आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरि मनाइँदै

नेपालभ्युज

आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरि मनाइँदै

काठमाडौं । आज माघ शुक्ल पञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

आजको दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ । यो दिन बालबालिकालाई अक्षर आरम्भ वा विद्या आरम्भ गराउने चलन पनि छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिएको हो । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन पनि छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved