काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय सदस्य र सांसदको वार्षिक लेवी घटाएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको लेवी वार्षिक १ लाख रुपैयाँलाई घटाएर २५ हजार रुपैयाँ बनाउने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सांसदको लेवी पनि मासिक २५ हजार रुपैयाँबाट १५ हजार रुपैयाँमा झारिएको उनले बताए । उनका अनुसार सांसदहरुको नयाँ लेवी आगामी आर्थिक वर्षबाट र केन्द्रीय सदस्यको लेवी तत्कालै लागु हुनेछ ।
बैठकले यसअघि पार्टीको सदस्यता शुल्क न्युनतम १ हजार तोकिएकोमा कसैले १ हजार तिर्न नसकेमा त्यो भन्दा कम रकम तिरेर पनि सदस्यता दिने निर्णय गरेको छ । इच्छा हुनेले सदस्यता शुल्क हजार भन्दा बढी पनि दिन सक्ने छन् ।
यस्तै बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराललाई सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल, राम गुरुङ र अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको छ । बैठकले उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप पनि गरेको छ ।
Facebook Comment
Comment