बाँसबारी जग्गा हिनामिना प्रकरण: अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

बाँसबारी जग्गा हिनामिना प्रकरण: अरुण चौधरीलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनिहरूमाथि थप अनुसन्धानका लागि म्याद थप भएको हो ।

चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले उनीहरुलाई १८ माघमा पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । त्यसक्रममा चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद पाएको थियो ।

बयानका क्रममा चौधरीले कानूनी विपरित भए आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका छन् । यो प्रकरणमा पक्राउ परेका तीनै जनालाई स्वास्थ्य कारण देखाउँदै ग्राण्डी अस्पतालमा राखिएको छ ।

सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न लगाउँदा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा त्यो सेयरको विवरण दाखिल नगरी जग्गा हडपेको पाइएपछि पक्राउ परेका चौधरीले जग्गा फिर्ता गर्ने बताएका हुन् ।

भीआइपी क्याबिनमै गएर सीआइबीका अनुसन्धान अधिकृतले बयान लिइरहेछन् । अनुसन्धान अधिकृतहरूसँग चौधरीले आफू च्याम्पियन फुटवेयरको लगानीकर्ता भएको बताएका छन् ।

च्याम्पियन फुटवेयर स्थापना गरेको त्यहाँको १० रोपनी जग्गा बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्ड हो ।

च्याम्पियनकै नाममा ल्याएर चौधरी समूहले अहिले त्यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो ।

सम्झौता अनुसार सरकारले चलाएको बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा १२ लाख लगानी गर्नुपर्ने थियो । तर, २६ लाख लगानी गरेको थियो ।

सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको थियो ।

सो बापत १२ लाख ५० हजार लगानी गरे पुग्नेमा २६ लाख लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । सो रकम १० रोपनी जग्गाको मूल्य बराबर २५ लाख र नगद १ लाख गरी २६ लाख लगानी गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

जुत्ता उत्पादनमा सरकारी कम्पनीलाई सहयोग गर्न भन्दै च्याम्पियन फुटवेयरले प्रस्ताव गरी १० रोपनी जग्गा लिएको थियो ।

सो कम्पनीमा चौधरी परिवारको ५१ प्रतिशत, बाँसबारी कारखानाको २५ र बाँकी २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर पब्लिक कम्पनी बनाउने समझदारी भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved