१० हजारभन्दा बढी विद्युतीय सवारी आयात हुँदा १ खर्ब राजश्व घट्ने

नेपालभ्युज

१० हजारभन्दा बढी विद्युतीय सवारी आयात हुँदा १ खर्ब राजश्व घट्ने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युतीय सवारी साधन आयातमा वृद्धि भए १ खर्ब बराबरको राजश्वमा कमी आउने आकलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अनुरुप कर छुटका कारण चालु आ.व.को अन्त्यसम्म १ खर्ब बराबरको राजश्वमा कमी आउने आँकलन गरेको हो ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा राजश्व संकलनको विषयमा जानकारी दिँदै अर्थ मन्त्रालयका राजश्व सचिव,भन्सार विभागका महानिर्देशक र आन्तरिक राजश्व विभागका महानिर्देशकले यस्तो बताएका हुन् ।

उनीहरुले सरकारले चालु आ.व.मा राजश्व संकलनमा लिएको लक्ष्यअनुसार नउठ्ने अवस्था देखिएका बताए ।

उनीहरुले मुलुकको आर्थिक गतिविधि सुस्तता, वैदेशिक व्यापारमा कमी र विद्युतीय सवारी साधनको आयातमा वृद्धि भएको कारण राजश्व संकलनमा कमी देखिएको बताए ।

माघ मसान्तसम्म ५ हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको भन्दै यही सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व संकलन हुने अवस्था रहेको उनीहरुले जानकारी दिए ।

बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार विभागले माघ मसान्तसम्म भन्सार राजश्व २ खर्ब ३७ अर्ब उठाएको अवस्था रहेको बताए । उनले चालु आर्थिक वर्षमा भन्सार विभागले ६ खर्ब २७ अर्ब राजश्व संकलन गर्ने लक्ष्य भएपनि राजश्व संकलनमा लक्ष्य भन्दा धेरै पछाडि रहेको स्पष्ट पारे ।

उनले आर्थिक ऐनका विभिन्न प्रावधानले दिएको छुटका कारण खबौंको रुपैयाँ कमी आएको उल्लेख गरे ।

महानिर्देशक पौडेलले मुलुकको वैदेशिक व्यापारतर्फ आयात व्यापार ३ र निर्यात व्यापार ७.५ प्रतिशतले घटेकाले पनि राजश्व संकलन कमी आएको बताए ।

उनले माघ मसान्तसम्म ५ हजार २२९ वटा विद्युतीय सवारी साधन आयात हुँदा ५ अर्ब ७९ करोड राजश्व संकलन भएको जानकारी दिए ।

विद्युतीय सवारी साधनको ठाउँमा ५ हजार बढी सख्यामा पेट्रोलिय पदार्थबाट चल्ने सवारी साधन आयात भएको भए ३५ अर्ब रुपैयाँको राजश्व प्राप्त हुने अवस्था रहेको उनको भनाइ छ ।

उनले चालु आर्थिक वर्षको अन्त्यसम्म पुग्दा करिव १० हजार भन्दा बढी विद्युतीय सवारी साधन आयात हुने देखिएकाले त्यसबाट चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात वृद्धि हुँदा १ खर्ब बराबरको राजश्वमा कमी आउने देखिएको बताए ।

पौडेलले एलपी ग्यास र पेट्रोलिय पदार्थ लगायत अन्य केही वस्तुहरुको आयातमा कमी देखिएकाले चालु आ.व.को अन्त्यसम्ममा १० अर्ब ८१ करोड घटि राजश्व संकलन अवस्था देखिएको बताए ।

यस्तै, उनले सरकारले विद्युतीय सवारी,पेट्रोलियम पदार्थ,तेल विभिन्न पार्टसहरुबाट १ खर्बको राजश्व गुमाउने देखिएको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved