महासमिति बैठक सार्ने कि नसार्ने भन्नेमा कांग्रेसभित्र विवाद

सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्म बस्ने समय निर्धारित छ । त्यसका लागि कांग्रेसले ललितपुरको गोदावरीमा हलसमेत ‘बूक’ गरिसकेको छ ।

नेपालभ्युज

महासमिति बैठक सार्ने कि नसार्ने भन्नेमा कांग्रेसभित्र विवाद

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ गतेदेखि १९ गतेसम्म बस्ने समय निर्धारित छ । त्यसका लागि कांग्रेसले ललितपुरको गोदावरीमा हलसमेत ‘बूक’ गरिसकेको छ ।

तर, अहिले आएर कांग्रेसभित्र सार्ने कि नसार्ने भन्नेबारे विवाद देखिएको छ ।

सभापति शेरबहादुर देउवा बैठक सार्न चाहन्छन् । यसअघि मंसिर १३ गते साँझ धुम्बाराहीस्थित आफ्नै निवासमा आफूनिकटका नेताहरूलाई बोलाएर उनले बैठक सार्न प्रस्ताव गरेका थिए । त्यसमा नेताहरूले सहमति जनाएका थिए ।

तर, डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले भने सार्न नहुने अडान राखेका छन् । केन्द्रीय समिति बैठकसमेत बस्न नसकिरहेको अवस्थामा महासमिति बैठक सार्न नहुने महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

महामन्त्री थापासँगै नेता डा. शेखर कोइरालाले आफूनिकटका नेताहरूको बैठक डाकेका छन् । मंसिर २६ गते अर्थात् भोलि बस्ने बैठकमा यसबारे छलफल हुने नेताहरूले बताएका छन् । महामन्त्री थापानिकट एक नेताले भने— भोलिको बैठक खासमा राष्ट्रियसभा निर्वाचन, वर्तमान राष्ट्रिय राजनीतिसँगै पार्टीभित्रका समसामयिक विषयबारे छलफल गर्नका लागि बोलाइएको हो । त्यसमा महासमिति बैठकबारे पनि छलफल हुन्छ ।

सभापति देउवाले भने आफूनिकटका नेताहरूसँग जाडो (चिसो) को कारण देखाउँदै बैठक सार्न प्रस्ताव गरेका थिए । कांग्रेसको सूचना, सञ्चार तथा प्रभाव विभागका प्रमुखसमेत रहेका देउवानिकट नेता मीनबहादुर विश्वकर्माकाअनुसार देउवाले राष्ट्रियसभा निर्वाचनपछि बैठक राख्न खोजेका छन् ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । “राष्ट्रियसभा निर्वाचनपछि बैठक गर्ने उहाँको मनसाय छ । तर, निर्णय भइसकेको छैन । अझै छलफल होला । निर्वाचनपछि मात्रै बस्दा उयुक्त हुन्छ भन्ने उहाँको मनसाय हो,” विश्वकर्माले भने ।

सभापति देउवाले किन बैठक सार्न चाहेको भन्ने जिज्ञासाबारे भने विश्वकर्मा बोलेनन् । “किन हो थाहा छैन । तर, अरु पदाधिकारी साथीहरूबाट केही समय सार्दा केही हुँदैन भन्ने सुझाव आएको छ,” उनले भने ।

खासगरी संस्थापनइतर पक्षका नेताहरू बैठक सार्न मानेका छैनन् । दुई/दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति नै नबस्दा पार्टी सङ्गठनहरू भद्रगोल बनेको उनीहरूको भनाइ छ । यसअघि केन्द्रीय समिति बैठक साउन २ गते बसेको थियो । त्यसपछि पार्टी विधानत: असोजमा बस्नुपर्ने बैठक बस्न नसकिरहेको बेलामा महासमितिजस्तो बैठक सार्न नहुने नेताहरूको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved