आलेख

गान्धी, महावीर र नेपालमा पाँचौँ औद्योगिक क्रान्ति

यहाँ महावीरजस्ता व्यक्तिलाई सडकमा चन्दा उठाउँदै हिँड्नुपरेको छ । युवाका लागि न अवसर छ, न त उनीहरूमा नेपाली राजनीतिबाट केही होला भन्ने आशा । यहाँ सबै जसो प्रविधि आयातित छ ।

गान्धी, महावीर र नेपालमा पाँचौँ औद्योगिक क्रान्ति

मानिसहरू भन्छन् महावीर पुनमा पनि महात्मा गान्धीमा जस्तै गुण छन् । सादा जीवन, उच्च विचार, निष्ठावान् व्यक्तित्व र जनभलोका लागि अधिकतम् त्यागको भावना दुवैका साझा गुण हुन् । हुन त यस्ता गुण आम व्यक्तिमा पनि हुन सक्छन् । तर, गान्धी र महावीर के कारणले विशिष्ठ छन् ? उनीहरूका विचार र कर्म कस्ता छन् ? यो लेखमा अघिल्लो शताब्दीका गान्धी र हाम्रो माझ रहेका महावीरका विचार र कर्मबारे छलफल गरिने छ । ती विचार भविष्यको नेपालका लागि कति उपयोगी छन् भन्ने विषयमा छलफल गर्नु यो लेखको उद्देश्य हो ।

यहाँ तर्क गरिएको छ, गान्धीले समाजका लागि लक्ष्य दिए भने महावीरले उद्देश्य । यस संक्षिप्त लेखमा उक्त लक्ष्य र उद्देश्य के हुन् ? पाँचौँ औद्योगिक क्रान्तिको सङ्घारमा रहेको विश्व र नेपालका लागि ति कति उपयोगी हुन सक्दछन् । अबको राजनीतिले उनीहरूबाट के सिक्न सक्छ ? वा, कस्ता मुद्दा निर्धारण गर्न सक्छ ? यी प्रश्नको विवेचनात्मक उत्तर दिने प्रयास गरिएको छ ।

गान्धी जुन समयमा जन्मे, हुर्के र काम गरे त्यो समयका समस्या र अहिलेका समस्या एउटै छैनन् । त्यसकारण त्यो बेलाका गान्धी र यो बेलाका महावीरले नेतृत्व गरेका आन्दोलनका स्वरूप र प्रथामिकता फरक छन् । उबेला गान्धी उपनिवेशको अन्त्य हुनुपर्दछ भन्दथे । अहिले महावीर देश आत्मनिर्भर हुनका लागि विज्ञान र प्रविधिको विकास हुनु पर्दछ भन्छन् । गान्धीको लक्ष्य थियो स्वराज । उनका अनुसार प्रत्यक्ष विदेशी शासनबाट मुक्त हुनु मात्रै स्वराज थिएन । स्वराज नागरिक आफ्नो शासनका लागि आफैँ तयार हुने अवस्था थियो ।

उक्त स्वराजको लक्ष्य यतिबेला सम्भव हुन्छ, जब हामी वैज्ञानिक खोज, अनुसन्धान र प्रविधिको क्षेत्रमा आत्मनिर्भर बन्दछौँ । भन्नुको मतलब जब यस क्षेत्रमा अन्य मुलुकसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने हैसियत बनाउन सक्छौँ, तब मात्रै हामी सही अर्थमा स्वतन्त्र र स्वाभिमानी बन्न सम्भव हुन्छ । अर्को शब्दमा भन्नुपर्दा गान्धीको पूर्ण स्वराजको लक्ष्यलाई वास्तविकतामा ल्याउन महावीरको प्रविधिमा आत्मनिर्भर हुनुपर्दछ भन्ने उद्देश्य यो समयको सबैभन्दा सान्दर्भिक विचार हो ।

कतिपयले गान्धी प्रविधि विरोधी थिए भन्दछन् । हो, गान्धी परनिर्भर बनाउने प्रविधिको विरोधी थिए । उनी अतिभोगको रोग बढाउने, वातावरण विनाश गर्ने, वर्गीय असमानता बढाउने, आम मानिस र प्रकृतिको शोषणलाई बढवा दिने प्रविधिको कडा विरोध गर्दथे । उनले प्रविधिको विरोध मानिसलाई कठोर श्रम र हातमुख जोड्न कठिन हुने युगमा नै राख्नु पर्दछ भन्ने सोचबाट गरेका थिएनन् । प्रविधिको निर्माण र सञ्चालनको ज्ञान र सीप सिमित मानिसको नियन्त्रणमा हुने र यसको प्रयोग सिमित मान्छेलाई धनी बनाउन उपयोग गर्ने व्यवस्थाको विरोध गरेका थिए । वास्तवमा उनले प्रविधिको दुरुपयोगको विरोध गरेका थिए ।

महावीर पनि त्यस्तै प्रविधि चाहन्छन्, जसको विकासले नेपाललाई आत्मनिर्भर बनाओस् । यस्तो विकास जसले कृषि र अत्यावश्यक वस्तुको उत्पादनमा मात्रै होइन, अन्तरिक्षमा खोज र कृतिम बौद्धिकताको विकास गरी नेपालीको अवस्था फेर्दै राष्ट्रिय गौरव बढाउन सकोस् । यो काममा सफलता अरुले विकास गरेको प्रविधिको आयात गरेर सम्भव हुँदैन । त्यसका लागि मौलिक प्रविधिको विकास गर्नु आवश्यक हुन्छ । त्यसकारण वैज्ञानिक खोज तथा अनुसन्धानमा राष्ट्र लाग्नुको अर्को विकल्प छैन । यही अनुभुति र त्यसका लागि उनको पूर्ण समर्पण महावीरलाई अन्य मानिसभन्दा विशिष्ठ बनाउने प्रमुख कुरा हो ।

विश्वका विकसित देशहरू प्रविधि र वैज्ञानिक अध्ययन-अनुसन्धानमा ध्यान दिएकाले अगाडि बढ्न सफल भएका हुन् । नेपालमा श्रोतको अभाव भएर विज्ञानको विकास हुन नसकेको होइन । नेपाली समाज र राजनीतिले यो कुरा नबुझेकाले देश पछाडि परेको महावीरको ठम्याइँ छ ।

उनका अनुसार नेपाली संस्कृतिले विज्ञान र खोज अनुसन्धानलाई महत्व दिँदैन । जब संस्कृतिले नै वैज्ञानिकतालाई स्वीकार गर्दैन भने चुनौती ठूलो बन्दछ । जनताले यो मुद्दालाई प्रथामिकतामा राख्दैनन् । त्यसो हुँदा राजनीतिले पनि महत्वको विषय ठान्दैन । वास्तवमा भन्ने हो भने यो सांस्कृतिक समस्या उठाएर महावीरले नेपाली समाजलाई नै परिवर्तन गर्ने दिशामा छन्, जुन ऐतिहासिक जागरणको काम हो ।

सन् २००७ मा ‘तारबिहिन कम्पयुटर प्रविधिमार्फत नेपाली गाउँलाई ‘विश्व गाऊँ’सँग जोड्न मौलिक विधिको विकास गरेकोमा’ महावीरलाई एशियाको नोवेल पुरस्कार भनेर चिनिने रोमन म्यागासेसेबाट सम्मानित गरिएको थियो । अन्य पनि धेरै सम्मान पाएका महावीर पछिल्लो १२ वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालनका लागि सक्रिय छन् । उक्त केन्द्रको सञ्चालनका लागि सरकारसँग पटक-पटक हारगुहार गर्दा पनि सहयोग पाउन नसकेका उनले आफ्नो सम्पत्ति र प्राप्त मेडललाईसमेत बिक्रीमा राखे । पछिल्लोसमय आफ्नो आत्मकथा प्रकाशित गरी त्यसलाई बेच्न देश दौडाहामा छन् ।

उनले उक्त आत्मकथामा लेखेका छन्, ‘यो मैले बुढेसकालको खर्च जुटाउनका लागि भनेर राखेको थिएँ । तर, यसलाई पनि राष्ट्रिय आविष्कार केन्द्रको सञ्चालनका लागि नै प्रकाशित गर्नु परेको छ ।’ फलको आशा नगरी पैसाको खोलो बगाउनु पर्ने क्षेत्र हो वैज्ञानिक खोज, अनुसन्धान तथा आविष्कारको क्षेत्र । तर,  श्रोत जुटाउन महावीर आफैँ आत्मकथा बेच्न हिँड्नुपरेको तीतो यथार्थ नेपालीका लागि लाजको विषय हो । पङ्क्तिकारलाई पनि यसले पटकपटक लज्जाबोध गराएको छ ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भए । राणा, राजा हुँदै गणतन्त्रसम्मको यात्रा भयो । तर जनचाहना अनुसारको काम हुन सकेन । राजनीतिज्ञहरू फेरि संविधान फेर्ने कुरा गर्न थालेका छन् । कोही राजा ल्याउनु पर्दछ भन्छन्, कोही सङ्घीयताको खारेजीलाई समाधान ठान्दछन् ।

कोही प्रत्यक्ष निर्वाचित कार्यकारीले समस्याको समाधान हुन्छ भन्ने ठान्दछन् । हो कतिपय सन्दर्भमा राजनीतिक सुधारका लागि संविधानको संशोधन आवश्यक हुनसक्छ । तर, राजनीतिक व्यवस्थालाई मात्रै दोषी देख्ने आँखा नै पो दोषी छन् कि ? के उपलब्ध सबै राजनीतिक व्यवस्था फेरेर हेर्दा पनि हामी अझै सन्तुष्ट नभएको हौँ ? अर्थात्, सोच्नुपर्ने के छ भने हामीबाट समस्याको सही पहिचान हुन नसकेको हो कि ?

अन्य देश हेर्दा राजा भएका हुन् वा गणतन्त्र, दुवै व्यवस्थामा देशले स्थायीत्व पाएका छन् । यसले के जनाउँछ भने राजनीतिक व्यवस्थाले मात्रै देशको दशा र दिशा निर्धारण गर्न सक्दैन । नेपालमा सधैँ राजनीतिक व्यवस्थालाई दोषी देख्ने गरिएको छ ।

यसलाई फेर्दै हेर्दै गर्दा एकातिर सङ्क्रमणकाल नै दीर्घ हुने समस्या उब्जेको छ भने अर्कोतर्फ समाजमा निराशा व्याप्त भएर राष्ट्रियता कमजोर भएको छ । आधारभूत लोकतान्त्रिक अधिकारसहितको संविधान सभाबाट संविधान निर्माण भए पछि अब राजनीतिक व्यवस्थालाई मात्रै दोष दिने सोच परिवर्तन गर्ने कि ? वास्तवमा देशको समस्यालाई बुझ्न राजनीतिभन्दा बाहिर गएर हेर्ने दृष्टिकोण आवश्यक छ ।

समस्या महावीरले भने जस्तै संस्कृतिमा छ । तर, बारम्बार राजनीतिक व्यवस्था बदलेर ‘काम-कुरो एकातिर कुम्लो बोकी कतातिर’ भन्ने उखानलाई चरितार्थ गर्ने काम भएको छ । कम्तिमा नयाँ पुस्ताका राजनीतिज्ञले यो कुरा बुझ्न ढिला गर्नु हुँदैन । अब समाजको सोचाइ र काम गर्ने तरिका बदल्नेतर्फ ध्यान दिन जरुरी छ ।

पाँचौ औद्योगिक क्रान्ति र नेपालको बाटो

अहिले गान्धी र महावीरका विचारलाई जोड्ने परिस्थिति बनेको छ । यो अवसर सुरू हुँदै गरेको पाँचौँ चरणको औद्योगीकरणले उपलब्ध गराएको हो ।

यो चरणको औद्योगीकरण पहिलो, दोश्रो, तेश्रो र चौथो चरणको जस्तो वस्तु, नाफा र उपभोग केन्द्रित हुने छैन । यो ठूलो उत्पादन गरेर प्रकृति र आम मानिसलाई बेपर्वाह शोषण गर्ने उद्देश्यबाट निर्देशित पनि हुने छैन ।

हो, यो चरणमा मानव र प्रविधिबीचको सम्बन्ध झन् बलियो त हुने छ । तर, उक्त सम्बन्धले आत्मनिर्भरतातर्फको यात्रालाई थप सहज बनाउने छ । यद्यपि, यो यति बेला सम्भव छ, जब केही सीमित व्यक्तिको नियन्त्रणमा रहेको प्रविधि विकेन्द्रित हुनेछ ।

हुन त रोबट र कृत्रिम बौद्धिकताको विकास तेश्रो र चौथो चरणको औद्योगीकरणसँगै सुरू भएको हो । तर, कृत्रिम बौद्धिक क्षमता भएको मेसिनले आफैँ सिक्ने र कमभन्दा कम मानवीय सहायतामा काम फत्ते गर्ने भएपछि औद्योगीकरणको पाँचौँ चरण सुरू भएको मानिन्छ ।

वास्तवमा अहिलेको समय चौथो चरणबाट पाँचौँका लागि सङ्क्रमणको अवस्था हो । नेपाल जस्ता देशका लागि चौथौ चरणका अपूर्ण काम पनि पूरा गर्नुपर्नेचाहिँ हुन्छ । उक्त अपूर्ण कामलाई फत्ते गर्दै पाँचौँमा फड्को मार्ने एक मात्रै उपाय भनेको विज्ञान र प्रविधिमा तीव्र विकास गर्नु हो । त्यसका लागि एक मात्रै बाटो महावीरले देखाएको बाटो हो ।

यो पाँचौँ चरणको अर्को महत्त्वपूर्ण विशेषता नवीकरणीय ऊर्जाको प्रयोग हो । ऊर्जाको उत्पादन तथा उत्खनन् निश्चित स्थान वा श्रोतबाट अनि निश्चित व्यक्तिको तजबिजमा हुने गरेको थियो । अहिले सौर्य र वायुबाट ऊर्जाको उत्पादन गर्ने प्रक्रिया तीव्ररूपमा अगाडि बढेको छ । विस्तारै अन्य गुरुत्वाकर्षणजस्ता सम्भावित श्रोतबाटसमेत ऊर्जा निकाल्ने अवस्था बन्दै जाँदा औद्योगीकरणको यो चरणले प्रष्ट आकार लिने अनुमान गर्न सकिन्छ ।

पाँचौँ चरणको औद्योगीकरणको अर्को महत्त्वपूर्ण पक्ष हो दिगो विकासको अवधारणा । संयुक्त राष्ट्र सङ्घले घोषणा गरेका सत्र दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि गरिने काम पाँचौँ औद्योगीकरणका जिम्मेवारी हुन् । राष्ट्र सङ्घका कतिपय लक्ष्यहरू दोश्रो, तेश्रो र चौथो चरणको औद्योगीकरणबाट आंशिकरूपमा पूरा भएका छन् ।

जस्तै गरिबी तथा भोकमरीको उन्मूलनको दिशामा, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, सफा पिउने पानीका साथै लैङ्गिक समानतासँगै आत्मसम्मान सहितको काम र ज्यालाको क्षेत्रमा सीमितै भएपनि लक्ष्य प्राप्त भएको छ । यद्यपि, बुझ्नुपर्ने कुरा के छ भने अन्य महत्त्वपूर्ण लक्ष्य प्राप्त गर्न उत्पादन, नाफा र पुनर्उत्पादनमा मात्रै ध्यान दिने चौथो चरणको औद्योगीकरणबाट सम्भव छैन ।

पाँचौँ चरणको औद्योगीककरण भनेको राष्ट्रसङ्घीय अन्य लक्ष्यहरू जस्तै वर्गीय असमानता हटाउने, दिगो शहर तथा वस्तीलाई प्रवर्द्धन गर्ने, जिम्मेवार उपभोग तथा उत्पादनलाई अगाडि बढाउनुका साथै वातावरणीय परिवर्तनलाई न्यूनीकरण गर्ने पर्दछन् । जबसम्म पुँजीको निर्माणलाई नै विकासको अन्तिम लक्ष्य ठानेर असीमित नाफा र सङ्ग्रहलाई जायज मानिन्छ, तबसम्म वर्गीय असमानता बढ्ने नै हो । न त यो अवस्थामा दिगो शहर तथा वस्तीको विकास सम्भव छ, न शोषणको अन्त्य नै ।

वातावरणीय परिवर्तनको समस्या अति भोगको संस्कारसँग जोडिएको छ । यो मानिसका असिमित आवश्यकता हुन्छन् भन्ने मान्यताका आधारमा गैरजिम्मेवार उत्पादन र उपभोगका कारण उब्जेको हो । यो समस्याले ल्याएका चुनौतीलाई कम गर्नका लागि आवश्यताको निर्धारण गर्नु जरुरी छ । अर्थात्, उपभोगमा जिम्मेवार बन्नुछ । यी लक्ष्य पुरानो उत्पादनको विधिबाट प्राप्त गर्न सम्भव छैन । वर्तमान व्यवस्था आवश्यकताको नै उत्पादन गरेर चलिरहेको छ । नाफा कमाउने उत्पादनको उद्देश्य रहने समयसम्म कसरी जिम्मेवार उपभोग र उत्पादनको लक्ष्य प्राप्त होला ? त्यो सम्भव छैन ।

पानीमुनि र जमिनमाथिको जीवन संरक्षण गर्ने राष्ट्रसङ्घीय थप लक्ष्य हुन् । त्यसका लागि जुन तरिकाले कृषि भएको छ, उद्योग सञ्चालन भएका छन्, जङ्गल तथा सामुन्द्रिक जीवनको दोहन भएको छ यसलाई रोक्नुपर्ने हुन्छ । नाफा र उपभोगमा आधारित उत्पादनबाट यो सम्भव छैन । त्यसका साथसाथै अर्को लक्ष्य न्याय र शान्ति स्थापनार्थ बलिया अन्तर्राष्ट्रिय संस्था निर्माण गर्ने भन्ने छ त्यो पनि पुँजीको केन्द्रिकरण रहेसम्म सम्भव छैन । सबै देशहरूबीच सहकार्य गर्ने सत्रमध्ये एक अर्को लक्ष्य छ, त्यो अहिलेको धनी हुने प्रतिस्पर्धा जुन छ । यहाँ कसरी सम्भव होला ?

त्यसका लागि उत्पादनको लक्ष्य बदल्न आवश्यक छ । त्यसका लागि गान्धीविचार उपयोगी छ ।

वास्तवमा पाँचौँ चरणको औद्योगीकरण यस्तो चरण हो, जसले विश्वलाई पुँजीवादबाट पूर्वपुँजीवादी समाजतर्फ लैजाँदै छ । चुस्त र अत्याधुनिक प्रविधिका कारण मानिसले धेरै शारीरिक काम गर्न नपर्ने अवस्था बन्दै छ ।

कतिपय मानसिक काम पनि प्रविधिले मानिसका लागि गर्दै छ । अहिले प्रविधिमाथि केहि मानिसको रहेको नियन्त्रण ज्ञान र ऊर्जाको विकृन्द्रिकणसँगै कमजोर हुने छ । उपलब्ध श्रोत र प्रविधिको न्यायोचित वितरण वा विकेन्द्रिकरण हुन सके दिनमा एक/दुई घण्टाको कामले जीविका चल्ने अवस्था बन्ने छ । यो परिवर्तन पाँचौँ औद्योगीकरणसँगै स्थगत हुँदै जानेछ ।

अबको समय भौतिक वस्तुका लागि मरिमेट्ने समय होइन । गान्धीले भनेझैँ आफ्ना आवश्यकतालाई वैज्ञानिक ढङ्गले निर्धारण गरेर प्रकृति, छिमेकी तथा वरिपरिका अन्य प्राणीसँग समञ्जस्य वा सन्तुलनको सम्बन्ध राख्ने समय हो । अबको मानव आत्मकेन्द्रित र भोगी भएर खुसी हुन सक्दैन । बरु, आत्मसमीक्षा गर्दै आफूलाई प्रकृतिको एक सिर्जनाका रूपमा स्वीकारेर मात्रै खुसी हुन सक्दछ ।

अबको समय अतिभोगको रोगबाट ग्रस्त भएर आफ्नो नैतिकता र प्रकृतिलाई बर्बाद गर्ने समय होइन । त्यसकारण जोन नोस्टाले साइकोलोजी टुडेमा भने जस्तै पाँचौँ औद्योगीकरणको समय संज्ञानात्मकता (कग्नेटीभ)को समय हो । अर्थात्, अबको समय भौतिक र बौद्धिकरूपमा आत्मनिर्भर बन्दै प्रबुद्धताको विकास गर्ने समय हो ।

अन्त्यमा, वर्तमान नेपाललाई निराशाको दृष्टिकोणबाट हेर्नेका लागि माथिका कुरा बढी नै आशावादी लाग्न सक्छन् । यहाँ त प्रविधि र आविष्कारका लागि दुईचार करोड लगानी गर्न राज्य तयार छैन । नेताका भाषणमा आत्मनिर्भरता र प्रविधिको कुरै सुनिँदैन । कतै कुरा भइहाल्यो भने पनि सामान खरिद गर्न सक्ने क्रयशक्ति हुनुलाई आत्मनिर्भर भएको बुझिन्छ ।

यहाँ महावीरजस्ता व्यक्तिलाई सडकमा चन्दा उठाउँदै हिँड्नुपरेको छ । युवाका लागि न अवसर छ, न त उनीहरूमा नेपाली राजनीतिबाट केही होला भन्ने आशा । यहाँ सबै जसो प्रविधि आयातित छ । नागरिकमाझ यो देशमा केही हुँदैन भन्ने भाष्य स्थापित हुँदै गएको छ । यस्तो समाज कसरी प्रबुद्ध समाज बन्न सक्ला ? प्रश्न उठ्नु अस्वाभाविक पनि होइन ।

यद्यपि, आशावादी हुने धेरै कारण छन् । तीमध्ये प्रमुख दुई छन् । पहिलो— कारण हो, विश्व परिवर्तन भइरहेको छ । थोरै तलमाथि भएपनि अब नेपाल मात्रै पछि पर्ने, अन्य देश अगाडि बढ्ने भन्ने हुँदैन । अहिले विश्व भरीका मानिसको भविष्य जोडिएको छ । यो विश्वव्यापि व्यापार र आवतजावतका कारण मात्रै भएको होइन । साझा समस्याका कारण पनि छ ।

माथि छलफल गरिएका वर्गीय विभेद, वातावरणीय सङ्कट तथा उपभोक्तावादी संस्कृतिका विकृतिजस्ता समस्या अब कुनै एक देशका समस्या रहेनन् । यी विश्वव्यापि बनि सके । यिनको समाधान गर्नका लगि विश्व एकजुट हुन जरुरी छ । त्यस एकताबाट नेपाल पछि हट्ने सम्भावना हुँदैन भने उक्त एकताको फाइदाबाट पनि नेपाल वञ्चित हुने कुरा रहँदैन ।

अशावादी हुनुपर्ने अर्को कारण हो, नेपालमा उपलब्ध मानवीय र प्राकृतिक श्रोत । यो युवाको देश हो । यहाँ देश निर्माण गर्नका लागि पर्याप्त जनशक्ति छ । यसलाई क्षमतावान् बनाउनुपर्ने चाहिँ छ । वातावरणीय विविधताले गर्दा पनि नेपालमा प्रचुर सम्भावना छन् ।

पानीबाट बिजुली, खनिज, कृषि तथा दिगो पर्यटनका लागि मात्रै होइन, सांस्कृतिकरूपमा समेत नेपाल धनी छ । हो महावीरले भनेझैँ वैज्ञानिक अध्ययन तथा अनुसन्धानको महत्त्व पर्याप्तरूपमा नेपालीले बुझ्न सकेका छैनन् । तर, भुल्न के हुँदैन भने महावीर पनि नेपाली नै हुन् । यसको मतलब नेपालीले यो कुरा बुझ्न अब लामो समय लाग्ने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved