टंकप्रसाद पोखरेल : कम्युनिष्ट पार्टीका लागि जीवनभर सङ्घर्ष, उत्तरार्धमा गुमनाम

उनी शिलाङमा केही वर्ष रहे । यसपछि बनारस निस्किए । त्यसबेला बनारस यस्तो ठाउँ थियो, जहाँ अधिकांश नेपाली विद्यार्थी र नेताहरू भेटिन्थे । यही क्रममा उनको २०२६ सालमा पुष्पलालसँग भेट भयो ।

टंकप्रसाद पोखरेल : कम्युनिष्ट पार्टीका लागि जीवनभर सङ्घर्ष, उत्तरार्धमा गुमनाम

काठमाडौं । कम्युनिष्ट पार्टी गठनसम्म भएको थियो तर, सशक्तरूपमा अगाडि बढ्न सक्ने हैसियत बनाइसकेको थिएन । कम्युनिष्ट पार्टी २००६ सालमा गठन भयो ।

२००७ सालमा १०४ वर्षे राणाशासन गएर प्रजातान्त्रिक व्यवस्था आयो तर, एक दशकभन्दा बढी टिकेन । २०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक कू गरे । त्यसपछि तीन दशक पञ्चायतको रजगज चल्यो । त्यो एक दशकभित्र कम्युनिष्ट तथा प्रजातान्त्रिक पार्टीहरू तङ्ग्रिन पाएनन् । पञ्चायती व्यवस्थामा त पार्टीहरू झनै कहाँबाट फस्टिनु ?

राजा महेन्द्रले सैनिक कू गर्दैगर्दा टंकप्रसाद पोखरेल कम्युनिज्म अध्ययन गर्दै थिए, जो पछि कम्युनिष्ट नेताका रूपमा आए । हुर्किएर केही जान्ने/बुझ्ने भएपछि उनी भारतको शिलाङ हान्निए । त्यहाँ उनले डिप्लोमासम्मको अध्ययन पूरा गरे ।

त्यही रहँदा उनले शिक्षण तथा पत्रकारितासमेत गरे । त्यहीँ रहँदा उनले ‘नेपाल फर्क’ पत्रिकासमेत प्रकाशन गरेका थिए । खासगरी नेपाली नागरिकलाई आफ्नो राष्ट्रियताबारे मनन गराउने र नेपाली भाषा फैलाउने उद्देश्यसहित प्रकाशित पत्रिका विभिन्न कारणले पछि रोकियो ।

सँगै उनले कम्युनिज्मको पक्षमा वकालत गर्ने विद्यार्थी सङ्गठनहरूमा आबद्ध भएर काम गरे । त्यहाँ रहँदा उनले दिल साहनीको नेतृत्वमा बनेको अखिल शिलाङ नेपाली विद्यार्थी युनियनको उपाध्यक्ष बनेर काम गरे । पूर्वाञ्चल नेपाली विद्यार्थी सङ्घ, नेपाली भाषा सङ्घर्ष समितिलगायतका विभिन्न सङ्घसङ्गठनमा आबद्धता थियो उनको ।

यिनै गतिविधि गर्दै उनी शिलाङमा केही वर्ष रहे । यसपछि उनी बनारस निस्किए । त्यसबेला बनारस यस्तो ठाउँ थियो, जहाँ अधिकांश नेपाली विद्यार्थी र नेताहरू भेटिन्थे । यही क्रममा उनको २०२६ सालमा पुष्पलालसँग भेट भयो । भेटअगावै कम्युनिज्मबारे जानकार उनी त्यसपछि कम्युनिष्ट पार्टी शसक्त बन्नुपर्छ भन्ने धारणा राखेर अघि बढे ।

बनारसमा अल इन्डिया नेपाली स्टूडेन्ट्स फेडेरेसनको महासचिव भए । त्यस्तै त्यहाँ बनारस छात्र महासङ्घलगायतका राजनीतिक विद्यार्थी सङ्घसङ्गठनमा पनि रहेर काम गरे । त्यही रहँदा पोखरेलले कांग्रेस नेता बीपी कोइरालासँग भेट्ने मौका पाए ।

बीपीले आफ्नो पार्टीमा खुबै बोलाएको अहिलेजस्तो लाग्छ पोखरेललाई, उनी भन्छन्—’उहाँ (बीपी कोइराला) ले मलाई आफ्नो पार्टीमा बोलाउन चाहनुभएको रहेछ । भेटमा त्यससम्बन्धी कुराकानी पनि भयो । मैले पनि आफ्नो तर्फबाट विषयहरू राखेँ । त्यो अहिलेजस्तै लाग्छ ।’

तर, कम्युनिष्ट नेता बन्ने हुटहुटीका कारण उनी कांग्रेसमा गएनन् । बीपीलाई धन्यवाद भने र कम्युनिष्ट सङ्गठन बनाउन सक्रिय रहे ।

अल इन्डिया नेपाली स्टूडेन्ट्स फेडेरेसनको महासचिव बनिसकेपछि उनकै नेतृत्वमा बनारस विधान सभाअगाडि अनसन कार्यक्रम भएको थियो । अनसनमा बनारस छात्र महासङ्घका अध्यक्ष वामदेव पौडेलसमेत थिए ।

कुरा के थियो भने बनारस विश्वविद्यालयले करिब ४ हजार नेपाली विद्यार्थीको परीक्षा नतिजा रोकेको थियो । त्यसविरुद्ध उनीहरू विधान सभा अगाडि अनसन बसेका थिए । ‘अनसन बसेको ४ दिनपछि हामीलाई लखनउ प्रहरीले उठायो र जेलमा कोच्यो,’ उनी सम्झन्छन् ।

त्यसपछि उनी झन्डै ३ महिना त्यहीँ रहे । अहिले सम्झिँदा रमाइलो लाग्छ उनलाई । भलै त्यसबेला त्यो क्षण पीडादायी नै थियो । ‘जेल पस्दा ५२ केजी थिएँ । तीन महिनापछि निस्किँदा १० केजी घटेछु । विभिन्न बहानामा लामै समय जेलमा राखियो,’ पोखरेल भन्छन् ।

त्यसपछि उनी आफ्नै जिल्ला गुल्मी आए । फर्किने सोचेर आएका उनी त्यसपछि भने यतै अडिए । ‘पारिवारिक कारणले पछि फर्किनँ सकिनँ । गाउँका मान्छेहरूले पनि शिक्षक बनिदिन आग्रह गरे । यसपछि फर्किनँ । यतै रहेँ । त्यसपछि पारिवारिकरूपमा पनि स्थापित भइयो,’ उनले भने ।

गुल्मीमै शिक्षण पेशामा रहँदा पनि उनी कम्युनिष्ट सङ्घसङ्गठन निर्माणमा व्यस्तै रहे । भूमिगतरूपमा उनी सङ्गठन बनाउँदै हिँड्थे । त्यहीबीचमा राष्ट्रिय शिक्षक सङ्गठन गठन भयो । यसको नेतृत्वमा रहेर उनले लामो समय काम गरे । ‘२०३६ देखि २०४६ सम्म मैले त्यो सङ्गठनमा काम गरेँ । मैले त्यो सङ्गठन निर्माणमा उल्लेख्य योगदान पुर्‍याएँ भन्ने लाग्छ, ‘ उनी भन्छन् ।

यसपछि उनी पूर्णकालीन राजनीतिमा सक्रिय भए । तत्कालीन माले २०३५ सालमै गठन भइसकेको थियो । पोखरेल त्यही पार्टीबाट प्रतिनिधित्व गर्थे ।

२०४६ सालमा मुलुकमा प्रजातन्त्र आयो। त्यसका लागि उनले गुल्मीमै रहेर संघर्ष गरे । २०४८ सालमा पहिलो आम निर्वाचन भयो । नेकपा एमालेले पोखरेललाई गुल्मी क्षेत्र नम्बर ३ बाट टिकट दियो । तर, यो चुनावमा उनी पराजित भए । त्यसबेला लुम्बिनी अञ्चलमै कांग्रेसको लहर थियो । गुल्मीका तीनवटै सिटमा पनि कांग्रेस विजयी भयो ।

त्यसबेला गुल्मी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रुद्रमणि भण्डारीले चुनाव जिते । जसलाई पोखरेलले ‘मित् ज्यू’ सम्बोधन गर्थे । दुवैको दोस्ती पनि चर्चित थियो । उनीहरु फरक पार्टीमा प्रतिस्पर्धी भए पनि एक अर्कालाई ‘मित’ भनेर बोलाउँथे । कहिले एक अर्कालाई कटाक्ष गरेनन् ।

०४८ सालमा निर्वाचित संसद्‍ले पूरा कार्यकाल काम गर्न पाएन । २०५१ सालमा मध्यावधि चुनाव भयो ।

यो चुनावमा पनि फेरि पोखरेल र भण्डारी नै प्रतिस्पर्धामा उत्रिए । समयले कोल्टे फेरिसकेको थियो । यसपटक पोखरेलले बाजी मारे । मित भण्डारीले हार सहर्ष स्वीकार गरे ।

नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी पहिलो वामपन्थी प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्वमा पुगे । अर्थ मन्त्रालयको जिम्मेवारी भरतमोहन अधिकारीले सम्हालेका थिए ।

बृद्धभत्ताको सुरुवात त्यही सरकारको पालादेखि भयो । जुन कार्यक्रमको प्रस्तावक पोखरेल स्वयम् पनि हुन् । ‘त्यसबेला अर्थमन्त्रीलाई भेटेर बृद्धभत्ताको प्रस्ताव गरेँ । सुरूमा सकिन्छ र भनेर सोध्नुभयो । त्यसपछि एक-एक सयका दरले दिन थालियो । अहिले ३ हजार पुगेको छ । जे होस्, त्यो राम्रो भएछ,’ पोखरेल भन्छन् ।

समय बित्दै गयो । २०५४ साल फागुनमा नेकपा एमालेमा विभाजन आयो । महाकाली सम्झौताको विषयमा विवाद भएपछि वामदेव गौतमको नेतृत्वमा नेकपा माले गठन भयो । पोखरेल पनि नेकपा मालेमा लागे ।

त्यही पृष्ठभूमिमा तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरिसकेको थियो । २०५२ फागुन १ गतेबाट माओवादीले औपचारिक रुपमा युद्ध सुरू गरे पनि गुल्मीमा भने त्यसको प्रभाव कम नै थियो ।

२०५६ सालमा भएको चुनावमा कांग्रेसले २०५ मध्ये १११ सिट जित्यो । एमाले ६९ सिट जितेर प्रमुख प्रतिपक्ष भयो । नेकपा मालेले साढे ६ प्रतिशतभन्दा बढी भोट ल्याएर पनि प्रत्यक्षमा एक सिटसमेत जित्न सकेन । पछि एमाले र माले एक भए ।

पोखरेलको माओवादीसँग पनि राम्रै सम्बन्ध थियो । ‘मलाई माओवादीहरूले केही गरेनन् । अरुलाई दु:ख दिन्थे । मलाई भने केही गर्दैनथे । अहिले खुसी नै लाग्छ,’ उनी सम्झन्छन् ।

उनलाई माओवादी नेताहरूले पार्टीमा आउन आग्रह गरिरहन्थे । तर, त्यसबेला उनलाई माओवादीसँग कुनै भरोसा थिए । भन्छन्— जब पछि संविधान सभाबाट संविधान, गणतन्त्रलगायतका एजेन्डा ल्याए, त्यसपछि चाहिँ मलाई पनि माओवादी ठीकै होला भन्ने लाग्यो ।

२०५६ सालको चुनावपछि एमाले र मालेबीच एकताको पहल सुरु भयो । फेरि एउटै पार्टी बन्यो । पोखरेल पनि एमाले भए । यही बीचमा उनलाई माओवादीबाट प्रस्ताव आइरह्यो ।

तर, उनी लामै समय एमालेमै रहे । २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनपछि भने उनी एमालेमा रहिरहन सकेनन् । तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरे ।

त्यसो त अहिले पनि उनी माओवादीमै छन् । पार्टीले उनलाई सम्मान गरेर केन्द्रीय सल्लाहकारमा राखेको छ । तर, अब उनी पहिलेझैँ सक्रिय छैनन् । हुन पनि उनी ७९ वर्ष पुगिसकेका छन् । उमेर बढ्दै गएपछि स्वास्थ्य समस्या आए । त्यसकारण पार्टीमा सक्रिय हुन सकेनन् ।

बनारसको विद्यार्थी सङ्गठनदेखि गुल्मीको सांसदसम्म भएका पोखरेल अहिले काठमाडौं कौशलटारस्थित तेर्स्याटारको एउटा घरमा भेटिन्छन् ।

हातगोडा त्यत्ति लाग्दैनन्, टाढा जान मन लाग्दैन । घर-परिसर र वरिपरि नै दिनचर्या बिताउँछन् । बिहान उठ्छन्, चियाको चुस्कीसँगै पत्रिका पढ्छन्, टीभी हेर्छन् । त्यही भएर वर्तमान राष्ट्रिय राजनीतिबारे उनी राम्रो जानकार छन् ।

‘अहिलेको राजनीतिको कुरा नगर्दै ठीक हुन्छ । कुरा गर्नलायक नै छैनन् । नराम्रो मात्रै कति भन्नू, राम्रो भए पो भन्नू,’ पोखरेल भन्छन् ।

आफू कम्युनिष्ट पृष्ठभूमिबाटै आएको भएर हुनुपर्छ, उनको प्रमुख नजर कम्युनिष्ट पार्टीहरूमाथि नै छ । २०७४ को वाम गठबन्धनबाट हौसिएका उनी नेकपा पूर्ववत् अवस्थामा फर्किँदा त्यत्ति नै बेखुस भए । उनको सटिक निष्कर्ष छ— कम्युनिष्ट पार्टीहरू नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाका कारण बिग्रिए ।

उनी थप्छन्, ‘कम्युनिष्टहरूमा सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर भएको छ । यो निकै दुखद् कुरा हो । कम्युनिष्टहरूमा पदीय आशक्ति बढी देखिन्छ । यसले न कम्युनिष्ट आन्दोलन जोगिन्छ, न पार्टीहरूबीच एकता हुन्छ । अहिले व्यवहारबाट कम्युनिष्टहरू चिनिँदैनन् । को कम्युनिष्ट, को कांग्रेस, को राजावादी केही थाहा नहुने । अहिले त उनीहरूलाई नै सोधेर मात्रै थाहा हुन्छ । तर, कम्युनिष्टहरू खासमा व्यवहारबाट चिनिनुपर्ने हो ।’

अन्तिममा ‘नयाँ दलहरूप्रति तपाईंको धारणा के छ ?’ भनेर प्रश्न सोध्न भुलिएन । नयाँ दलहरू पनि मुख्यतया देशका लागि चाहिने र परिवर्तन गर्नसक्ने शक्ति नभएको उनको बुझाइ छ । उनीहरू सीमित वर्ष रहने र हराउँदै जाने निर्मम निष्कर्ष पोखरेल सुनाउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved