अभियानको १३ औं दिनमा कोशी छिर्‍यो एमाले, पहिचानवादीले के गर्लान् ?

अहिलेको परिदृश्यले कोशीमा कुनै पनि बेला एमाले र पहिचानवादीबीच झडप हुनसक्ने सम्भावना छ । त्यसैले यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

नेपालभ्युज

अभियानको १३ औं दिनमा कोशी छिर्‍यो एमाले, पहिचानवादीले के गर्लान् ?

काठमाडौं । झुलाघाट–चिवाभञ्ज्याङ अभियानका क्रममा नेकपा एमाले कोशी प्रदेश प्रवेश गरेको छ । सुदूपश्चिमको बैतडीस्थित झुलाघाटदेखि सुरु भएको यात्रा लुम्बिनी, गण्डकी, बाग्मतीहुँदै कोशी प्रवेश गरेको हो ।

यात्राको १३ औं दिनमा एमालेले मंगलबार ओखलढुंगाको हर्कपुरमा सभाको आयोजना गरेको छ । रामेछाप, सिन्धुली हुँदै ओखलढुंगा पुगेको एमाले टोलीलाई स्थानीय नेता-कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

हर्कपुरको सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित थुप्रै केन्द्रीय नेता सहभागी छन् । उनीहरुलाई कोशीका एमाले नेताहरुले स्वागत गरेका छन् ।

एमालेको यो यात्रा पुस २ गते कोशीकै पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन हुनेछ ।

पहिचानवादीले के गर्लान् ?

एमालेको जारी अभियानअन्तर्गत कोशीमा हुने कार्यक्रमलाई निकै चासोका साथ हेरिएको छ । किनकि, कोशी प्रदेश नामाकरणका विषयमा एमालेले पहिचानवादीको मर्मविपरीत कदम चालेको भन्दै तीव्र आलोचना भइरहेको छ । र पहिचानवादीले एमालेलाई कोशी छिर्नै नदिने बताउँदै आएका छन् ।

एमालेको अभियानलाई नै लक्षित गरी आज पहिचानवादीहरुले बन्दको समेत आह्वान गरेका थिए । उनीहरुले केही स्थानमा रुख ढालेर अवरोध पुर्याउन खोजेका थिए । तर प्रहरीले अवरोध पन्छाएपछि एमालेको कार्यक्रम अघि बढेको छ ।

एमालेको अभियानमा अवरोध पुर्याउने खोज्ने १० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले पूर्वमन्त्री गोपाल किरातीलाई समेत गिरफ्तार गरेको छ ।

अहिलेको परिदृश्यले कोशीमा कुनै पनि बेला एमाले र पहिचानवादीबीच झडप हुनसक्ने सम्भावना छ । त्यसैले यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

स्मरणीय छ कि, कांग्रेस–माओवादीले पनि प्रदेशको नाम कोशी नै राख्नेमा मतदान गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved