आलेख

पाकिस्तानी चुनावका आशालाग्दा पक्ष

उनीहरूले समाजमाथि इन्जिनियरिङ गर्दछन् । तर, हामी जति यो चङ्गुलमा पर्दछौँ, वास्तविकताबाट उत्ति नै टाढा हुँदै जान्छौँ । मान्छे क्रोधित छन्, आक्रोशित छन् तर त्यसभित्र आशा पनि छ । क्रोधले मान्छेलाई व्यावधान बेवास्ता गर्न र एकसाथ आउन मद्दत गरिरहेको छ ।

पाकिस्तानी चुनावका आशालाग्दा पक्ष

मान्छेको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि आशा चाहिन्छ । म यहाँ आशाको सानो झिल्को व्यक्त गर्न खोज्दैछु।

सन् २०१३ र २०१८ को चुनावमा जब म मतदान गर्न कराँची गएकी थिएँ– उत्साह र विजयी भावले आश्वस्त पिटिआई समर्थकद्वारा घेरिएकी थिएँ।

भोट दिन लाइनमा केहीबेर उभिनपर्ने भयो । लाइनमा मान्छेहरू गफ गर्न थाले । धेरैले आफूले पिटिआईलाई भोट नदिने बताए । तर, यो कुरामा कसैलाई विश्वास थिएन । कराँचीमा पिटिआईलाई भोट नदिइने कुरा अविश्वासनीय लाग्थ्यो ।

ती मतदाता पहिलोपटक भोट दिँदै थिएनन् । भोटको लामो अनुभव थियो । सन् २०१३ मा मेरो अगाडि उभिएकी एक महिलाले भनेकी थिइन्- कुनै शिक्षित व्यक्तिले ‘एमक्यूएम’ लाई भोट दिन सक्दैन । अर्की एकले भनिन्- तपाईं जिब्रान नासिरलाई भोट दिएर पाकिस्तानको अस्तित्वको सम्भावनालाई नष्ट गर्दै हुनुहुन्छ ।

तर, सन् २०१८ मा एक महिलाले मलाई अर्को पक्ष बताएकी थिइन्- अब यो पाकिस्तान बचाउनुस जस्ता सोचबाट सबै मुक्त हुन पर्दछ । हामीले आफूलाई गलत धारणा र भ्रमबाट बचाउे बेला आइसक्यो ।

यसपटक पनि म भोट दिन कराँची गएँ । लाइनमा उभिएँ । लाइनमा पिटिआई समर्थक एकअर्कालाई स्वागत, अभिवादन गर्दै थिए । त्यहाँ सौहार्दता थियो । तर, त्यहाँ कसले कसलाई भोट दिँदैछ भनेर कसैले चर्चा गरेन । सबैमा के धारणा थियो भने जसलाई मन लाग्छ, उसैलाई भोट दिउन् ।

एक वृद्ध महिलाले एक युवा महिलालाई भनिन् कि उनी कसलाई भोट दिँदैछन्, कसैलाई भन्न जरुरी ठान्दिनन् । मलाई कसैको गाली सुन्नु छैन । उनले यो पनि थपिन् कि कसलाई भोट दिने वा नदिने भनेर गफ गर्ने ठाउँ हैन, भोट दिने ठाउँ हो ।

मान्छेको मुड थोरै अपमानग्रस्त र डराएजस्तो थियो तर, रमाइलो पनि थियो ।

म मान्छेहरू विनम्र भइसके भन्ने दाबी गर्दिन । अहिले नै त्यस्तो सोच्नु सायद मुर्खता हुन्छ । तर, यो भन्न सकिन्छ कि यथास्थिति चुनौतीमा छ । नयाँ जागरण आएको छ । मान्छे नयाँ सोच साटासाट गर्दैछन्। मान्छे मतदान गर्न जुन मात्रामा बाहिर आए यो एक परिवर्तनको संकेत हो ।

मान्छे थोत्रा प्रणालीबाट थकित भएका छन् । ध्रुवीकरणको प्रभाव जोखिमपूर्ण छ । प्रणालीले कुनै काम गरिरहेको छैन । अब कसैलाई कसैका रोजाईलाई बेवास्ता वा घृणा गर्नु छैन ।

आज मान्छेलाई लाग्छ कि विगतका केही चुनावमा उनीहरूको जनादेश चोरिएको, लुटिएको वा बहकाइएको थियो । अब आफ्नो जनादेश आफैँ व्यक्त गर्न चाहन्छन्।

पार्टी लाइनका आधारमा मतदाताबीच अनावश्यक ध्रुवीकरण बेकार रहेछ । यसले सत्ताका लागि मरिहत्ते गर्नेलाई मात्र फाइदा पुर्‍याउँदोरहेछ । उनीहरूलाई यो राम्रो थाहा छ कि सत्ता प्राप्त गर्ने लक्ष्यका लागि सहयोगी चाहिन्छन् । तसर्थ उनीहरूले समाजमाथि इन्जिनियरिङ गर्दछन् । तर, हामी जति यो चङ्गुलमा पर्दछौँ, वास्तविकताबाट उत्ति नै टाढा हुँदै जान्छौँ । मान्छे क्रोधित छन्, आक्रोशित छन् तर त्यसभित्र आशा पनि छ । क्रोधले मान्छेलाई व्यावधान बेवास्ता गर्न र एकसाथ आउन मद्दत गरिरहेको छ ।

पाराचिनार त्यस्तै एक निर्वाचन क्षेत्र हो, जहाँ समाजमा सिया र सुन्नी विभाजन छ । तर, ती एक जुट भएर मतदान गरेको देखिन्छ । उनीहरूले राजनीतिका साझा शत्रुविरुद्ध मतदान गरेका छन् । उनीहरूले स्थानीय जातीयता र यथास्थितिवादलाई अस्वीकार र घृणा गरेका छन् ।

साम्प्रदायिक घृणाको साटो हामी शान्तिपूर्ण अवसरका लागि सँगसँगै हुन सक्ने भएका छौँ

शक्तिशालीको दबदबालाई कमजोर पार्ने अर्को तत्त्व भनेको मिडिया हो । यस क्षेत्रमा संलग्न र यदाकदाको अभ्यासकर्ताका रूपमा म निर्वाचनसम्बन्धी रिपोर्टिङलाई ध्यान दिएर सुन्छु । यसपटक सञ्चार जगतमा कुनै द्विविधा थिएन, ती स्पष्ट थिए । लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक छ । तसर्थ, यो उपलब्धिका लागि उत्सव मनाउन पर्दछ ।

जनताले मूलधार मिडियामा आफूलाई जति धेरै देख्न पाउँछन्, त्यति नै युट्यूबजस्ता प्रोपोगाण्डामा उनीहरूको निर्भरता कम हुन्छ ।

पिटिआईका अभियानकर्ताले केही पत्रकारलाई निरुत्साहित र दुर्व्यवहार नगरेका हैनन् । तर, त्यसका बाबजुत उनीहरूले आफ्नो व्यावसायिकतामा प्रभाव पर्न दिएनन् । पत्रकारहरू नवाज शरीफको किचेन र बाथरुमबाट सञ्चालित हुन्छन् भन्ने इमरान खानको बुझाइलाई कसैले प्रसंशा गरेन ।

पार्टी समर्थकलाई हामीले यो सम्झाउन जरुरी थियो । अब सबै पार्टी समर्थकले आलोचनाको सामना गर्दै हुर्किन सिक्न पर्दछ । मिडियाले उनीहरूले चाहेजस्तो भन्दिन्छन्, बोल्दिन्छन् भन्ने अपेक्षा राख्नु हुँदैन ।

हामीले सबै क्षेत्रमा ‘असहमति नदेखाइकन असहमत हुने’ बाटो खोज्न पर्दछ । हाम्रा अग्रजहरूले हामीलाई त्यो बाटो देखाउनु पर्दछ । हामीसँग त्यस्ता थुप्रै सार्वजनिक मञ्चहरू छन्, जसले आम ध्रुवीकरणलाई कम गर्न सक्दछन् ।

राजनीति र चुनावलाई सधैँ तिक्तता र शत्रुतापूर्ण नै बनाइनुपर्छ भन्ने छैन । स्वतन्त्र उम्मेदवार जिब्रान नासिरले काराँचीबाट चुनाव हारे । तर, उनले आफ्नो जनादेश चोरियो भन्ने महसुस गरेका र असन्तुष्टि जनाउनेलाई अन्य वकिलसँग मिलेर कानूनी सहायता गर्दैछन् ।

एएनपीका बिलौर पिटिआईकी मिना खानलाई फूलको गुच्छा लिएर बधाई दिन जानु कति राम्रो उदाहरण हो । धेरै उम्मेदवारले यसपटक त्यसो गरे । पराजितले आफ्नै प्रतिस्पर्धी विजयीलाई बधाई दिए, भेटेर वा ट्वीटरबाट ।

पाकिस्तानमा आशाको किरण म यहाँनेर देख्छु । असल मानिस सामञ्जस्यता खोजिरहेका छन्।

(लेखक पाकिस्तानकी पत्रकारिता प्रशिक्षक हुन् । यो आलेख डानबाट अनुदित गरिएको हो ) 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved