खाणलाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिने

नेपालभ्युज

खाणलाई बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिने

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिइएका बालकृष्ण खाणलाई बयानका लागि सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग लैजाने तयारी भएको छ । जेलमुक्त हुने प्रक्रिया पुरा भएपछि खाणलाई विभाग लैजाने बताइएको हो ।

खाणलाई विहान १० बजे जिल्ला अदालत ल्याएर उच्च अदालतको आदेश अनुसार ३० लाख धरौटी बुझाउन लगाइने छ । त्यसपछि धरौटी पत्र बुझाएर कारागार मुक्त गराएसँगै उनलाई सम्पत्ती शुद्धीकरण विभाग लगिने बताइएको छ ।

खाणमाथि अवैध तरिकाले सम्पत्ती आर्जन गरेको भन्दै विभागमा उजुरी परेको छ । उच्चले धरौटीमा छाड्ने आदेश दिएसँगै सम्पत्ती शुद्धीकरण विभागले खाणलाई आफुसमक्ष उपस्थित गराउन उच्चलाई पत्र पठाएको थियो । सोही पत्र बमोजिम बयानका लागि खाणलाई विभागमा उपस्थित गराउनु पर्ने छ । खाणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने विषयमा बयानपछि विभागले निर्णय लिने छ ।

अहिलेसम्मका नजिर हेर्दा धेरैले धरौटी बुझाएर बाहिरबाटै मुद्दा लडेकाका कारण खाणले पनि धरौटी बुझाएर सम्पत्ती शुद्धिकरणको मुद्दा लड्न सक्ने कानून व्यवसायी अरुण पौडेलले बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण गत बैशाख २७ गते पक्राउ परेका थिए ।

उनी विरुद्ध ठगी र किर्तेसम्बन्धी कसुर,संगठित अपराध र राज्यविरुद्धको अपराध जस्ता मुद्दा परेका छन् । उस्तै मुद्दामा जेलमा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई भने उच्चले धरौटीमा छोड्न इन्कार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved