वैदेशिक रोजगारीका नाममा ८४५ जनालाई ठग्ने लामालाई थुनामा पठाउने आदेश

नेपालभ्युज

वैदेशिक रोजगारीका नाममा ८४५ जनालाई ठग्ने लामालाई थुनामा पठाउने आदेश

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी तथा सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । लामाविरुद्ध आङपासाङ शेर्पासहित आठ सय ४५ जनाले तीन करोड ९३ लाख १४ हजार तीन सय ३३ रुपैयाँ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए ।

“प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ”, जारी आदेशमा भनिएको छ ।

लामाले न्यायाधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरुले रकम बुझाएको देखिने बैंक भौचरसमेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।

वैदेशिक रोजगार कसुरमा २०७९ साल पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापासमेतले लामाले लिथुनिया, कोरिया, न्युजिल्यान्ड, क्यानडासमेतका देशमा रोजगारीका लागि पढाउने भनी रकम लिई ठगी गरेको भन्दै उजुरी परेको थियो ।

लामालाई गत पुस १६ गते काठमाडौँको शङ्खमूलबाट पक्राउ गरिएको थियो । प्रहरीले लामाको तालिम सेन्टरबाट पीडितहरु ९३४ थान राहदानी बरामद गरेको थियो । लामाले बिगो बमोजिमको रकम फिर्ता गर्न आफू तयार रहेको बयान दिएका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved