एसपीलाई गृहमन्त्रीको निर्देशन : प्रमुखको जिम्मेवारी पाउन नेताको ढोका नचहार्नू

नेपालभ्युज

एसपीलाई गृहमन्त्रीको निर्देशन : प्रमुखको जिम्मेवारी पाउन नेताको ढोका नचहार्नू

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रुपमा खटिइएका ३४ प्रहरी उपरीक्षकलाई बिहिबार विशेष निर्देशन दिँदै उनले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर सुरक्षा स्थितिको गहन विश्लेषण गर्दै कार्यक्षेत्रमा कटिबद्ध भएर खटिन अनुरोध गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाबीच सचेतना कार्यक्रम सञ्चालन गर्न तथा सुधार केन्द्र बनाउनसमेत निर्देशन दिए ।

सरकारले सामाजिक न्यायको क्षेत्रमा अभूतपूर्व काम गरिरहेको उल्लेख गर्दै उनले मिटरब्याजीका नाममा कुनै बिचौलिया देखिए तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

मन्त्रालयले पहुँच र विभिन्न स्वार्थका आधारमा नभई क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेको जनाउँदै उनले अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा विचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने बताए ।

प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताको ढोका चहार्ने, विचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्नसमेत उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

मन्त्रालयले यही फागुन १ गते २२ जिल्ला प्रहरी कार्यालय, सात प्रहरी गण, चार ट्राफिक प्रहरी कार्यालय र एक अन्य गरी ३४ प्रहरी उपरीक्षकको सरुवा गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारीमा जानुअघि प्रशासनिक तथा प्रहरी अधिकारी आवश्यक निर्देशन दिने प्रचलनको सुरुआत गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved