‘मनका कुरा’ : युट्यूबमा वसन्तको बहार !

अहिले उनी ६६ वर्षका भए । तर, नयाँ-नयाँ सृजनशील काम र अभ्यास गर्ने उनको जाँगर र जोश सकिएको छैन । उनी नयाँ विधामा आएका छन्-सिजी इन्टरटेनमेन्ट युट्युव च्यानलमा ‘मनमा कुरा’ लिएर ।

नेपालभ्युज

‘मनका कुरा’ : युट्यूबमा वसन्तको बहार !

काठमाडौं । कर्मशील मान्छेका क्रियाकलापको कुनै सीमा हुँदैन । सृजनशील प्रतिभालाई सायद विधाले पनि बाँधेर राख्न सक्दैन । यसैको एक उदाहरण बनेका छन्— वसन्त चौधरी ।

देशको प्रतिष्ठित व्यावसायिक घरानाका सदस्य चौधरी पहिलेदेखि नै उद्योग व्यवसायमा मात्र सीमित थिएनन् । आर्थिक क्रियाकलाप र उद्यमशीलता उनको जीवनको एउटा पाटो अथवा एउटा कर्म थियो । त्यसका अतिरिक्त उनी समाज सेवा, लेखन र सार्वजनिक बहसमा समेत संलग्न तथा सक्रिय हुँदै आए ।

समाज सेवा गर्ने इच्छाले उनी लामो समय पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवको जिम्मेवारीमा पनि रहे । साहित्यमा उनले गीत लेखे, कविता लेखे । गीतका एल्बम निकाले । कविताका संग्रह नै बने ।

हिन्दी, अंग्रेजी र नेपाली भाषामा उत्तिकै दख्खल राख्ने चौधरीले अंग्रेजीमा व्यवस्थापनसम्बन्धी स्तम्भ लेखे । उनका स्तम्भ/लेखको किताब नै बन्यो । ‘म्यानेजमेन्ट थर्टी सिक्स डिग्रिजः मेकिङ अ न्यू नेपाल’ ले उनलाई व्यवस्थापन बिषयको खँदिलो लेखकका रुपमा स्थापित गर्‍यो ।

अहिले उनी ६६ वर्षका भए । तर, नयाँ-नयाँ सृजनशील काम र अभ्यास गर्ने उनको जाँगर र जोश सकिएको छैन । उनी नयाँ विधामा आएका छन्— सिजी इन्टरटेनमेन्ट यूट्युब च्यानलमा ‘मनमा कुरा’ लिएर । उनको कार्यक्रमको नाम छ— मनका कुरा : विथ वसन्त चौधरी ।

यो कार्यक्रम हरेक शुक्रबार साँझ ८ बजे प्रसारण हुनेछ ।

चौधरीलाई लाग्छ— जीवन अनेक मोडले भरिएको छ, कतिपय मोड चाहेर आउँछन्, कतिपय नचाहेर नै । जीवन आफैँमा एक ‘कम्प्लेक्स स्टोरी’ हो— भनेर कहिल्यै नसकिने श्रृंखलाहरूको । तर, पनि जीवनका कथा भन्नुपर्छ । मनका कुरा सुन्नुपर्छ ।

जीवनको उत्तरार्धतिर युट्यूब कार्यक्रम प्रस्तोता बन्न लागेका वसन्तले अविरल सक्रियताको नयाँ सन्देश प्रवाहित गर्दैछन् समाजमा ।

“धन कमाउनु र नाम कमाउनुबीचमा ‘आत्मसन्तुष्टिको अन्तर’ छ । बिनानाम सन्तुष्टि असम्भव छ । म साहित्यमा आउनुअघि वसन्त चौधरी भनेको को हो भन्ने मानिसलाई थाहै थिएन, अहिले मैले बेग्लै ‘रेस्पोन्स’ पाएको छु । यो नै मेरो सन्तुष्टि हो” उनी भन्छन् ।

यो कार्यक्रमले साँचो सम्बन्ध र अर्थपूर्ण अनुभव आदानप्रदानलाई बढवा दिने प्लेटफर्मको रूपमा काम गर्ने ‘सीजी इन्टरटेनमेन्टले बताएको छ ।

कार्यक्रममा अहिलेसम्म मनीषा कोइराला, आनि छोइङ डोल्मा, सुरक्षा पन्त, विदुषी राणा, रुवि राणा, मान्सी अग्रवाल, निर शाहको अन्तरवार्ता रेकर्ड गरिएको छ ।

कार्यक्रममा सेलिब्रेटी तथा आफ्नो पेसा व्यवसायमा सफल व्यक्तिका अनुभव समेटिने छन् ।

उनी भन्छन्, “मैले पनि व्यापार-व्यवसाय बाहेक मनले रोजेको सृजना यात्रामा केही पाइला हिँड्न सकेँ । गीत संगीतले छुट्टै पहिचान दियो । श्रोता दर्शकको मायाले मलाई थप प्रोत्साहित गर्‍यो । आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका कुरा लेखेको हुँ । मलाई तपाईंको मनको कुरा सुन्न मन लाग्यो । तपाईंका मनका कुरा अरुलाई पनि सुनाउन मन लाग्यो ।’’

वसन्त चौधरीका व्यवस्थापकीय आलेखहरूको सम्मोहन

वसन्त ३५ वर्षयता साहित्य लेखनमा सक्रिय छन् । उनका ‘संवाद र ‘राष्ट्रियता नदुखोस्’, ‘तिमीबिनाको म’ तथा हिन्दीको ‘अनेक पल और मैं’ विशेष पठनीय मानिन्छन् ।

काव्यसंग्रहतर्फ ‘मेघा’लाई एक मार्मिक र वजनदार कृतिका रूपमा लिइन्छ । उनका अरू कृतिमा मेरा डायरीका पानाहरू, मेरा कविताहरू, आँसुओ की सियासी से, वसन्त, वक्त रुकता नही कविता सङ्ग्रह र मेरा गीत आदि संग्रह प्रकाशित छन् । उनका यी कृतिमा प्रेम, सकारात्मकता र करुणाभाव बढी पाइन्छ ।

उनका सिर्जनामा चञ्चलता र पीडा सरोबरी भेटिन्छन् । उनको आफ्नै लगावचाहिँ केमा बढी होला ? –‘साहित्य सिर्जना संसारभन्दा टाढा छैन, संसार भन्नू नै अलिकति पीडा-दुःख, अलिकति हाँसो-खुसी र धैर्य-प्रतीक्षाको सङ्गम हो । हामी पोख्छौँ, पोखिन्छौँ यिनै परिवेशभित्र । मेरो सिर्जनामा पनि व्यथा र रोमान्सको झलक देखिनु स्वाभाविक छ । मेरो सिर्जनामा कति आफ्ना भोगाइ प्रतिविम्बित भएका छन्, कति अरूका र केही बाह्य परिस्थितिबाट उत्पन्न प्रेरणा समेटिएका छन् । मेरा जति सिर्जना छन् ती सबै आफ्नै कथा व्यथाचाहिँ होइनन् ।’’ उनी भन्छन् ।

 

मुम्बईका ‘डब्बावाला’ बाट मैले सिकेको व्यवस्थापन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved