नेपालबाट तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति फिर्ता (तस्वीरसहित)

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्ति फिर्ता गरेको हो ।

नेपालबाट तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति फिर्ता (तस्वीरसहित)

न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्याएका चारवटा पुरातात्विक मूर्ति अमेरिकी सरकारले फिर्ता गरेको छ ।

न्यूयोर्क स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार विशेष कार्यक्रम गरी नेपाली महावाणिज्यदूतावासमार्फत नेपाल सरकारलाई मुर्ति हस्तान्तरण गरिएको हो ।

१६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले फिर्ता गरेको हो । जसमा दुई वटा भैरव मास्क तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुंगाको मूर्ति रहेका छन् ।

न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता एल्विन ब्राग जुनियर, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिकारी, होमल्याण्ड सेक्युरिटी इन्भेष्टिगेसन्स, न्यूयोर्क र गृह मन्त्रालयका अधिकारीहरुले कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

नेपालबाट चोरी तस्करी गरी अमेरिका ल्याईएका नेपालका पुरातात्विक वस्तु फिर्ताका लागि सहयोग गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयलाई नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले अनुरोध गरेको थियो ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दुतावासको पटक पटकको पहलपछि अमेरिकी सरकारले लामो अनुसन्धानपछि मात्र यी मूर्ति फिर्ता गरेको हो ।

मुर्ति बुझेपछि कार्यवाहक महावाणिज्य दुत गौतमले नेपालको पुरातात्विक सम्पदा फिर्ता गरेकोमा अमेरिकी सरकारप्रति कृतज्ञता व्यक्त गरे । उनले यसको अनुसन्धानमा खट्ने अधिकृतलाई विशेष धन्यवाद दिए ।

जिल्ला न्यायधिवक्ता ब्रागले आफूहरुले पुरातात्विक वस्तुको तस्करी नेटवर्कलाई लक्षित गरेर अनुसन्धान अघि बढाएको भन्दै जति जटिल भए पनि यस्तो जालो तोड्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालबाट हराएका अन्य ऐतिहासिक वस्तुको खोजिका लागि सधै सहयोग गर्ने पनि बताए ।

यसअघि महावाणिज्य दुतावासको पहलमा १०औं शताब्दीदेखि १७औं शताब्दीका १६ वटा पुरातात्विक मूर्ति तथा वस्तु स्वदेश फर्काउन नेपाल सरकार सफल भएको छ ।

प्राप्त भएका मूर्ति परराष्ट्र मन्त्रालय, नेपाल पुरातत्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी महावाणिज्य दुतावासले छिट्टै नेपाल पठाउने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved