काठमाडौं । १४ किलो सुन तस्करी प्रकरण छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । भन्सार प्रमुख मणिराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनअनुसार मिनबहादुर घलेले यूएईको दुबईमा अंकित अग्रवालसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउथे । सुन पाएपछि घले आफैले पनि नेपालमा सुन ल्याउने गरेका थिए । उनी नआए चन्द्र घले तथा कृष्णकुमार श्रेष्ठले दुबईबाट सुन नेपाल ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
अहिलेको बरामद १४ किलो सुन गोरखाका चन्द्र घलेले ल्याएका थिए ।
एयरपोर्टमा सेटिङ मिलाउन डिबी भनिने दानबहादुर गुरुङलाई प्रयोग गरिएको थियो ।
प्रतिवेदनअनुसार एअरपोर्टबाट सुन गेटबाहिर पास गर्न भने एयरपोर्टमा कार्यरत कर्मचारीदेखि पलम्बरसमेत रहेका छन् ।
एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन कार्यालय गौचरणका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सोही कार्यालयबाट सेवा निवृत भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा कामगर्ने सहयोगी अनिल श्रेष्ठ र पलम्बर शेरबहादुर बस्नेत रहेको समितिको निष्कर्ष रहेको छ ।
एयरपोर्टबाट बाहिर सुन ल्याइसकेपछि टोखाको सूर्यदर्शन हाइटमा रहेको डिबी गुरुङको घरमा पुर्याउने गरिएको थियो ।
Facebook Comment
Comment