भारत भ्रमण अनुभव- विकासमा साझेदारीका लागि अब हामीले तयारी गर्नुपर्छ

नेपाल-भारत सम्बन्धलाई कसरी व्याख्या गर्ने ? कसैले रोटी-बेटीको सम्बन्ध भन्छन् । कसैले सानो दाइ-ठूलो दाइको सम्बन्ध भन्छन् । कसैले असल छिमेकीको सम्बन्ध भन्दछन् । हामीले भन्यौँ कि नेपाल-भारत सम्बन्ध छिमेकीभन्दा अझ बढी हो । हामी एक प्रकारका ‘कुटुम्ब’ हौँ ।

भारत भ्रमण अनुभव- विकासमा साझेदारीका लागि अब हामीले तयारी गर्नुपर्छ

म नेतृत्वको एक संसदीय प्रतिनिधिमण्डलले माघ १६-२४ गते भारतको भ्रमण गरेको छ । हामीलाई लाग्छ—भ्रमण सफल भएको छ । हामी उत्साहित भएका छौँ ।

नेपाल-भारतबीच यस प्रकारको भ्रमण नभएको निकै लामो समय भएको थियो । यो संसदीय भ्रमण थियो । हामी ८ सांसद सहभागी थियौँ ।

१६ गते साँझ दिल्ली पुगेर हामीले आफ्नै दूतावासमा छलफल गर्‍यौँ । हामीले भ्रमण क्रमका के-के कुरा उठाउँदा उचित हुन्छ भनेर हाम्रो राजदूत र कर्मचारीसँग ब्रिफ्रिङ लियौँ ।

भोलिपल्ट महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा चढाएर हाम्रो भ्रमण सुरू गर्‍यौँ । हामीले वार म्यूजियम, प्रधानमन्त्री म्यूजियम र संसदीय पुस्तकालयको अध्ययन भ्रमण गर्‍यौँ ।

संसदीय अभ्यासका लागि त्यहाँको संसदीय पुस्तकालय एक राम्रो अभ्यास रहेछ । सांसद, विधायक र संसदीय कर्मचारीले त्यसको प्रयोग गर्दा रहेछन् । करिब १०० विभिन्न विषयका अनुसन्धानकर्ता रहेछन् त्यहाँ । उनीहरूले सांसद र संसदीय प्रक्रियाका लागि चाहिने तथ्यांक र अनुसन्धान उपलब्ध गराउँदा रहेछन । यो निकै परिपक्क संस्था रहेछ ।

लोकसभाका सभामुख ओम बिड्लासँग हाम्रो लामो कुराकानी भयो । उनले हाम्रो प्रतिनिधिमण्डलको हार्दिक स्वागत गरे । भारतीय लोकतन्त्रको कार्यप्रणालीको व्याख्या गरे । अरु कतिपय छिमेकी देशको तुलनामा भारतीय लोकतन्त्र सफल र परिपक्क भएको गौरव व्यक्त गरेँ ।

भारतमा संसदीय लोकतन्त्र निरन्तर छ । आवधिक निर्वाचन बेलैमा हुन्छन् । हामीले नेपाल पक्षको बुझाइ राख्यौँ । नेपाल-भारत सम्बन्धलाई कसरी व्याख्या गर्ने ? कसैले रोटी-बेटीको सम्बन्ध भन्छन् । कसैले सानो दाइ-ठूलो दाइको सम्बन्ध भन्छन् । कसैले असल छिमेकीको सम्बन्ध भन्दछन् ।

हामीले भन्यौँ कि नेपाल-भारत सम्बन्ध छिमेकीभन्दा अझ बढी हो । हामी एक प्रकारका ‘कुटुम्ब’ हौँ ।

सन् २०१४ मा पहिलोपटक नेपाल आउँदा प्रधानमन्त्री मोदीले नेपालको संसद्‌मै भनेका थिए— तपाईंका सीताबिना हाम्रा राम अधुरा छन्, तपाईंका पशुपतिनाथबिना हाम्रा धाम अधुरा छन् ।

यदि त्यसो हो भने हाम्रो सम्बन्ध छिमेकीको मात्र हैन, कुटुम्बको हो । त्रेता युगदेखिका कुटुम्ब हौँ हामी । हामीलाई हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तामा गौरव छ । तर, कुटुम्बको सम्बन्ध साझेदारीको हो । परस्पर सम्मानको हो । भारतको विकास प्रक्रियाको साझेदार बन्ने हाम्रो हक छ भन्ने कुरा हामीले राख्यौँ ।

नेपालका नेताहरू भारतीय स्वतन्त्रताका लागि लडेका थिए । जेल गएका थिए । गोर्खा सैनिकले भारतको सुरक्षामा बलिदान दिएर योगदान गरेका छन् । भारतीय नेता राममनोहर लोहिया नेपालको सप्तरी जेलमा हुँदा जेल ब्रेक गरेर हामीले उनलाई मुक्त गरेका थियौँ ।

तसर्थ, भारतमा नेपाल माग्ने वा कृपापात्र हैन, सम्मानजनक साझेदार हो भन्यौँ । भारतीय पक्षले हाम्रो भावनासँग सहमति जनायो ।

हामीले भारतीय संसद्‌का नयाँ र पुराना दुवै भवनको अवलोकन गर्‍यौँ । हामीसँग नेपालको अर्ग्यानिक कफी र पशुपतिनाथको रुद्राक्ष थियो । त्यो उपहार दियौँ ।

भारतीय आफ्नो इतिहासप्रति असाध्यै गौरव गर्दछन् । संसद्‌का कक्षमा प्राचीनताको झलक छ । प्रत्येक सांसदको सिट कुर्सीमा लेखेरै फिक्स गरिएको रहेछ । सिटमै भोटिङ बटम रहेछन । अरु संसदीय प्रक्रिया नेपालकै जस्तो पायौँ ।

अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समितिसँग पनि करिब डेढ घण्टा कुराकानी भयो । भारतमा धेरै नेपाली छन् । तिनका समस्याबारे समेत आवश्यक पर्दा संसद्‌मा कुरा उठाइदिन हामीले सांसदहरूलाई आग्रह गर्‍यौँ ।

सांसदहरूमा नेपालप्रति निकै ठूलो रुचि, आकर्षण भएको पाइयो । उनीहरूले बेला-बेला नेपाली भारतसँग किन रिसाउँछन्, के भएको हो, थाहा भए हामी नै भारत सरकारलाई त्यसो नगर्न भन्थ्यौँ भनेको पाइयो ।

अधिकांशले त्यही भने– नेपाली भनेको इमान र विश्वासको नाम हो । हामी आग्रा भ्रमणमा गयौँ । आग्राका मेयरले स्वागत गरे । ताज महलको अवलोकन गरियो । साँझ परराष्ट्र मन्त्रालयको रात्रीभोज भयो । त्यहाँ नेपालीले भोग्न परेका समस्या र नेपाल-भारत सम्बन्धका केही महत्त्वपूर्ण पक्षहरू उठे ।

सीमकार्ड, मुद्रा सटही र नेपाली विद्यार्थीले कलेजमा र बिरामीले अस्पतालमा तिर्न पर्ने डलर मूल्यको कुरा भयो । यी कुरामा नेपालीले पाउँदै आएका सुविधा कायमै राख्न आग्रह थयौँ । भारतीय पक्षले तुरुन्तै सच्याउने भनेको छ ।

त्यसपछि हामीले अयोध्या र जनकपुर, काशी-विश्वनाथ, पशुपतिनाथ र मुक्तिनाथलाई एउटै प्याकेजमा प्रवर्द्धन गर्न आग्रह गर्‍यौँ ।

उच्च तथा मध्यमवर्गीय भारतीय बिहे गर्न दुबई, बाकु आदि ठाउँमा जान्छन् । हिन्दू उच्च वर्गका लागि नेपाल राम्रो विवाह गन्तव्य हुन सक्दछ, किनकि पशुपतिनाथको आशीर्वाद बरबधुले प्राप्त गर्नेछन् । त्यसैगरी नेपाल सिनेमाको सुटिङका लागि पनि राम्रो गन्तव्य हो भन्ने कुरा राख्यौँ ।

भारतीय परराष्ट्रमन्त्रीले २० करोड रकम बराबरको सामुदायिक विकास क्रार्यक्रम भारतले नेपालबाट सुरू गरेको र अहिले अफ्रिकी र ल्याटिन अमेरिकी देशमा समेत लागू गर्न थालेको बताए । नेपाल-भारत बीचको विद्युत् व्यापार सम्झौताबाट फाइदा उठाउन भने ।

उनले भने—विश्व तीव्र हुँदैछ । नेपालले आफ्नो गति बढाउनुपर्दछ । नत्र पछि पर्न सक्दछ । अबको युगमा समस्याहीन सम्बन्ध कुनै पनि देशबीच हुँदैन । समस्या हुन्छन् । तर, त्यसमा अल्झिन हुँदैन । समाधान गर्दै अघि बढ्न पर्दछ । कतिपय समस्या छोडेर पनि अघि बढ्नुपर्दछ । भारतको ध्यान अहिले आर्थिक विकासमा छ । नेपालले त्यहीअनुसारको तयारी गर्दा राम्रो हुन्छ ।

उनले भारत सुरक्षा र रणनीतिक सवालमा चिन्तामुक्त भयो भने नेपालको भारतमाथि निक्कै ठूलो कुरा हुने बताए । खुल्ला सीमाना र सुरक्षा चुनौतीको कुरा भयो ।

त्यसपछि गोवा गयौँ । गोवामा त्यत्रो पयर्टन छ । तर, सम्भावना त हाम्रो पोखाराकै धेरै भएजस्तो लाग्यो । त्यहाँका पर्यटन राज्यमन्त्रीसँग कुराकानी भयो । हामीले पोखरा र गोवाबीच भगिनी तथा जुम्ल्याहा सम्बन्धको प्रस्ताव गर्‍यौँ । उनी खुसी भए । नेपालले आफ्नो तर्फबाट प्रक्रिया अगाडि बढाओस्, हामी तयार छौँ भनेर भने ।

महाराष्ट्रमा मुख्यमन्त्री बिरामी भएको कारणले खासै भेटघाट भएनन् । संयोगले एयरपोर्टमा पुरीका शंकराचार्यसँग भेट भयो ।

लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथले हाम्रो भव्य स्वागत गरे । उनी निक्कै खुसी र उत्साहित देखिन्थे । त्यहाँ हामीले ‘गोरखनाथ-कूटनीति’ गर्‍यौँ । नेपालको एकीकरणका समयमा गुरु गोरखनाथको भूमिका र योगदानको स्मरण गर्‍यौँ ।

मृगस्थलीमा पूजा गरेको रुद्राक्ष र विगुत उपहार ग्रहण गर्‍यौँ । गोरखनाथका प्रसङ्गले मुख्यमन्त्री निकै भावुक र प्रभावित भए ।

हाम्रो अयोध्यानगर जाने कार्यक्रम थिएन । उनले तुरुन्तै व्यवस्था मिलाए । उनले प्रविधि, व्यापार र पर्यटनमा जोड दिन नेपाललाई आग्रह गरे । नेपालले नगदरहित अर्थतन्त्र हुन सम्भव भएको भारतबाट सिक्न उचित हुने बताए । यसले भ्रष्टाचार कम हुने बताए ।

उत्तर प्रदेशमा सभामुखसँगको भेटघाट छोट्याएर हामी अयोध्या गयौँ । त्यहाँबाट काशी-विश्वनाथ गयौँ । विश्वनाथका ४ पुजारीमध्ये एक नेपालका हुँदा रहेछन् ।

ठीक यही कुरा अयोध्या र तिरुपतिमा पनि हुन्छ । अयोध्यामा त एक सानो नमुना जनकपुर नै रहेछ । समग्रमा हामीलाई के लाग्यो भने भारतको सोच र आत्मविश्वास बढेको छ । ‘विश्व गुरु’ को भावना प्रबल छ ।

सन् २०२७ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र र सन् २०४७ सम्म विश्वकै पहिलो अर्थतन्त्र बन्ने योजनामा काम भइरहेको छ । नेपाल पनि भारतको विकासमा साझेदार बन्नु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved