के हो ‘हिरोइज्म’ ? कस्तो हुन्छ यसको परिणाम ?

मान्छेले व्यावहारिक जीवनमा पनि त्यस्तै नायक खोजिरहेको हुन्छ, यो एक मनोवैज्ञानिक यथार्थ हो । को होला अर्जुनजस्तो धनुर्धारी ? को होला कर्णजस्तो पराक्रमी ? को होला हनुमानजस्तो रावणको लंका जलाउन सक्ने ? को होला धर्मेन्द्र, अमिताभ बच्चनजस्तो ‘शोले’ ? को होला सेल्भेस्टर स्टालोनजस्तो ‘रेम्बो’ ? को होला राजेश हमालजस्तो फलामका हात भएको ?

के हो ‘हिरोइज्म’ ? कस्तो हुन्छ यसको परिणाम ?

काठमाडौं । ‘हिरोइज्म’ को चर्चा संसारभरि जस्तै नेपाली राजनीतिमा पनि उत्तिकै छ अहिले । ‘हिरोइज्म’ अर्थात् नायकत्व । त्यसो त यो पुलिङ्गी शब्द हो— नायकत्व पुरुषमा मात्र हुन सक्दछ भन्ने मनोदशाबाट उत्पति भएको ।

तर, आधुनिक राजनीतिशास्त्रमा यसले लिङ्गोत्तर अर्थ दिन्छ— कुनै एक व्यक्तिको क्षमताले राष्ट्रका समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास । महिला होस् वा पुरुष कुनै व्यक्तिलाई श्रृंगारपटार गरेर प्रस्तुत गर्दा जनता र मतदाताले पत्याए भने उसले राष्ट्रलाई सही नेतृत्व दिन सक्दछ भन्ने बुझाइ ।

प्रारम्भमा यो कला, साहित्य र सिनेमाको विषय थियो । काव्य, महाकाव्य, कथा, उपन्यास वा सिनेमामा जति बढी बलियो वा बहादुर नायक खडा गर्न सकियो, स्टोरी त्यति नै बलियो मानिन्थ्यो । साहित्य समीक्षकहरू काव्य, महाकाव्य, कथा, उपन्यासको समालोचना गर्दा पात्रको चरित्र चित्रणमा मात्र हैन, नायकको नायकत्व कतिको बलियो भयो वा भएन भन्ने पक्षबाट पनि विश्लेषण गर्थे।

बलियो नायकत्व खडा गर्न नसक्ने कथा लेखक कमजोर र असफल मानिन्थ्यो । महाभारतको अर्जुन र रामायणको रामजस्ता नायक आधुनिक उपन्यासका नायकमा पनि खोजिन्थे ।

सिनेमाको युगमा नायकत्वको महत्त्व झनै बढ्यो । सिनेमाको नायक काव्य, महाकाव्य, कथा र उपन्यासको नायकभन्दा झनै बलियो भएर आयो । जे पनि गर्न सक्ने भयो ऊ । सिनेमाको नायक पहाडबाट हाम फाल्छ । समुद्रमा पौडिएर तर्छ । चट्टान वा फलाममा ठोक्किँदा पनि उसको शरीरमा घाउ लाग्दैन । लागे पनि केही फरक पर्दैन, खोस्रेजस्तो मात्र हुन्छ, दुख्दैन । सिनेमाको एक्लो नायकले सयौं भिलेनलाई एक्लै तह लगाउन वा पराजित गर्न सक्दछ ।

सिनेमामा नायक जति बलियो हुन्छ, दर्शकले उत्तिनै जोडले ताली पिट्दछन्, मज्जा मान्दछन् । खराबीलाई पराजित गर्न चाहने दर्शकको मानसिकता राम्रोसँग तुष्टीकरण हुन्छ ।

व्यावहारिक जीवनमा यस्तो हुन असम्भव हो । तर, काव्य, कथा र सिनेमाको औसत यथार्थ ।

मान्छेले व्यावहारिक जीवनमा पनि त्यस्तै नायक खोजिरहेको हुन्छ, यो एक मनोवैज्ञानिक यथार्थ हो । को होला अर्जुनजस्तो धनुर्धारी ? को होला कर्णजस्तो पराक्रमी ? को होला हनुमानजस्तो रावणको लंका जलाउन सक्ने ? को होला धर्मेन्द्र, अमिताभ बच्चनजस्तो ‘शोले’ ? को होला सेल्भेस्टर स्टालोनजस्तो ‘रेम्बो’ ? को होला राजेश हमालजस्तो फलामका हात भएको ?

मनोविज्ञानवेत्ता भन्छन्— युवा उमेरमा मान्छेको स्वैरकल्पना बलियो र तीव्र हुन्छ । तसर्थ युवा मतदाता प्रभावी समाजमा कथा र सिनेमामा मात्र हैन, राजनीतिमा पनि नायकको उदय सहज हुन्छ ।

हिरोइज्मको यस्तो परिभाषाभित्र महात्मा गान्धी, नेल्सन माण्डेला हिरो हुन् कि हैनन् भन्ने भ्रम सिर्जना हुन्छ । गान्धी न बलिया बाङ्गा थिए, न हेर्दा राम्रा । उनी एकसरो धोती लगाउँथे र लौरो टेकेर हिँड्थे । भोक हड्ताल र उपवास बस्दाबस्दै उनको शरीर जीर्ण भएको थियो । हिरोइज्मले खोज्ने हिरोको गुण गान्धीमा थिएन । थियो भने पनि उनले त्यो दक्षिण अफ्रिका र नाटालमै सेलाएर भारत आएका थिए ।

२७ वर्ष कष्टकर जेल जीवन बिताएका नेल्सन माण्डेला पनि गान्धीका अनुयायी थिए । उनको कुनै पनि चरित्र र छवि सिनेमाको हिरोको जस्तो थिएन ।

२०४६ को जनान्दोलनका कमाण्डर गणेशमान सिंहसँग त्यो बेला त्यस्तो कुनै गुण थिएन, जुन बेला उनी नेतृत्वको आन्दोलनले ३० वर्षे पञ्चायती निरंकुशतालाई ढाल्यो । उनी सामान्य लुगा लगाउँथे । लौरो टेक्थे । बोली प्रष्ट थिएन । धारा प्रवाह बोल्न सक्दैनथे । उमेरले वृद्ध भइसकेका थिए । स्वास्थ्य कमजोर थियो ।

हिरोइज्मको आँखाबाट हेर्दा गान्धी, मण्डेला, गणेशमानजस्ता नेता नायक मानिँदैनन् । तिनले न बालेन शाहले जस्तो कालो चश्मा लगाउँथे, न रवि लामिछानेले जस्तो सधैँ जेलले कपाल ठाडो पार्थे । के ती नायक थिएनन् ?

सन् २००१ मा आएको अनिल कपुर अभिनित हिन्दी सिनेमा ‘नायक’ ले दर्शकलाई भित्रैदेखि हल्लायो। सिनेमामा नायक र नायकतत्वको अतिरञ्जना कुनै नयाँ कुरा थिएन । तर, यसको कथा राजनीतिक थियो । अर्थात् राजनीतिमा पनि अनिल कपुरजस्तो ठाउँको ठाउँ जे पनि गर्न सक्ने र केही घन्टाभित्रै सबैथोक ठीकठाक पार्न सक्ने नायक हुन सक्दछ भन्ने भाष्य ।

दक्षिण एशियाको भ्रष्ट र गुन्डागर्दीको राजनीति भोग्दाभोग्दै हैरान भएका दर्शकले नायकबाट खुबै मज्जा उठाए । दर्शकको दमित भावनालाई नायकका अनिल कपुरले तुष्टीकरण गरिदिए ।

त्यसो त यो दक्षिण एशियाली ‘फेनोमेना’ मात्र हैन । पहिलो र दोस्रो दुई ठूला विश्वयुद्धबाट गुज्रिएको युरोपमा पनि कुनै न कुनै प्रकारले नायकको खोजी भइरहेको हुन्छ । इस्लाम विश्वमा त मसिहा र जिहादी योद्धाको भिन्नै आकर्षण हुन्छ । कम्युनिष्ट विश्वमा चे गुभाराको छवि एक विचित्र प्रकृतिको नायकका रूपमा स्थापित छ ।

कुनै बेला अमेरिकी राष्ट्रपति पदमा चुनाव जित्ने बलियो आधार रोनाल्ड रेगनका लागि सिनेमाको लोकप्रिय हिरो हुनु नै थियो । भारतमा अभिताभ बच्चन, धर्मेन्द्र, सुनिल दत्त, एनटी रामाराव, हेमामालिनी, जय प्रदालगायतले चुनाव जित्नु कुनै नयाँ कुरा भएन । तमिलनाडुकी जयललिता त सिनेमा कि नायिकाबाट राजनीतिकै महानायिका भइन् ।

थोमस हब्स, फ्रेडरिख हिगेल र नित्सेजस्ता चिन्तकले राजनीति र समाजमा नायकको भूमिकालाई दार्शनिकरूपमा स्थापित गर्न खोजेका थिए । सायद उनीहरूको विश्वास प्रणाली नै त्यस्तै थियो । हब्सले शक्तिको संकेन्द्रण बिना त्यसले काम गर्न नसक्ने तर्क गरेका थिए । उनी भन्थे— शक्ति एक ठाउँमा छैन भने त्यो शक्ति नै हैन । किनकि त्यसले शक्तिले गर्नुपर्ने काम गर्न सक्दैन । तसर्थ, शक्तिलाई एक ठाउँमा हुन देउ, हिरोहरूको जन्मलाई स्वाभाविक मान ।

हिगेलले भने कि परम सत्यले कुनै व्यक्तिमार्फत भूमिका गर्ने हुँदा इतिहासमा नायक अपरिहार्य हुन्छन् । उनी विश्मार्कको औचित्यलाई दार्शनिक तहमा पुष्टि गर्न चाहन्थे । फ्रान्समा नेपोलियन बोनापार्टको छवि विशालकाय नायकको छँदै थियो।

नित्सेले त यो भन्न भ्याए कि जसमा शक्तिको चाहना हुन्छ, उसैले आफूलाई ‘उच्च मानव’ का रूपमा समाज र इतिहासमा स्थापित गर्न सक्दछ ।

खासमा हिरोइज्मको शास्त्रीय तथा दार्शनिक मान्यता र समकालीन बुझाइबीच ठूलो भिन्नता छ । त्यो बेलाको नायक सर्वसाधारणलाई असम्भवजस्तो लाग्ने कुनै ठूलो कार्य वा पराक्रम गरेर आउँथ्यो । या त राजनीति निष्ठा र लामो संघर्षबाट स्थापित हुन्थ्यो, अहिलेको जस्तो सामाजिक सञ्जालमा हल्ला गरेको भरमा हैन ।

अक्सर, युद्ध र हिंसाबाट जन्मिन्थे नायकहरू; जस्तो कि पृथ्वीनारायण शाह वा जंगबहादुर राणा । यी दुवैको उदय हिंसाबाट भयो । शाहले एकीकरण युद्ध गरे भने राणाले कोत पर्व ।

नेपालको इतिहासमा हत्याकाण्डलाई किन ‘पर्व’ भनिन्छ त्यो आफैँमा अनौठो छ । यदि कोत ‘पर्व’ हो भने सायद नारायणहिटी हत्याकाण्ड पनि पर्व हुनुपर्ने हो । हत्या र हिंसालाई पवित्रीकरण गर्न यस्ता शब्द प्रयोग हुँदा हुन् ।
जे होस, शास्त्रीय नायकहरूले कुनै न कुनै प्रकारको जोखिम उठाउनैपर्थ्यो । अक्सर, त्यो हिंसा वा युद्ध नै हुन्थ्यो ।

बीपी कोइरालाको नायकत्व २००७ सालको जनक्रान्तिले स्थापित भएको थियो । उनले त्यो बेला बर्मादेखि हतियार ल्याएर होस् वा भूपू लाहुरेलाई संगठित गरेर, प्रजातन्त्र सेनानी गठन गरेर होस वा जमिन्दार वर्गका सन्तानलाई लोकतान्त्रिक चेतनातर्फ आकर्षित गरेर राणा शासन ढाल्ने वातावरण बनाएका थिए ।

त्यो स्तरको त हैन । तर, एमाले नेताहरूको नायकत्व झापा विद्रोह नामको हिंसाले बनेको हो । केपी शर्मा ओली हुन् वा सीपी मैनाली, मोहनचन्द्र अधिकारी हुन् वा आरके मैनाली, माधवकुमार नेपाल हुन् वा झलनाथ खनाल कुनै न कुनैरूपमा झापा विद्रोहसँग जोडिएका थिए ।

पछिल्लो दशकमा प्रचण्ड-बाबुराम नायक बनेर उदाए । २०६४ सालको पहिलो संविधानसभा चुनावका बेला उनीहरूको नायकत्व कुनै मानेमा कम थिएन । एक दशक लामो माओवादी जनयुद्धबिना त्यो सम्भव थिएन ।

आजको हिरोइज्म त्योभन्दा बिल्कुलै अलग छ । जस्तो युक्रेनका जेलेन्स्की । उनी टेलिभिजनका पर्दामा राष्ट्रपतिको अभिनय गर्थे । उनको टिभी सो र राष्ट्रपति पदको अभिनय हेर्दा हेर्दै युक्रेनी जनतालाई जेलेन्स्की नै साँचो राष्ट्रपति जस्तो भान पर्न थाल्यो । अन्ततः कुनै पार्टीसमेत नभएका, स्वतन्त्र उम्मेद्वार बनेका, राजनीतिमा ‘र’ को समेत अनुभव नगरेका जेलेन्स्कीलाई जनताले राष्ट्रपतिजस्तो गम्भीर जिम्मेवार पदमा जिताइदिए ।

कतिपय विश्लेषक आज पनि यो तर्क गर्छन् कि जेलेन्स्कीको उदय नभएको भए सायद रुस-युक्रेन युद्ध हुने थिएन । कुनै गम्भीर राजनीतिज्ञले स्थितिलाई अर्कै तरिकाले हल गर्न सक्थ्यो । देश र जनतालाई युद्ध र विनाशबाट बचाउन सक्थ्यो ।

तर, यस्ता तर्कको अब कुनै अर्थ छैन । जे नहुनु थियो, भइसकेको छ । टिभीको नायकबाट जेलेन्स्की आज युद्धको नायक हुन बाध्य भएका छन् । तर, पनि उनी टिकिरहेका छन्, त्यही ठूलो कुरा जस्तो देखिएको छ । धनजनको क्षतिको हिसाब इतिहासले गर्दै गर्ला ।

यदाकदा व्यक्तिको मनोवृति, चरित्र र भूमिका इतिहासमा बढो निर्णायक भएर आउँछ । जस्तो कि जर्मनीमा हिटलरको उदय नभएको भए के दोस्रो विश्वयुद्ध हुन्थ्यो ? जुन दिन हिटलरले आत्महत्या गरे लगभग त्यही दिन दोस्रो विश्वयुद्ध अन्त्यको अनुमान भइसकेको थियो । यी सबै सन्दर्भ हिरोइज्मभन्दा बाहिरका हैनन् ।

नेपाली राजनीतिमा भने लामो समय पुरानो प्रकारको हिरोइज्म प्रभावी रह्यो । कुनै न कुनै प्रकारको हिंसासँग जोडिएर आएको नायकत्व । तर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी प्रवृतिका नेता पनि यही देशमा थिए । जसले महात्मा गान्धी र नेल्सन माण्डेलाको झल्को दिन्थे । आज समाजले सबैभन्दा बढी यही प्रवृतिलाई बेवास्ता गरेजस्तो लाग्छ, जसले सबैभन्दा बढी सार्थक परिणाम दिएका थिए ।

बालेन्द्र शाहको ‘र्‍यापर इमेज’ मा समाजले खोजिरहेको वा पाइरहेको नायक कस्तो हो ? बुझ्न सजिलो छैन । दुर्गा प्रसाईंमा समाजले पाइरहेको वा खोजिरहेको हिरो कस्तो हो ? त्यसको भिन्नै विश्लेषण जरुरी हुन्छ ।

समाज कता जाँदैछ ?

अनेक कारणले समाज जब निरिह वा विक्षिप्त हुन्छ, त्यसले कसै न कसैको सहारा खोजिरहेको हुन्छ । योबाट केही हुन्छ कि त्योबाट केही हुन्छ कि भनेर आशा गरिरहेको हुन्छ । भनिन्छ, हिरो स्वयम् व्यक्तिको क्षमता हैन । हिरो खोजिरहेका मान्छेहरूले प्राप्त गर्ने संयोग हो ।

अंग्रेजीमा एक कथा छ ‘हिरो वाइ चान्स’। कलेज पढ्ने एक बेरोजगार र निराश गाउँले युवक शहरको एक काठे घरको दोस्रो तलामा डेरा लिएर बसेको हुन्छ । एक मध्यरात अचानक घरमा आगलागी हुन्छ । सबै हतारमा बाहिर निस्कन्छन् । तर, ढिलो सुतेको उ मस्त निदाएको हुन्छ । जब घरका तलाहरू जलेर भत्किन थाल्छन्, तब मात्र ऊ तल खस्छ आफैँ । तर, तेस्रो तलाबाट झरेको एउटा कपडाको बन्डल उसको अँगालोमा आउँछ । उसलाई थाहा पनि हुँदैन कि त्यसमा के छ । तर, जब ऊ आगलागी भएको घरबाट बन्डलसहित बाहिरन्छ, एकाएक हिरो हुन्छ । एकाएक जयजयकार हुन्छ उसको, ऊ आफैँ छक्क पर्छ । बन्डलमा हतारमा ओर्लिएका एक दम्पतिको बच्चा थियो । मान्छेलाई भान पर्छ कि त्यही बच्चालाई जोगाउन ऊ घरबाट ढिलो निस्किएको हो, उसले बच्चा जोगायो ।

लोकतन्त्र यस्ता कथा, संयोग र नायकबाट चल्ने र परिणाम दिनसक्ने व्यवस्था वा प्रणाली भने हैन । यसले संस्था, संस्थागत प्रक्रिया र पद्धति तथा सामूहिक ज्ञान र विवेकसम्मत अविछिन्न उत्तराधिकारको माग गर्दछ । विचार, संगठन र आन्दोलनको प्रष्टताको माग गर्दछ ।

अमेरिकी संस्थापक नेताहरूको एक बलियो समूह कार्य थियो— वासिङगटन, जेफरसन, हेमिल्टन, मेडिसनलगायतको ।

भारतीय स्वतन्त्रता संग्रामका बेला गान्धी, नेहरू, पटेल, अम्बेड्कर, बोस, डा. राजेन्द्र प्रसादजस्ता नेताहरूको बलियो टिम थियो । यस्ता नेताले अक्सर समूह कार्यमा विश्वास गरेको देखिन्छ, हिरोइज्ममा हैन ।

हिरोइज्मको परिणाम चाहिँ के होला ? यसै भन्न सकिन्न । तर, प्रदीप गिरि भन्थे— नायक खोज्ने समाज अभागा हुन्छ । के हामी कुनै त्यस्तै ‘परिणाम’ को प्रतीक्षा त गरिरहेका छैनौँ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved