आलेख

भेडेबाघको कथा

जब मान्छेलाई भविष्यले भन्दा इतिहासले मोहित बनाउँछ, तब कि त उ राजावादी बन्छ, कि त स्वयम् राजा बन्छ। यसरी उनीहरूमध्ये केही राजावादी भए, कोही स्वयम् राजा बन्ने तिर्सनामा परे । यसरी उनीहरुको भविष्य दृष्टि हराउँदै गयो । इतिहासको मोहले तान्दै लग्यो । त्यसपछि अचम्म भयो, विस्तारै उनीहरूले आफ्ना वरिपरिका मान्छेलाई रैती देख्न थाले ।

भेडेबाघको कथा

लोककथाको संसार

एउटा चिनियाँ लोककथा छ– भेडेबाघको । त्यो कथालाई आज म आफ्नै भाषामा सुनाउने अनुमति चाहन्छु । एकादेशमा एउटा भेडो थियो ।

एकदिन आफ्नो बगालमा चरिरहँदा उसलाई लाग्यो कि बाघजस्तै बलियो हुन पाए कस्तो मज्जा हुन्थ्यो होला । आफू जङ्गलको मसिहा बनेको सम्झदामात्र पनि ऊ हर्षले गद्गद् भयो । उसले ‘बाघ हुनपाए अरु यताउताका खर्क, चरीचरन र जङ्गलमा कस्तो शान हुन्थ्यो होला’ भन्ने कल्पना गर्‍यो र मख्ख पर्‍यो । यतै जय-जयकार, उतै स्वागत र अभिनन्दन । आफ्ना नाता कुटुम्बभन्दा फरक, बलियो र सानदार हुने तिर्सनाले उ बेचैन हुनथाल्यो ।

उसले मनमनै गम्यो, ‘त्यस्तो भए त स्याल, ब्वाँसो र भालुको सातो उड्थ्यो होला’ । आहा ! आफ्नै कल्पनासँग उ आफैँ मोहित भयो । अन्यथा यो चुत्थो जीवनको के अर्थ ? उसले मनमनै प्रश्न गर्‍यो । पूरा जङ्गल र खर्कमा शासन चलाउने लोभले उसलाई राम्रोसँग निदाउन दिएन । त्यसपछि ऊ बलियो र सानदार भेडो हुने उपाय सोच्न थाल्यो ।

उपाय निस्कियो, जङ्गलका देउताको आराधना गर्ने । भेडोले मनमनै आफ्नो भगवान्‌‌लाई भन्यो— ‘प्रभु, हामीलाई यति निरीह भेडो किन बनायौ ? हामी भेडालाई नै यतिधेरै शक्तिहीन किन बनायौ ? किन सधैँ भेडाहरू नै ज्ञानी, सिधा र सरल हुनुपर्ने ? हामी नै असल पनि हुनुपर्ने अनि हामी नै हेपिनु पनि पर्ने ? त्यो बाघ हेर्नुहोस् त प्रभु ! ऊ कति जण्ड, उच्छट र घमन्डी छ । पाप पनि ऊ नै धेरै गर्छ, तर शक्तिशाली पनि उ नै छ । अनि प्रभुको आशीर्वाद पनि उसैलाई, यो त अन्याय भयो प्रभु । एकपटक मलाई पनि बाघजस्तै शक्तिशाली बनाइदेऊ ।

यति भनेर भेडोले भगवान्‌‌को तपस्या गर्न लाग्यो । महिनौं बिते । भेडाको कठोर तपस्या देखेर एकदिन जङ्गलका देउता खुसी भए । भेडाको सामुन्ने प्रकट भएर सोधे— प्रिय भेडा, म तेरो तपस्याबाट खुसी छु, के बर माग्छस् माग् ।

सामुन्ने साक्षात भगवान्‌‌लाई देखेर भेडो अतालिँदै उठ्यो र भन्यो, ‘भगवान्‌‌ मलाई बाघजस्तै बलियो, ठूलो र शक्तिशाली बनाइदेऊ । यतिधेरै शक्तिदेऊ प्रभु कि म यो जङ्गल, चरिचरन र खर्कमा राज गर्न सकौँ ।’

भगवान्‌‌ले तथास्तु भने र अलप भए ।

नभन्दै एकैछिनमा चमत्कार भयो । बरदानअनुसार नै भेडाको रूप, आकार, रंग, स्वर र चरित्र फेरियो । भेडाको टाउकोमा भएका सिंह अगाडितिर फर्किए । जो अझ लामा र धारिला भए । मुख ठूलो भयो र तिखा दाह्राले भरियो । चारवटा खुट्टामा लामा र बलिया नङ्ग्रा पलाए । जिउका रौँहरू फेरिए । शरीर अग्लो र लाम्चो भयो । स्वर फेरियो । अनुहारमा विनम्रता हरायो । आँखामा अहङ्कारको ज्वाला बल्न थाल्यो ।

ठूलो मुख, तिखा दाँत अनि अगाडि फर्किएका विशाल धारिला सिङले भेडो बडो अनौठो देखियो । अर्थात् ऊ जङ्गलमा मैमत्त डुलिबस्ने बाघ भन्दापनि उत्पातै भयंकर र शक्तिशाली देखियो ।

आफ्नो नयाँ अवतारमा भेडो खुसी भयो । त्यसपछि ऊ जङ्गलमा उन्मुक्त विचरण गर्न थाल्यो । भन्न थाल्यो, ‘म यो जंगलको राजा हुँ ।’ सबै कुरा उसले सोचेजस्तै थियो । शान, शक्ति, मानमनितो, जयजयकार आदि-इत्यादि ।

जङ्गल डुल्दाडुल्दै एकैछिनमा भेडालाई भोक लाग्यो । जब उसले चौरको कलिलो घाँस खान खोज्यो, दुर्भाग्य उसले घाँस चर्न सकेन । चर्न खोज्थ्यो अगाडि फर्किएका लामा सिङ, पातलो जिब्रो र तिखा दाँतले उसलाई अप्ठ्यारो बनाउँथे । यस्तो भयो कि उसका ओठले घाँस समाउनै सकेनन् । ऊ बडो आपत्‌मा पर्‍यो ।

अब के खाने होला ? उसले धेरै सोच्यो । त्यो रात त्यसरी नै भोकै बित्यो । अर्कोदिन पनि सबै कुरा उसले सोचेजस्तै थियो । मानमनितो, सानसौकत, जयजयकार । सबै कुरा थियो । तर, उसँग भोक मेट्ने उपाय थिएन । यसरी अर्को दिन पनि ऊ भोकै बस्यो ।

झन्डै एकहप्ता भोकै बसेपछि अन्तत: उसलाई लाग्यो, अब केही गर्नैपर्छ । नत्र त भोकै मरिने भयो । के गर्ने होला ? उसले खरायो, मृग, बँदेल खाँदै गरेको बाघलाई सम्झियो । उसलाई लाग्यो, म पनि खरायो ‘ट्राई’ गर्छु ।

भेडो जङ्गलमा खरायो खोज्न थाल्यो । खोज्दै जाँदा एकठाँउमा सानो खरायो देखापर्‍यो । भेडाले त्यो खरायो समात्यो र खान थाल्यो । जसै उसले खरायोमाथि आफ्ना तिखा दाँत गाड्यो, उसलाई त्यसको स्वाद र सुगन्ध निकै मिठो लाग्यो । घाँसभन्दा मिठो । उ मासुले टन्न अघायो । उसलाई नयाँ आहारा स्वादिलो लाग्यो ।

त्यसपछि अचम्म भयो, भेडाले घाँस खान छोडिदियो र ऊ सँधै मासुमा रमाउन थाल्यो । यस्तो भयो कि, उसले खरायोबाट विस्तारै मृग, बँदेल, घोरल र गाईको समेत सिकार गर्न थाल्यो । उसले आफू कुनै बेला भेडो थिए भन्ने पनि बिर्सियो र बाघको जस्तै अभियन गर्न थाल्यो । त्यो भेडालाई खरायो, मृत र बँदेलहरूले नयाँ नाम दिए भेडेबाघ । यसरी असल भेडो जण्ड र हिंस्रक भेडेबाघमा फेरियो ।

राजनीतिको संसार

अब लोककथाको संसारबाट नेपाली राजनीतिको संसारमा प्रवेश गरौँ । ठ्याक्कै भेडालाई जस्तै हाम्रो देशका केही मान्छेहरूलाई लाग्यो, ‘सत्ता नै जीवनको महान् उपलब्धि हो । सत्ता नै शक्ति हो । सत्ताबिनाको जीवन, के जीवन ? उनीहरू सत्ताको मायाजालमा परे । उनीहरू सत्ताको उन्माद, चंचलासिरी र शक्ति देखेर मोहित भए । एकपटक त्यो शक्ति आर्जन गर्न पाए ? उनीहरू मनमनै रोमाञ्चित हुनथाले ।

भेडालाई जस्तै ती मान्छेलाई पनि शक्तिशाली हुने तिर्सनाले निदाउन दिएन । तर, कसरी प्राप्त गर्ने सत्ता र शक्ति ? उनीहरूलाई लाग्यो, राजनीति सत्तामा पुग्ने एक उत्तम साधन हो । निर्वाचन जित्नुपर्छ, बस् त्यसपछि सबै पाइन्छ ।

नभन्दै निर्वाचन घोषणा भयो । त्यही मौका पारेर उनीहरूले नागरिकलाई भने, “हेर दुखी जनता हो, गरिब हुनु तिम्रो भाग्यको दोष होइन । भोको, अपहेलित र बेराजगार हुनु तिम्रो कर्मको दोष होइन । कमजोर हुन तिमीलाई कसैले श्राप दिएको छैन । तिमी जो जे जस्तो अन्यायमा छौ, त्यो तिम्रो आफ्नै कारणले होइन । त्यसैले जाग, अन्यायको यो संसार भत्काइदेऊ ।”

ती मान्छेका कुरा सुनेर निर्धा जनमन उत्साहित भए । त्यही उत्साहले ओतप्रोत हुँदै जनताले सोधे, ‘कसरी ? कसरी भत्काउने अन्यायी संसार ?’ उनीहरूले बडो क्रान्तिकारी भावमा भने— ‘मुर्ख मान्छेहरू हो, कुरा बुझ । यो सबै राजनीति, राजकाज र राज्यसँग सम्बन्धित कुरा हो । त्यसैले राजनीति फेर । आफ्नो प्रतिनिधिलाई राजकाजमा पठाउ ।

के यस्तो पनि सम्भव हुन्छ ? जनताले एकस्वरमा सोधे । उनीहरूले प्रत्यूत्तरमा भने, “अवश्य हुन्छ । आउने चुनावमा यस्तो मान्छेलाई भोट हाल जसले तिम्रो भाग्य, कर्म, श्राप र अन्यायको चक्रब्यूहलाई तोडिदिने छ । अर्थात् यस्तो मान्छलाई भोट हाल, जो स्वयम् तिम्रो मान्छे होस् ।”

कहाँ छ हाम्रो मान्छे ? को हो हाम्रो मान्छे ? जनताले सोधे ।

उनीहरूले आफ्नो अनुहारको रंगलाई थोरै उज्यालो बनाउँदै भने, ‘ए ! अभागी मान्छेहरू अबुझ नबन । हामी तिम्रा मान्छे हौँ । साख्यै तिम्रा । हामी तिमीजस्तै सुख, दु:खमा हुर्किएका, उस्तै भाग्यको चक्रब्यूहमा जेलिएको, उस्तै कर्मको फलबाट वञ्चित मान्छे हौँ । तिम्रो र हाम्रो जात एउटै हो । धर्म एउटै हो । भाषा एउटै हो । भूगोल एउटै हो । वर्ग एउटै हो । हामी तिम्रा असली प्रतिनिधि हौँ ।’

के तिमी पनि हामीले गाउने गीत नै गाउँछौ ?
हो त तिमी र हामीले गाउने गीत एउटै हो ।
के तिमी पनि हामीले जस्तै लुगा लगाउँछौ ?
अवश्य नै, नपत्याए हाम्रो लुगामा हेर र आफैँ विचार गर ।

नभन्दै ऊ र उनीहरूले सोचेजस्तै भयो । मतदाताहरू उनीहरूको कुरा सुनेर खुसी भए । यतिकैमा चुनाव आयो । आखिर उसैलाई मतदाताले भोट हाले, जसले उनीहरूसँग सच्चा प्रतिनिधि हुने विश्वास दिलाएको थियो । उसले भनेको थियो, “भोट हालेर त हेर, मबाट कहिल्यै धोका हुने छैन ।”

आखिर ऊ र उनीहरूले चुनाव जिते । ऊ र उनीहरू मेयर, उपमेयर र वडाध्यक्ष भए । मन्त्री, प्रधानमन्त्री भए । सांसद भए । मतदाताको अपार आशीर्वाद, बरदान र स्नेह पाएर उनीहरूको साधना र सङ्घर्ष सफल भयो । उनीहरूको तपस्या सफल भयो ।

चुनाव जितेर जब उनीहरू आ-आफ्नो ठाँउको सिंहदरबार प्रवेश गरे, त्यसपछि आश्चर्य भयो । भयो के भने उनीहरूलाई नयाँ संसारमा प्रवेश गरेजस्तो अनुभूति भयो । यस्तो संसार जहाँ, सबै कुरा फरक थियो । मान्छे फरक थिए । कपडा फरक थिए । शरीरको गन्ध र रंग फरक थियो ।

अग्ला गेट, ठूलो बाटो र त्यहाँ प्रवेश गर्ने सवारी सबै फरक ।

उनीहरूले बुझे सिंहदरबार प्रवेश गर्न पास चाहिन्छ र त्यो पास उनीहरूको खल्तीमा छ । उनीहरू पासधारी भए । अरु भए पासविहीन । उनीहरूले किन सिंहदबारमा पास चाहिन्छ भनेर सोधेनन् ? बरु आफ्नो गोजीको पास सुम्सुम्याए र मुस्कुराए ।

बस् त्यही गेटपासलाई सुम्सुम्याइरहँदा उनीहरूलाई लाग्यो, ‘अब उनीहरू र अरुमा फरक छ ।’ जब आफू अरुभन्दा फरक छु भन्ने उनीहरूले अनुभूती गरे, विस्तारै उनीहरूको भाषा फरक हुँदै गयो । खाना फरक हुँदै गयो । कपडा फरक हुँदै गयो । बस्ने घर, हिँड्ने बाटो, साथीसंगति फरक हुँदै गए ।

अर्थात् उनीहरू अब जनता रहेनन्, शासक भए । त्यसपछि उनीहरूले मतदातालाई जनता भन्न थाले । जनता अर्थात् उनीहरूभन्दा धेरै फरक मान्छेहरू । जनतालाई नमस्कार गर्न छोडे । हात मिलाउन छाडे । गला मिलाउन छाडे । जनतासँग मुस्कुराउन छाडे ।

त्यसपछि उनीहरूले भलाद्‍मी बन्ने नयाँ नयाँ काइदा सिक्न थाले । अर्थात् उनीहरू हिँड्न छाडे, सवारी चल्न थाल्यो । गाँउ जाने कामलाई भ्रमण भन्न थालियो । बिहानको खाजा ब्रेकफाष्ट भयो । उनीहरू भात हैन, भुजा ज्युनार गर्न थाले । बिहानको खानालाई लन्च भनियो । साँझ डिनर हुन थाल्यो । चिया हैन, कफीमा आदत बस्दै गयो । बिदेशी ह्विस्की नभई निन्द्रा नलाग्ने भयो ।

यो उनीहरूका लागि भाषाको मात्र फरक थिएन, जीवनको फरक थियो । त्यसपछि के भयो ? त्यही भयो । अर्थात् उनीहरूलाई सहर प्यारो हुँदै गयो । मतदाताभन्दा पार्टी कार्यकर्ता प्यारा भए । कार्यकर्ताभन्दा गुटका मान्छेहरू प्यारा भए । विचौलियासँग संगत बढ्यो । आसेपासे दिनदिनै बढ्दै गए । उनीहरूलाई कसैले ‘तपाईं’ भन्यो भने चित्त दुख्न थाल्यो । ‘माननीय’ शब्द प्यारो लाग्न थाल्यो ।

जब उनीहरू सिंहदरबारभित्र प्रवेश गर्थे, देख्थे भव्य बैठककक्ष, भित्तामा सजाइएका सुन्दर मुहार चित्र र पेन्टिंगहरू । ठूला झ्याल-ढोका र भर्‍याङ, ताजा रंगका भित्ता, अग्लो छत, विस्तारै उनीहरूलाई घरभन्दा बङ्गलो, महल, भिल्ला, दरबार रमाइलो र प्रिय लाग्न थाल्यो । सनैसनै उनीहरू इतिहासको भव्यताले मोहित हुन थाले । इतिहासको चञ्चलासिरीले उनीहरूलाई तान्दै लग्यो ।

जब उनीहरूले इतिहासका राजा, मन्त्री, राजसभाका सदस्य र अञ्चलाधीशका कथाहरू सुने, मनमा त्यसै-त्यसै मादकता चढ्न थाल्यो अर्थात् मादकताको नयाँ सङ्गीत मनमा गुञ्जियो । उनीहरूलाई लाग्यो, नाथे सांसदमात्र भएर के हुन्छ ? राजा हुनुको ओज र गरिमा नै बेग्लै । राजा हुनुको आनन्द नै बेग्लै । नाथे जनता भएर बस्नुको के मज्जा ? अब राजा हुनुपर्छ ।

जब मान्छेलाई भविष्यले भन्दा इतिहासले मोहित बनाउँछ, तब कि त उ राजावादी बन्छ, कि त स्वयम् राजा बन्छ। यसरी उनीहरूमध्ये केही राजावादी भए, कोही स्वयम् राजा बन्ने तिर्सनामा परे । यसरी भविष्य दृष्टि हराउँदै गयो । इतिहासको मोहले तान्दै लग्यो ।

त्यसपछि अचम्म भयो, विस्तारै उनीहरूले आफ्ना वरिपरिका मान्छेलाई रैती देख्न थाले । उनीहरू मतदाताभन्दा टाढा हुन थाले । विचार, साइनो, सपना र विपना सबैबाट टाढा । अब उनीहरूलाई नयाँ घर चाहियो । नयाँ गाडी चाहियो । विदेश भ्रमण चाहियो । सुनका गहनाले पुगेन, हिरा मनपर्न थाल्यो । नयाँ खानपान । नयाँ जीवनशैली । त्यसका लागि पैसा कमाउनुपर्ने भयो । तर, पैसा कमाउन सीप थिएन । त्यसैले कमाउनेहरूसँग संगत गर्नुपर्ने भयो ।

यस्तो अवस्था आयो कि त्यसपछि उनीहरूले आफू जनप्रतिनिधि भएको बिर्सिए । सबैकुरा यसरी बिर्सिए, जस्तोकी भेडाले आफू भेडो भएको बिर्सियो । जसरी भेडो भेडेबाघ बन्यो, त्यसरी नै उनीहरू पनि जनप्रतिनिधिबाट पक्का दलाल प्रतिनिधि बने ।

अर्थात् जसरी एउटा भेडो खुंखार भेडेबाघमा फेरियो, त्यसरी नै एउटा जनप्रतिनिधि खुंखार दलालप्रतिनिधिमा फेरियो । उसले वाचा बिर्सियो । उसले जमिन बिर्सियो । उसले राजनीति बिर्सियो । उ मैमत्त भयो । र, त्यसपछि सबै कुरा फरक पर्दै गयो ।

र, त्यही दिनबाट हाम्रो लोकतन्त्र बर्बाद र बदनाम हुँदै गयो ।

सत्य कथा

मलाई लाग्छ, नेपाली राजनीतिमा भेडेबाघको कथाले विशेष अर्थ राख्छ । किनभने अब यो कथामा कुनै काल्पनीकी रहेन । यो लोककथा हाम्रो राजनीतिको समसामयिक सत्य बनेर उपस्थित भयो । यस्तो सत्य, जसलाई हेर्न मान्छेहरू संसद् भवन जाँदा पनि हुन्छ, सिंहदरबार जाँदा पनि हुन्छ । बालुवाटार जाँदा पनि हुन्छ र खुमलटार जाँदा पनि हुन्छ ।

यहाँ सिंहदरबार र खुमलटार त मात्र प्रतिनिधि बिम्बहरू हुन् । जसले भन्छन्, भेडेबाधका कनेकौं कथाहरू । दरबारहरू चियाइहिँड्दा यस्तो लाग्छ कि, अब यो कथा लोककथा रहेन । यो राजनीतिको एक कुरूप सत्य भयो ।

प्रिय जनप्रतिनिधिहरू, भेडाले बाघबन्ने सपना देख्नु न त प्राकृतिक कुरा हो, न त राजनीतिक । तपाईंको परिचय के हो ? तपाईंको जमिन कहाँ छ ? तपाईंको जरो कता छ ? कृपया ! विचार गर्नुहोस् । किनभने तपाईं के हो, त्यो तपाईंको बोलीले हैन, तपाईंको कर्मले निर्धारण गर्दछ । भनिन्छ— मन्दिरको पुजारी बन्ने हो भने मन्दिरमै बस्नुपर्छ । भट्टीमा बसेर पुजारी बनिँदैन ।

यति भन्दै भेडेबाघको कथा अन्त्य गर्छु । यो कथा कसैको जीवनमा मेला खाएमा त्यसलाई संयोग मात्र नठान्नुहोला ।

twitter- @dahalkeshab


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved