विचार

युद्धग्रस्त गाजा शहरका मेयरको लेख : मुटु टुक्राटुक्रा पारेजस्तो लागेको छ

हमास–इजरायल युद्धबाट सबैभन्दा बढी प्रभावित शहर गाजाका मेयर यहया आर. सराजले द न्यूओर्क टाइम्समा गाजाको पछिल्लो स्थितिबारे एक लेख लेखेका छन् । सन् २०१९ देखि उनी हमास नियन्त्रित गाजा शहरको मेयर रहँदै आएका छन् । विश्वसँग उनको गुनासो र माग छ– इजरायली र संसारका अरु सबै मानिसलाई जस्तै प्यालेस्टाइनीलाई समान व्यवहार गर्न किन सकिँदैन ?

नेपालभ्युज

युद्धग्रस्त गाजा शहरका मेयरको लेख : मुटु टुक्राटुक्रा पारेजस्तो लागेको छ

हमास-इजरायल युद्धबाट सबैभन्दा बढी प्रभावित शहर गाजाका मेयर यहया आर सराजले द न्यूओर्क टाइम्समा गाजाको पछिल्लो स्थितिबारे एक लेख लेखेका छन् । सन् २०१९ देखि उनी हमास नियन्त्रित गाजा शहरको मेयर रहँदै आएका छन् । मेयर हुनुअघि उनी विश्वविद्यालयका रेक्टर थिए । उनी भन्छन् कि गाजाको स्थिति देख्दा आफ्नै मुटुलाई टुक्राटुक्रा पारिएजस्तो लाग्दछ ।

उनले विश्वभरिका नगरपालिकासँग यो मुर्खतापूर्ण विनाश रोक्न विश्वका नेतालाई दबाब दिन आह्वानसमेत गरेका छन् । विश्वसँग उनको गुनासो र माग छ— इजरायली र संसारका अरु सबै मानिसलाई जस्तै प्यालेस्टाइनीलाई समान व्यवहार गर्न किन सकिँदैन ? हामीले शान्तिसँग बस्न, खुला सीमा र स्वतन्त्र व्यापार गर्न किन पाउँदैनौँ ?

प्रस्तुत छ उनको आलेखको नेपाली अनुवाद-

म गाजा शहरको मेयर हुँ । आज गाजामा हाम्रो जीवन र संस्कृतिलाई टुक्राटुक्रा पारिएको छ ।

सन् १९८० को दशकमा म किशोर अवस्थामा थिएँ । मैले गाजा शहरमा जटिल प्रकृतिको रसाद-अल-शाबा सांस्कृतिक क्रेन्द्रको निर्माण हेर्न पाएको थिएँ । गाजाका महान् सार्वजनिक व्यक्तित्वमध्ये एकको नाममा यसको नाम राखिएको थियो । यसमा थिएटर, भव्य हल, पुस्तकालय, छापाखाना र सांस्कृतिक केन्द्र थिए ।

गाजापट्टीभरिका विद्यार्थी र अनुसन्धानकर्ता, प्राज्ञिक, विद्वान् र कलाकार यहाँ आउँथे । सन् १९९८ मा अमेरिकी राष्ट्रपति विल क्लिन्टन पनि यहाँ आएका थिए । यो सांस्कृतिक केन्द्र शहरको रत्न थियो । यसको निर्माण कार्य देखेर म इञ्जिनियर बन्न प्रेरित भएको थिएँ । त्यसैले मलाई प्राध्यापक हुँदै मेयरसम्म पुर्‍यायो ।

अब यो रत्न टुक्रा-टुक्रा भएको छ । इजरायली बमवर्षाले यसलाई ध्वस्त गरिदिएको छ । सांस्कृतिक केन्द्र ढुंगाका टुक्राको थुप्रो मात्रै भएको छ ।

गाजमा इजरायली आक्रमणले २० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । आधाभन्दा बढी घर ध्वस्त वा क्षतिग्रस्त भएका छन् । इजरायलीहरूले भवनमात्र भत्काएका छैनन्, गाजा शहरको सांस्कृतिक सम्पन्नता तथा नगर संस्था  धुलोपिठो पारेका छन् ।

उनीहरू गाजाको विनाश गर्न दिनरात लागेका छन् । शहरका प्रतिष्ठाका प्रतीक, सुन्दर समुद्री किनार र किल्ला, पुस्तकालय र अभिलेख वा यसका जे-जस्ता आर्थिक समृद्धिका केन्द्र थिए, सबै ध्वंश पारियो । मलाई यी दृष्य देख्दा मुटु फुटेजस्तो लाग्दछ ।

गाजाको चिडियाखाना ध्वस्त छ । ब्वाँसो, हाइना, दूर्लभ चरा र स्याललगायत यसमा भएका धेरैजसो जनावर मारिएका छन् वा भोकले आफैँ मरेका छन् । अन्य हताहती पनि शहरका मुख्य स्थानमा नै भएको छ । सार्वजनिक पुस्तकालय, बालबालिका खुसीयाली केन्द्र, नगरपालिका भवन, यसको अभिलेखगृह, सातौं शताब्दीमा बनेको महान् ओमारी मस्जिद यसमा सामेल छन् ।

इजरायली सेनाले सडक, गल्ली, चोक, मस्जिद, चर्च पार्कमा पनि क्षति पुर्‍याएका छन् ।

सन् २०१९ मा हमास प्रशासनले मलाई यहाँको मेयर नियुक्त गरेको थियो । त्यसपछि मेरो प्रमुख लक्ष्यमध्ये एक समुद्री किनारा र किल्ला सुधार गर्नु र यहाँ साना व्यवसाय खोल्न प्रेरित गरी रोजगारी सिर्जना गर्नु थियो ।

यो परियोजना पूरा गर्न मलाई ४ वर्ष लाग्यो । यसभित्र ती व्यवसायलाई आवश्यक पर्ने पदयात्रा मार्ग, मनोरञ्जन क्षेत्र र सार्वजनिक स्थल समावेश थिए । मैले ४ वर्ष लगाएर बनाएका यी सबै कुरा इजरायलीले एक हप्तामा समाप्त गर्दिए ।

मैले चिनेकी एक डिभोर्सी महिला निविन नोभेम्बरमा यहाँ एउटा सानो रेस्टुराँ खोल्ने योजनामा थिइन् । तर, उनको सपना गयो । एक अपाङ्गता भएका प्यालस्टाइनी मोहम्मदले आफ्नो सानो क्याफे गुमाए ।

इजरायली ट्यांकले किन यतिधेरै रुख, बिजुलीका खम्बा, कार र पानीका प्रवाह नष्ट गरे ? किन संयुक्त राष्ट्रसंघीय विद्यालयमा आक्रमण गरे ? गाजामा हाम्रो जीवनशैलीको विनाश अवर्णनीय छ ।

मलाई अझै पनि लाग्छ कि म कुनै दिवास्वप्नमा छु । म यो कल्पना पनि गर्न सक्दिनँ कि कुनै विवेकी व्यक्ति विनाश र मृत्युको यस्तो भयानक अभियानमा संलग्न हुन सक्दछ ।

आधुनिक गाजानगर सन् १८९३ मा स्थापित भएको थियो । यो मध्यपूर्वका सबैभन्दा पुराना शहरमध्ये एक हो । यो संसारमै बाक्लो वस्तीमध्ये एक हो । यस नगरले करिब ८ लाख मान्छेको सेवा गर्दछ ।

यो युद्ध सुरू भएपछि इजरायलले उत्तरी गाजा क्षेत्रबाट १० लाखभन्दा बढी मानिसलाई जबरजस्ती विस्थापित गरेको छ । तर, यो शहरको धेरै जसो जनसंख्या अहिले पनि छ ।

जब, इजरायलले हमासको घातक आक्रमणको जवाफमा युद्ध सुरु गर्‍यो, म विदेशमा थिएँ । मैले मेरो विदेश यात्रा छोट्याएँ र हाम्रा मानिसलाई सहयोग गर्न फर्किएँ । मैले नगरपालिका कर्मचारी र स्वयंसेवकको समितिको नेतृत्व गर्ने गर्छु, जसले खानेपानीका पाइप मिलाउन, रोग निम्त्याउन सक्ने फोहोर हटाउन, ढल व्यवस्थापन गर्न र सडक खुलाउन प्रयत्न गर्छन् ।

हाम्रो नगरपालिकाका कम्तीमा १४ कर्मचारीको मृत्यु भइसकेको छ । मेरो समितिमा भएका सबैले आफ्नो घर वा आफन्त गुमाएका छन् ।

मैले पनि मेरा एक प्रियजन गुमाएको छु । बिना चेतावनी र कारण घरमा पसेर अक्टोबर २२ मा मेरा जेठा छोरा रोस्दीको हत्या गरियो । उनी फोटो पत्रकार तथा फिल्म निर्माता थिए । उनी ठान्थे कि आफ्ना अभिभावकसँग सुरक्षित छन् । यसले मलाई आश्चर्यचकित बनायो, म आफैँ पनि लक्षित हुन सक्दछु ।

मैले छोरा रोस्दीलाई छिटोछिटो गरी दफनाएको थिएँ र आफ्नो आपत्‌कालीन समितिको काममा फर्किएको थिएँ ।

गाजामा इजरायलले १६ वर्ष अघि नाकाबन्दी सुरू गरेको हो । संयुक्त राष्ट्र संघ र मानवअधिकार समूहहरूले त्यसो नगर्न भन्दा भन्दै पनि इजरायलले लामो समयदेखि नाकाबन्दी र कब्जा जारी राख्नुले हाम्रो जनजीवनलाई ध्वस्त गरिरहेको छ ।

एक अज्ञात इजरायली अधिकारीले गाजालाई पालको शहरमा परिणत गर्ने कसम खाएका थिए । नभन्दै इजरायलले यसका बासिन्दालाई जबरजस्ती विस्थापित गर्न थाल्यो । आफ्ना ती बेनामे अधिकारीले खाएको कसम यसपटक इजरायलले पूरा गर्दैछ ।

म विश्वभरिका नगरपालिकालाई आह्वान गर्छु कि सबैले विश्वका नेताहरूलाई यो मुर्खतापूर्ण विनाश रोक्न दबाब दिऊन् ।

इजरायली र संसारका अरु सबै मानिसलाई जस्तै प्यालेस्टाइनीलाई समान व्यवहार गर्न किन सकिँदैन ? हामीले किन शान्तिसँग बस्न र स्वतन्त्र व्यापार गर्न पाउँदैनौँ ? प्यालेटाइनीहरू स्वतन्त्र प्यालेस्टाइन र आत्मनिर्णयको हकदार छन् । गाजा सकियो भनेर नसोच्नु, गाजा फिनिक्स चरा जस्तै हो, यो खरानीबाट फेरि उठ्छ र जीवनका लागि जोड दिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved