आलेख

नेपाली राजनीति : साध्य र साधनको घनघोर अलमल

गणतन्त्र त आयो, तर मुलुकको रूपान्तरण किन भएन ? किनभने हामी गणतन्त्रमा मख्ख पर्‍यौँ । साधनलाई अझ राम्रो बनाउने तिर सोचेनौँ । फगत गणतन्त्रमा रमायौँ । यसको अर्थ के हो, हामी साधनमा भुल्यौँ । हामी फगत व्यवस्थाको आत्मरतिमा मख्ख पर्‍यौँ । हामी फगत स्वरूपमा मख्ख पर्‍यौँ । नेताहरू सिंहासनमा मख्ख परे । कार्यकर्ताहरू व्यवस्थामा ।

नेपाली राजनीति : साध्य र साधनको घनघोर अलमल

काठमाडौं । केही सरल र चलनचल्तीका प्रश्नबाट कुरा अगाडि बढाउँ । जस्तो कि राजनीतिको मुख्य अभिष्ट के हो ? पार्टी खोलेर सरकारमा पुग्नु हो कि जीवन र जगत्‌‌लाई बदल्नु र सभ्यतालाई अझ सुन्दर बनाउनु हो ? अथवा, जसरी पनि एक थान चुनाव जित्नु हो कि चुनाव जितेर परिणाम निकाल्नु हो ? अथवा, जसरी पनि सरकारमा टिकिरहनु हो कि जति समय टिकिन्छ नागरिकलाई खुसी दिनु हो ?

राजनीतिमा सफल हुनु भनेको के हो ? ठूलो पार्टी बनाउनु सफलता हो कि राम्रो पार्टी बनाउनु सफलता हो ? जसरी पनि चुनाव जित्नु सफलता हो कि स्वच्छ निर्वाचनका लागि योगदान गर्नु सफलता हो ? राजनीतिलाई निष्ठा र नैतिकताको मानक बनाउनु सफलता हो कि षड्यन्त्र र दलालीको साधन बनाउनु सफलता हो ? पटकपटक मन्त्री भइरहनु सफलता हो कि एकैपटक किन नहोस्, अर्थपूर्ण काम गर्नु सफलता हो ?

व्यक्तिमा केन्द्रित भई यो प्रश्न हेरौँ, नेपाली राजनीतिमा अनेकौं पटक प्रधानमन्त्री हुने शेरबहादुर देउवा सफल कि छोटो समय प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई सफल ? अथवा गणेशमान सिंह र प्रदीप गिरी सफल कि सधैँ सत्ताको सिंहासनमा विराजमान हुने भाग्यमानी प्रकाशमान वा विजयकुमार सफल ? कम्युनिष्टहरूतिर फर्किएर हेर्दा कहिल्यै प्रधानमन्त्री नभएका मदन भण्डारी र पुष्पलाल सफल कि पटकपटक प्रधानमन्त्री भएका कमरेडहरू केपी, माधव, प्रचण्ड, बाबुराम वा झलनाथ सफल ?

अथवा मान्छेलाई सधैँ जागरुक गर्ने ऊर्जाशील रूपचन्द विष्ट सफल कि पटकपटक मन्त्री भएका ऊर्जाविहीन भुतपूर्वहरू सफल ? पार्टी खोलेर पनि पार्टी बनाउन नसकेका, चुनाव हारेका तर सधैँ मान्छेलाई लोकतन्त्रका लागि प्रेरित गरिरहने देवेन्द्रराज पाण्डे सफल कि पटकपटक चुनाव जितेर पनि मान्छेलाई प्रेरित नगर्ने केहीथान बासी माननीयहरू सफल ?

एकथान पार्टी खोल्नु, पार्टी ठूलो बनाउनु, सरकारमा पुग्नु र जसरी पनि सरकारमा टिकिरहनु न त राजनीति हो, न त राजनीतिको सफलता । तर हाम्रो राजनीतिमा यस्तो गलत भाष्य स्थापित छ कि यहाँ मात्र चुनाव जित्नुलाई सफलता मानिन्छ । सरकार बनाउनुलाई सफलता मानिन्छ । सरकारमा टिकिरहनुलाई सफलता मानिन्छ । अकुत सम्पत्ति कमाउनुलाई सफलता मानिन्छ । त्यसैले त नेपाली राजनीतिमा एउटा भनाइ निकै चर्चित छ—जोगी बन्न राजनीति गरिएको हैन ।

त्यसो भए कुरा के हो ? राजनीतिमा लागेर निरन्तर सत्ता र सम्पत्ति आर्जन गर्नु सफलता हो कि मान्छेका बीचमा नैतिकता, उदारता र सदाचारको उदाहरण स्थापित गर्नु सफलता ?

साध्य र साधनको द्विविधा

एउटा प्रश्न हेरौँ, जस्तो कि नेपाली राजनीतिको साध्य के हो र त्यो साध्य प्राप्त गर्ने साधन के हो ? यस्तो लाग्छ, यो प्रश्नमा नेपाली राजनीति सधैँ द्विविधामा रह्यो । साध्य र साधनको द्विविधा लाग्छ, यही नै समकालीन नेपाली राजनीतिको घनघोर अलमल हो ।

जस्तो विचार गरौँ त, पार्टी साध्य हो कि साधन ? विचार साध्य हो कि साधन ? क्रान्ति साध्य हो कि साधन ? संविधान साध्य हो कि साधन ? सरकार साध्य हो कि साधन ? राजनीति साध्य हो कि साधन ? सायद यी प्रश्नमा निहित द्विविधा समकालीन राजनीतिको संकट हो । यस्तो संकट जसले नेपाली राजनीतिलाई त परिणामविहीन बनाएकै छ नेतृत्वलाई समेत पङ्गु, दिशाहीन र गन्तव्यहीन बनाएको छ ।

साध्य के हो ? शब्दार्थमा साध्यको अर्थ हो, सिद्ध गर्न सकिने कुरा । फत्ते गर्न सकिने कुरा । समाधानका निम्ति प्रस्तुत समस्या । राजनीतिक अर्थमा साध्यलाई लक्ष्यको रूपमा प्रयोग गरिन्छ । समस्या समाधान गरेर प्राप्त गर्न चाहेको प्रतिफल । अथवा दूर क्षितिजमा देखिने उज्यालो । जस्तो हाम्रो देशको मुख्य समस्या हो गरिबी । त्यसको अन्त्य गर्ने जुन लक्ष्य राखिन्छ, त्यो साध्य हो ।

साधन के हो ? शब्दार्थमा साधन भनेको उपकरण वा औजार हो । राजनीतिक अर्थमा यसलाई औजार त भनिन्छ नै, साथसाथै यसलाई बाटो, तरिका वा उपायको अर्थमा पनि प्रयोग गरिन्छ । जस्तो पर क्षितिजमा जुन लक्ष्य चम्किरहेको छ, त्यसलाई कसरी प्राप्त गर्ने ? त्यहाँसम्म पुग्ने उपाय, औजार, प्रशाधन जे हो, त्यहीनै साधन हो ।

मानौँ, गरिबी अन्त्य गर्ने हाम्रो लक्ष्य हो । यो लक्ष्य प्राप्त गर्ने उपाय, औजार वा बाटो हो साधन ।

साध्य र साधन दुवैलाई मिलाएर अर्थ खोज्दा, स्वाभिमान र समृद्धि हाम्रो साध्य हो । नागरिकको समुन्नत जीवन हाम्रो साध्य हो । आत्मनिर्भर र समुन्नत अर्थतन्त्र हाम्रो साध्य हो । र, त्यो सबै प्राप्त गर्न हामीले अवलम्बन गर्ने उपाय वा औजार साधन हो । संविधान साधन हो । कानून साधन हो । व्यवस्था साधन हो । पार्टी साधन हो । राज्य साधन हो ।

तर, हामी साधनको प्राप्तिलाई नै लक्ष्य ठान्दछौँ । त्यसैमा मख्ख पर्दछौँ । र, साध्य बिर्सन्छौँ । यहीँनेर हाम्रो अलमल छ । र, यो यस्तो अलमल हो, जसले त्यसपछि सबैकुरा फरक पारेको छ ।

मानौँ कि हामी पोखरा जान चाहन्छौँ । पोखरा जानु हाम्रो लक्ष्य हो । अथवा साध्य हो । पोखरा जान अनेक साधन पाइन्छन् । तर, हामीले गाडीलाई साधन बनायौँ अर्थात् हामीले गाडीबाट पोखरा जान सबैभन्दा सजिलो छ भन्ने निष्कर्ष निकाल्यौँ । अनेक प्रयत्न गरेर हामीले पोखरा जाने गाडी प्राप्त गर्‍यौँ । नयाँ, चिल्लो र सुविधासम्पन्न गाडी । पोखरा जाने गाडी जब हाम्रो आँगनमा आइपुग्यो, त्यो सुन्दर र अत्याधुनिक गाडी देखेर हामी मख्ख पर्‍यौँ । हामीलाई लाग्यो, यो गाडीमा राखेर एकपटक आफ्ना जहान परिवारलाई इटहरीतिर घुमाउँ र आनन्द लिउँ ।

जब गाडीमा आफ्ना परिवारलाई राखेर हामी इटहरीतिर लाग्छौँ, हामी मख्ख पर्छौँ । हामी रमाउँछौँ । हामी साधनको मोहमा पर्दछौँ । विस्तारै हामीले पोखरा जाने लक्ष्य भुल्छौँ । हामीलाई लाग्छ, हाम्रो जीवनको सार्थकता नै त्यही गाडीमा निहित छ । यसरी पोखरा जाने लक्ष्य भुलिन्छ र गाडी नै अन्तिम लक्ष्य बन्न पुग्छ ।

अहिले हाम्रो राजनीतिमा भएको यही छ । हामी साधनलाई साध्य ठानेर अलमल र भ्रममा रमाइरहेका छौँ ।

प्रश्न आउँछन्, जस्तो पार्टी साध्य हो कि साधन ? नेताहरूले ‘पार्टी महत्त्वपूर्ण छ । पार्टीका लागि जीवनको आहुति दिनपर्छ’ भनेर भन्छन् । उनीहरूले उसरी भने मानौँ पार्टी नै लक्ष्य हो । विचार गरौँ त पार्टी महत्त्वपूर्ण छ कि नागरिकको समृद्धि ? पार्टी साध्य हो कि नागरिकको समृद्धि साध्य हो ?

अवश्य नै पार्टी महत्त्वपूर्ण छ । तर, पार्टीभन्दा महत्त्वपूर्ण छ, नागरिकको समृद्धि । रूपान्तरण । परिवर्तन । पार्टी त सिर्फ लक्ष्य प्राप्त गर्ने साधन हो ।

जनआन्दोलन ०६२/६३ नेपाली राजनीतिको उच्चतम् अभिव्यक्ति थियो । यो विगत ६० वर्षमा जनताले हुर्काएका सपनाहरूको अभिव्यक्ति थियो । मजदुर अनि किसानले बनाएका सपनाहरूको अभिव्यक्ति । आन्दोलनका अक्करहरूमा सबै जातजातिले मिलेर हुर्काएका सपनाहरू । लोकतन्त्र, अधिकार, न्याय र समानताको अभिव्यक्ति अर्थात् नागरिकको समृद्धि ।

तर, जब नागरिकभन्दा धेरै पार्टी महत्त्वपूर्ण भयो, त्यसपछि पार्टीको हितका लागि राजनीति सुरू भयो । पार्टीको हितका लागि आन्दोलनका भाष्यहरू परिवर्तन हुँदै गए । पार्टी हितका लागि आन्दोलनका सपनामाथी कुठाराघात भयो । पार्टी हितका लागि आन्दोलनका उपलब्धिमाथि घात भयो । त्यसपछि मुलुकको रूपान्तरण ओझेलमा पर्‍यो, लक्ष्य फेरियो र साध्य बन्यो फगत सत्ता ।

जब लक्ष्य वा साध्य नै पार्टी, सत्ता, सरकार, मन्त्री, प्रधानमन्त्री बन्न पुग्छ, तब सबैकुरा त्यहीँबाट चौपट हुन सुरू भइहाल्छ ।  त्यसैले हुनुपर्छ समकालीन नेपाली राजनीतिमा दलका नेता कार्यकर्ताको मुख्य मोटिभेसन देखिन्छ आफ्नो पार्टी ठूलो बनाउने । किन ठूलो बनाउनपर्‍यो पार्टी ? निर्वाचन जित्न । किन जित्नपर्‍यो निर्वाचन ? सत्तामा जान । किन जानपर्‍यो ? सत्तामा ? त्यसपछि बहस सकिन्छ ।

किनभने साधनलाई नै लक्ष्य ठान्नेहरूका लागि सत्ता नै सबै कुराको अन्तिम प्रतिउत्तर हो ।

पछिल्लो दशकमा अवश्य नै हामीले आन्दोलन गर्‍यौँ । प्रश्न आउँछ, हामीले आन्दोलन किन गर्‍यौँ ? सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन किन आवश्यक भएको हो ? मुलुकको रूपान्तरण गर्न । त्यसो भए गणतन्त्र त आयो, तर मुलुकको रूपान्तरण किन भएन ? किनभने हामी गणतन्त्रमा मख्ख पर्‍यौँ । साधनलाई अझ राम्रो बनाउने तिर सोचेनौँ । फगत गणतन्त्रमा रमायौँ । यसको अर्थ के हो, हामी साधनमा भुल्यौँ । हामी फगत व्यवस्थाको आत्मरतिमा मख्ख पर्‍यौँ । हामी फगत स्वरूपमा मख्ख पर्‍यौँ । नेताहरू सिंहासनमा मख्ख परे । कार्यकर्ताहरू व्यवस्थामा ।

तर, नागरिकको जीवनमा परिवर्तन नल्याउने हो भने पार्टी, आन्दोलन वा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको के अर्थ ? किनभने राजनीतिमा यि सबै मात्र साधन हुन् । साध्य हो— मान्छेको स्वाभिमान, समृद्धि र सामाजिक न्याय ।

संविधानकै कुरा गरौँ ।

जस्तो कि हामीले भन्यौँ, जनताका प्रतिनिधिले लेखेको संविधान आवश्यक छ । किन आवश्यक छ ? किनभने त्यसले राष्ट्रिय सहमति निर्माण गर्नेछ । अनेक छरिएका मनोविज्ञानलाई जोड्ने छ । देश, राज्यप्रति नागरिकको स्वामित्व बढ्नेछ । नागरिक सार्वभौम भएको अनुभूति हुनेछ । यी सबै कुरा हामीलाई किन चाहियो ? यी सबै गर्नुको प्रयोजन के हो ? समृद्धि, विकास, सामाजिक न्याय र नागरिकको सार्वभौमिकताको प्रवर्द्धन ।

एक थान संविधान त बन्यो । तर, त्यसले आफ्नो प्रयोजन सिद्ध गर्न सकेन भने के अर्थ ? किनभने संविधान स्वयम् लक्ष्य होइन । यो त मात्र लक्ष्य प्राप्त गर्ने साधन हो । लक्ष्य हो राष्ट्रिय सहमति, स्वाभिमान, समृद्धि, विकास, सामाजिक न्याय र नागरिकको सार्वभौमिकताको प्रवर्द्धन ।

अवश्य नै जनआन्दोलन ०६२/६३ पछि हामीले सामन्तवादको सदियौं पुरानो किल्लालाई ढालेका छौँ । लैङ्गिक तथा जातीय विभेदका कुसंस्कार तोडेका छौँ । राज्यलाई धर्मनिरपेक्ष बनाएका छौँ । नागरिक अधिकारलाई सुत्रबद्ध गरेका छौँ । सङ्घीयताका लागी आधार खनेका छौँ । मूल कुरा गणतन्त्रको जग उठाएका छौँ । हामीले सबै नेपालीलाई आफ्नो पहिचान साथ फुल्न र फैलिन खुल्ला आकास र पूरा धर्तीको मालिक बनाएका छौँ । नयाँ संविधान सँगै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सगरमाथा ठड्याएका छौँ । हामीले राज्यका सिद्धान्त, लक्ष्य र उद्देश्य निर्धारण गरेका छौँ । यी सबै हाम्रा लागि यसकारण महत्त्वपूर्ण छन् कि अब लक्ष्यमा पुग्ने बाटो सफा भएको छ । फेरि पनि यि सबै हाम्रा लक्ष्य थिएनन् । यि त मात्र हाम्रो लक्ष्यमा पुग्ने साधन थिए । हाम्रो मुख्य लक्ष्य थियो स्वाभिमान र समृद्धि ।

मानौँ कि संविधानलाई नै सबैकुरा ठान्ने हो भने, संविधान बन्यो । तर, के साध्य नै संविधान थियो ? त्यो त साध्य प्राप्त गर्ने बाटो थियो अर्थात् संविधान त साधन थियो । हामी साधन प्राप्त गरेर मख्ख भयौँ । संविधान जागि गर्ने कुरालाई नै हामीले बितेका ७० वर्ष लामो राजनीतिको लक्ष्य ठान्यौँ । वस्तुतः त्यो लक्ष्य थिएन । त्यो त लक्ष्यउन्मुख हुने हाम्रो एक प्रयत्न थियो । लक्ष्य थियो समृद्धि, स्वशासन, सुशासन र स्वाभिमान ।

तर, हामी संविधान निर्माण गरेको आत्मरतिमा रमायौँ । लक्ष्य दूर क्षितिजमा अधुरै रह्यो ।

साध्यभन्दा ठूलो साधन हुँदैन । त्यसैले पार्टी महत्त्वपूर्ण कुरा होइन । महत्त्वपूर्ण कुरा हो मान्छेको जीवन । निश्चय नै संविधान महत्त्वपूर्ण हो । तर, त्योभन्दा महत्त्वपूर्ण हो, परिणाम । महत्त्वपूर्ण कुरा हो, परिवर्तन । महत्त्वपूर्ण कुरा हो समृद्ध जीवन ।

नेताहरूले भने सरकार महत्त्वपूर्ण छ । पार्टी महत्त्वपूर्ण छ । तर सरकार महत्त्वपूर्ण छ कि सरकारमा पुगेर दिनुपर्ने परिणाम महत्त्वपूर्ण छ ? पार्टी महत्त्वपूर्ण छ कि मान्छेको जीवनमा बदलाव । सरकार साधन हो । पार्टी साधन हो । साध्य हो, मान्छेको समुन्नति । त्यसैले त भनिन्छ— राजनीतिमा साधन महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण हुन्छ साध्य ।

नेपाली समाजका दुईवटा मूल लक्ष्य छन् । स्वाभिमान र समृद्धि अर्थात् पार्टी लक्ष्य होइन । पार्टी मात्र त्यो लक्ष्य प्राप्त गर्ने साधन हो । सरकार लक्ष्य होइन । सरकार मात्र सधन हो ।

हाम्रो लक्ष्य यस्तो राज्य निर्माण हो, जहाँ सबैका लागि काम मिलोस् । गरिखान पाइयोस् । गाँस, बास र कपासका लागि आधार बनून् । उत्पादन बढोस् । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको ग्यारेन्टी होस् । केटाकेटीका लागि स्कूल, युवाका लागि काम र जेष्ठ नागरिकका लागि आराम मिलोस् । अबको केही दशकपछि सप्तरङ्गी उद्यानमा उभिएर आफ्ना केटाकेटीलाई सगर्व बताउन सकियोस् कि हामीले कसरी यो देश बनायौँ ।

हामीलाई आफ्नै श्रोतहरूको उच्चतम् प्रयोगबाट आत्मनिर्भर बन्नु छ । दुई ठूला छिमेकीको बीचमा स्वाभिमान साथ उभिनु छ । विकासका सानदार लक्ष्य हासिल गर्नुछ । गरिबी अन्त्य गर्नुछ । विभेद अन्त्य गर्नुछ । यो हो हाम्रो साध्य ।

तर, हाम्रो राजनीतिले परिवर्तनलाई भन्दा पार्टीलाई महत्त्व दियो । हामीले पार्टीका लागि मान्छेको जीवनलाई तुच्छ बनायौँ । हाम्रो राजनीतिले परिवर्तनको निष्ठालाई भन्दा पार्टीले प्राप्तगर्ने सत्तालाई महत्त्व दियो । त्यसैले यस्तो भयो कि राजनीतिमा निष्ठा र नैतिकता समाप्त भयो । साध्य हरायो । यसरी राजनीति उल्टोपाल्टो हुनपुग्यो ।

फगत संविधान हाम्रो लक्ष्य होइन । फगत सङ्घीय लोकतान्त्रिक गणतन्त्र हाम्रो लक्ष्य होइन । सरकार लक्ष्य होइन । पार्टीहरू लक्ष्य होइनन् । कुनै अमुक मान्छेलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनु मात्र हाम्रो लक्ष्य होइन । यी सबै त लक्ष्य प्राप्त गर्ने साधन हुन् ।

अतः साधनको अलमल त्यागौँ र साध्यलाई समातौँ । अन्यथा राजनीतिको प्रयोजन सकिनेछ । जगजाहेर छ, प्रयोजनबिनाको राजनीति एकदिन समाप्त हुनेछ । त्यसको न त इतिहासमा कसैले सम्झना गर्नेछ, न त सम्मान ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved