आज सहिद दिवस राष्ट्रिय पर्वका रुपमा मनाइँदै, सार्वजनिक बिदा नहुने

नेपालभ्युज

आज सहिद दिवस राष्ट्रिय पर्वका रुपमा मनाइँदै, सार्वजनिक बिदा नहुने

काठमाडौं । आज माघ १६ गते अर्थात् सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्मानमा विविध कार्यक्रम गरी राष्ट्रिय रुपमा मनाउने गरिन्छ ।

माघ १६ गते मंगलबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल बिहान ९ बजे लैनचौरको कार्यक्रममा सहभागी हुने बताइएको छ । २०६३ साल अघिसम्म सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको हो ।

सहिदगेटमा भने विभिन्न संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

यसैबीच, सहिद दिवसमा यस पटक सार्वजनिक बिदा नहुने भएको छ । शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले सहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो वर्ष गरेको निर्णय अर्को वर्षदेखि लागू हुने भट्टराईले बताए ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो थियो ।

सहिदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी हुन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved