पहिलो विश्वविद्यालय खेलकुदमा टियुको वर्चश्व

नेपालभ्युज

पहिलो विश्वविद्यालय खेलकुदमा टियुको वर्चश्व

काठमाडौं । पहिलो पटक भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले सफलता पाएको छ ।

विश्वविद्यालयमा खेलकुद विकास गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलवार टियुले जितेको हो । दुई दिने प्रतियोगितामा भलिबल, टेबलटेनिस, एथ्लेटिक्स र ब्याडमिन्टन गरी कुल चार विधामा २३ स्वर्ण पदका लागि प्रतिष्पर्धा भएको थियो ।

तीमध्ये त्रिभुवन विश्वविद्यालय (टियु) ले सर्वाधिक १८ स्वर्ण जित्यो र टिम च्याम्पियन बन्यो । टियुले थप आठ रजत र तीन कांस्य पदक पनि आफ्नो नाममा लेखायो । प्रतियोगितामा कुल १० विश्वविद्यालयलले प्रतिष्पर्धा गरेका थिए । तीमध्ये सुदूरपश्चिम विश्वविद्यालय दोस्रो भयो ।

सुदूरपश्चिमले तीन स्वर्ण, चार रजत र ९ काँस्य पदक जित्यो । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयले एक स्वर्ण, समान दुई रजत र काँस्य पदक जित्दै तेस्रो स्थान प्राप्त गर्‍यो । नेपाल संस्कृत विश्वविद्यालयले बाँकी १ स्वर्ण पदक आफ्नो नाममा लेखायो । नेपाल संस्कृत विश्वविद्यालयले समान एक रजत र काँस्य पनि जितेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एथ्लेटिक्समा टियुले वर्चश्व जमायो । पहिलो दिन पाँच स्वर्ण जितेको टियुले दोस्रो दिन चार स्वर्ण थप्यो । एक सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्रीले सफलता पाए ।

सटपुटको पुरुषमा टियुका वीरेन्द्र कुँवर र महिलामा टियुकी सञ्चिता घिमिरे तथा आठ सय मिटर दौडको पुरुषमा टियुका विकेश घिमिरे र महिलामा टियुकी राज्यलक्ष्मी राउतले स्वर्ण जितिन् ।

ब्याडमिण्टनमा पनि टियुकै वर्चश्व रह्यो । ब्याडमिण्टनमा कुल पाँच स्पर्धामा प्रतिष्पर्धा भएको भएको थियो र तीमध्ये टियुले मात्र चार स्वर्ण जित्यो । सुदूरपश्चिमले एक स्वर्ण जित्यो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न पुरुष सिंगल्समा टियुका सुनिल कार्की र महिला सिंगल्समा टीयुकी निसम सुब्बाले स्वर्ण जिते ।

त्यस्तै पुरुष डबल्समा सुदूरपश्चिमका पुस्करराज भट्ट र प्रकाश बिष्ट, महिला डबल्समा टियुका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा टियुका सुनिल कार्की र निसम सुब्बाले पहिलो स्थान हात पारे । टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल संस्कृतका गनञ्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण जिते ।

दुई दिने प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’ र राखेपका निमित्त सदस्यसचिव प्रकाश कुसारीले पुरस्कृत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved