ्य सेवाजस्ता भौतिक समस्यासँग जुझिरहेका छन् ।

तर, चिनियाँ सङ्कटको सार राष्ट्रिय पहिचानको अभाव पनि हो । वाङ हुईको सुझावमा देशको विचारधारालाई पुनर्परिभाषित गर्ने प्रयासले त्यस्तो सङ्कटलाई सम्बोधन गर्न मद्दत गर्दछ । तर, उनले यस सन्दर्भमा चिनियाँ कम्युनिष्ट पार्टी कतातिर भड्किरहेको भन्नेसमेत चर्चा गरेका छन् ।

वाङ समकालीन चीनका एक सबैभन्दा बढी प्रभावशाली बौद्धिक हुन्, जो कम्युनिष्ट क्रान्तियताको चीनबारे बारम्बार लेखिरहन्छन् । उनी सन् १९८९ को लोकतान्त्रिक सुधारका लागि भएको विद्यार्थी आन्दोलनका एक सहभागी पनि हुन् । सन् २०१० मा प्रकाशित आफ्नो अर्को पुस्तक ‘दि इन्ड अफ रेभोल्युसन’मा उनी चीनको बजारीकरणतर्फको मोडको आलोचना गर्दछन् ।

उनको अघिल्लो किताबमा माओ देखापरेका मात्र थिए । वाङको अध्ययन सोङ (९६०-१२७९) र मिङ (१३८६-१६४४) राजवंशबाट सुरू हुन्छ, जो ताओवाद र बुद्धवादजस्ता परम्परागत कन्फ्यूसियसलाई चुनौती दिने नवकन्फ्यूसियसवादी सोचसम्म आइपुगेका थिए ।

क्वीङ राजवंशको युगमा चीन उचाइमा थियो । चीनको जनसङ्ख्या दोब्बर र क्षेत्रफल विशाल भएको थियो । उन्नाईसौं शताब्दीको अन्त्यसम्म आर्थिक असफलता र अफिम युद्धमा बेलायतसँगको पराजयले चिनियाँ अस्तित्व सङ्कटमा पर्‍यो । रुस, जापान र अमेरिकाले चीनलाई अपमानजनक सन्धि गर्न बाध्य बनाए । त्योबेला चीन आधुनिक युगमा फस्टाउन सक्दैनजस्तो देखिन्थ्यो ।

चीनको यो सङ्कट भूराजनीतिक मात्र थिएन, विश्व दृष्टिकोणको पनि थियो । कन्फ्यूसियसवादको निरन्तरताले सायद चीन पुँजीवाद, उदारवाद र राष्ट्रवादजस्ता आधुनिक पश्चिमा विचारधारासँग संलग्न हुन सक्दैनथ्यो । कन्फ्यूसियसवादी विचारकले विदेशी चिन्तनसँग प्रतिवाद त गर्थे । तर, यसका केही अन्तर्निहित कमजोरी पनि थिए । कन्फ्यूसियसवादमा पदसोपानक्रम आधारित असक्षम नोकरशाहीको समस्या थियो । यही खालीपनका बीच नयाँ पुस्ताका लागि मार्क्सवादको बाटो खुला भएको थियो ।

सन् १९२५ मा एक लेखक गुओ मोरुओलेको एक शीर्षक हुनान टिभी शृङ्खलामा उल्लेख छ । त्यसमा ‘कन्फ्यूसियसको मन्दिरमा मार्क्सको प्रवेश’ भनिएको छ । सन् १९३९ को कम्युनिष्ट क्रान्तिका एक केन्द्रीय व्यक्तित्व लि साओचीको पुस्तिका असल कम्युनिष्ट कसरी बन्ने ? आस्थाहरूलाई भौतिकवादी भन्दा बढी कन्फ्यूसियसवादी दृष्टिकोणबाट चर्चा गरिएको थियो ।

चीनसँग आज शक्तिशाली सेना छ । बलियो अर्थतन्त्र छ । चीनको राष्ट्रिय सुरक्षामा कतैबाट कुनै जोखिम देखिँदैन । तर, चीन आजको विश्व प्रणाली र मान्यतामा आफ्नो स्वामित्व अनुभूत गर्न सकिरहेको छैन । आजका यी मान्यता अधिकांश बीसौं शताब्दीमा पश्चिमा जगत्‌ले बनाएका हुन् । यसले गर्दा चीन आफूलाई एक प्रकारको सङ्कटमा पाउँछ ।

चिनियाँ असङ्गतिको अर्को पाटो समाजशास्त्रीय, विशेषगरी युवा जनसङ्ख्या केन्द्रित छ । यसको समाधान आर्थिक मात्र हुन सक्दैन । आर्थिक विकासले उनीहरूमा एक प्रकारको खोक्रोपन बढ्दैछ र पहिचानको भावनाले ती चिन्तित हुन थालेका छन् । चीन एक उदाउँदो आर्थिक शक्ति हो भने चिनियाँ हुनु एक अत्याधुनिक नागरिक हुनु पनि हो भन्ने भावना बढ्दोछ ।

अक्सर चिनियाँ पेशाकर्मी आज आफूलाई ‘उदास’ भनेर वर्णन गर्दछन् । चीनमा मानसिक स्वास्थ्य स्थितिलाई स्वीकार गर्ने संस्कृति छैन । सन् २०२० को एक राष्ट्रिय सर्वेक्षणमा ३५ प्रतिशत उत्तरदाताले आफूलाई उदास, चिन्तिt र अवसादको अनुभूतिले भनिएको बताएका थिए । सामाजिक सञ्जालमा चिनियाँ युवाहरूले निराशा र असन्तुष्टि व्यक्त गरिरहेका हुन्छन् । उनीहरू ठान्छन कि उनीहरू ‘फ्याँकिएका र सड्दै’ गएका चिजहरू हुन । कोभिड १९ बन्दाबन्दीका गल्तीहरूले राज्यप्रतिको विश्वास घटाएको छ ।

अधिकांश चिनियाँ विद्यार्थी विदेश पढ्न जान उत्सुक हुन्छन् । तर, उनीहरूलाई सँगसँगै यो चिन्ता पनि हुन्छ कि विदेशमा पढेर फर्किँदा देशमा उनीहरूको ‘करिअर’ कमजोर हुन सक्दछ । व्यवसायी, पेशाकर्मी, शिक्षाकर्मी र मिडिया क्षेत्रका मानिसले आफूलाई अनेक प्रकारका व्यावधानमा पाउँछन् ।

बृद्धबृद्धाको सङ्ख्या ठूलो हुँदैछ । हरेक हुर्किँदो युवा मातापिताको हेरचाहको बोझ काँधमा आएको भावनाले ग्रसित छन् । यस्ता अनेक कारण छन्, जसले चिनियाँ जनजीवनलाई असह्य बनाउँदै छ । समकालीन विश्वमा चीन बस्नका लागि नालायक ठाउँ हैन । तर, यसले मान्छेलाई आर्थिक उदयसँगै शक्तिको वीरतापूर्ण ऊर्जा प्रदान गरिरहेको छैन ।

संभवत: यही सन्दर्भमा राष्ट्रपति सीले एक नयाँ विचारधारा पस्किने प्रयास गरेका हुन्, जसले समाजको मार्क्सवादी दृष्टिकोणलाई कन्फ्यूसियससँग जोड्दछ । मार्क्सवादले आत्मआलोचना र स्वयम् शुद्धीकरणतिर प्रेरित गर्दछ । कन्फ्यूसियसले स्थिरता र प्राधिकारप्रतिको सम्मानलाई प्राथमिकता दिन्छ । सीको संश्लेषण भने आलोचनाबीच पार्टीको रक्षा गर्नु देखिन्छ ।

भर्खरै मैले चीनको मार्क्सवाद-लेनिनवाद पढाइने एक विद्यालयमा भर्ना भएकी विद्यार्थीसँग कुरा गरेको थिए । मैले सोधेँ— तिमीले मार्क्सवादबाट के बुझ्छौँ ?

उनले भनिन् कि मार्क्सवादले उनलाई वैयक्तिक विकासलाई प्रतिविम्बित गर्न मद्दत गरेको छ । आफूभित्रको मानसिक शान्ति फेला पारेकी छन् । मलाई उनको उत्तरले उत्सुक बनायो । मलाई उनको उत्तर मार्क्सवादभन्दा बढी कन्फ्यूसियसवादजस्तो लाग्यो । सम्भवत: उनले राष्ट्रपति सीको परम्परागत संस्कृतिप्रतिको जोडलाई आफूमा खिचेकी थिइन् । तर, यो पनि हुन सक्दछ कि उनले दुवै दर्शनलाई मिल्दोजुल्दो पाइन् । सायद उनले यो महसुस गरिन् कि उनको आफ्नै संस्कृतिले उनको पुस्ताको अनिश्चितता र प्रवाहहीनताको निराशाजनक भावनाको जवाफ दिन्छ ।

मार्क्सवाद र कन्फ्यूसियसवादको संविलयनले चीनलाई आफ्ना असङ्गतिबाट बाहिर निस्कने इमान्दार प्रयास दिन सक्दछ । मार्क्सवादी विश्व दृष्टिकोणले नाटकीय परिर्वतन विशेषगरी स्वच्छ ऊर्जा सङ्क्रमण, अमेरिकी आधिपत्य, उदार अन्तर्राष्ट्रिय व्यवस्थाका चुनौतीलाई आक्रमकताका साथ टकराव र भविष्यको प्रत्याशा आकारित गर्दछ ।

कन्फ्यूसियसवादी विश्वदृष्टिकोणले चीनलाई थप शान्त, भविष्यमा थप स्थिरतामुखी बनाउन सक्ने छ । प्रत्यक्ष सैन्य टकरावको विचारलाई समायोजन गरी आफ्नै हितलाई आफैँ सुनिश्चित गर्नेछ । मार्क्सवाद र कन्फ्यूसियसवादलाई संश्लेषण गर्ने सीको प्रयास व्यावहारिक यथार्थको कसीमा अवैध छैन । चिनियाँ पहिचान एकमनावादी हैन,बहुमुखी छ । चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ सांस्कृतिक परम्परालाई बेवास्ता गर्न सक्दैन ।

(फोरेन अफियर्सबाट संक्षेपीकरणसहित अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved