भिजिट भिसामा ‘मानव तस्करी’ : अध्यागमनका अधिकृत र नेवानीका कर्मचारीसहित ३२ पक्राउ

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दामा अध्यागमन विभागका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारी नै संलग्न रहेको पाइएको छ ।

नेपालभ्युज

भिजिट भिसामा ‘मानव तस्करी’ : अध्यागमनका अधिकृत  र नेवानीका कर्मचारीसहित ३२ पक्राउ
फाइल तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दामा अध्यागमन विभागका कर्मचारी र नेपाल एयरलाइन्सका कर्मचारी नै संलग्न रहेको पाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलन गरेर पक्राउ परेका केहीलाई सार्वजनिक गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा भिजिट भिषामा मानव तस्करी मौलाइरहेको छ । ठगी तथा यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुर्‍याएका छन् ।

त्यो गिरोहमा केही एयरलाइन्स र तिनका कर्मचारीमाथि अनुसन्धान सुरू गरिएको छ ।

प्रहरीको टोलीले हिजो र आज अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ ।

भिजिट भिसामा जान दुईतर्फी टिकट काट्नुपर्ने भए पनि केही एयरलाइन्स र कर्मचारीको मिलेमतोमा पैसा लिएर फेक रिटर्न टिकट बनाउने भिसा परिवर्तनका लागि कागजात बनाइदिने लगायतको कसुर गरेको पाइएकोले अनुसन्धानको दायरा बढाइएको एसएसपी राठौरले जानकारी दिए ।

यो प्रकरणमा ३२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा केही कन्सल्टेन्सी सञ्चालक पनि छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरू भारी रकम लिएर कन्सल्टेन्सी र ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाउने कार्यमा संलग्न थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved