अन्तर्वार्ता

कोशीका विनाविभागीय मन्त्री जबेगु भन्छन्- मन्त्री भन्नुमात्रै हो, के गर्नुपर्ने हो थाहा छैन !

'१५ गतेलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ'

कोशी प्रदेशका तीन मन्त्री जिम्मेवारीविहीन अवस्थामा छन् । राजनीतिक अस्थिरताको परिणामस्वरूप दलहरूबीच भागबन्डा नमिल्दा उनीहरू जिम्मेवारीविहीन हुन पुगेका हुन् ।

नेपालभ्युज

कोशीका विनाविभागीय मन्त्री जबेगु भन्छन्- मन्त्री भन्नुमात्रै हो, के गर्नुपर्ने हो थाहा छैन !

विराटनगर । कोशी प्रदेशका तीन मन्त्री जिम्मेवारीविहीन अवस्थामा छन् । राजनीतिक अस्थिरताको परिणामस्वरूप दलहरूबीच भागबन्डा नमिल्दा उनीहरू जिम्मेवारीविहीन हुन पुगेका हुन् ।

गत असोज २७ गते मुख्यमन्त्री बनेका केदार कार्कीले त्यही दिन नेपाली कांग्रेसका समशेर राईलाई विनाविभागीय मन्त्री बनाए । त्यसपछि कात्तिक १७ गते सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु मन्त्री बने, उनीहरू पनि विनाविभागीय नै ।

विनाविभागीय तीन मन्त्रीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै काम गर्न कार्यकक्षको व्यवस्थापन गरिएको छ । तर, आफूहरूलाई जिम्मेवारी नतोकिँदा काम गर्न अप्ठ्यारो भएको मन्त्रीहरूको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले थप मन्त्रिपरिषद् विस्तार भएपछि मात्रै विनाविभागीय मन्त्रीहरूले पनि जिम्मेवारी पाउने बताउने गरेका छन् । त्यसो त मुख्यमन्त्री कार्कीले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने बताउने गरेका छन् । तर, फेरि पनि विस्तार भइहाल्ने अवस्था भने देखिँदैन ।

के हुँदैछ कोशीमा ? कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

यस्तो अवस्थामा अब कहिले मन्त्रिपरिषद् विस्तार हुन्छ र कहिले विनाविभागीय मन्त्रीहरूले जिम्मेवारी पाउँछन् ? यही विषयमा विनाविभागीय मन्त्री कमलप्रसाद जबेगुसँग गरिएको यो कुराकानी प्रस्तुत छ—

तपाईंलगायत प्रदेशका अरु मन्त्री विनाविभागीय हुनुहुन्छ, कहिले जिम्मेवारी पाउनुहुन्छ ?

थाहा छैन । मुख्यमन्त्रीजीले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि जिम्मेवारी दिने भन्नुभएको छ ।

कहिले पूर्णता पाउला त मन्त्रिपरिषद्ले ? भागबन्डा मिलिसक्यो ?

मुख्यमन्त्रीजीले भनेअनुसार १५ गतेपछि लगत्तै हुन्छ । त्यसपछि जिम्मेवारी पाउने कुरा हो । मन्त्रिपरिषद् विस्तार भइसकेपछि हामीले जिम्मेवारी पाउने कुरा भएको छ ।

जिम्मेवारीविहीन मन्त्री हुँदा कस्तो अनुभव हुँदोरहेछ ?

यो हुन नहुने कुरा हो । तर, भयो । अब यसलाई के भन्ने खै ? मन्त्री भनिदिएको छ तर, मन्त्रीले के गर्नुपर्ने हो थाहा छैन । जिम्मेवारीविहीन मन्त्री हुनु नमिठो रहेछ ।

हामीले प्रदेश संरचनाको कल्पना गर्दैगर्दा विनाविभागीय मन्त्री बन्ने, मन्त्रालय फुटाएर भागबन्डा पुर्‍याउने, प्रदेश स्वायत्त संरचना भएपनि केन्द्रबाट अङ्कुश लाग्ने यी सबैको कल्पना गरेका थिएनौँ, तर अहिले यस्तै भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

निश्चय नै तपाईंले भनेझैँ हामीले यस्तो संरचनाको कल्पना गरेका थिएनौँ । तर, समयक्रममा चल्दै जाँदा यो भयो । यो हुनु भनेको हाम्रो असफलता हो । यो या त्यो दलको होइन, यो वा त्यो सरकारको कुरा होइन; यो सबैको असफलता हो । यसलाई सम्हालेर लानु जिम्मेवार दलहरूको कर्तव्य हो । हामीले सुध्रिँदै-सुधार्दै अघि बढ्नुपर्छ । र, यसमा सबै दलहरू एकठाउँ आउनुपर्छ । आरोप-प्रत्यारोपको खेल होइन यो । यसमा सबै एकठाउँ उभिनुपर्छ ।

हामीले कल्पना गरेबमोजिमको सङ्घीयता कहिले देखिन्छ ?

यसबारे सबै दलहरूले सोच्नुपर्छ । एउटा वा दुईवटा दलले सोचेर यसमा हुँदैन । हामीले भनेको सङ्घीयताजस्तो हाम्रो अभ्यास नहुँदा व्यवस्थामाथि प्रश्नहरू उठ्ने गरेका छन् र यो निकै दुखद् हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved