मंसिर ७ दिनभर : ‘नक्कली राजावादी’ र ‘असफल गणतन्त्रवादी’को लडाइँ, मारमा निरीह जनता

दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा–विद्यार्थी विशेषको शक्ति प्रदर्शनले चिसिँदो काठमाडौं उपत्यकाको माहौल ततायो । लामो समययता प्रचारित दुवै पक्षको र्‍याली र प्रदर्शन हेर्न लायक बन्यो, भलै प्रचार गरेअनुसार मान्छेको उपस्थिति नभए पनि ।

नेपालभ्युज

मंसिर ७ दिनभर : ‘नक्कली राजावादी’ र ‘असफल गणतन्त्रवादी’को लडाइँ, मारमा निरीह जनता

काठमाडौं । बिहीबार मध्यान्ह बल्खु क्षेत्र तनावग्रस्त रह्यो । सटरहरू बन्द भए, बल्खु, कुलेश्वर, कालीमाटी सडकमा यातायात नै बन्द गरिए ।

काठमाडौंभर नै सार्वजनिक सवारीसाधन कम चले । धेरै मानिस गन्तव्यमा जान पाएनन् । सर्वसाधारणहरू काम छाडेर घरभित्रै बस्न बाध्य बने । नेपाल बन्दको झल्को दिने गरी सडक सुनसान थियो । सडकमा थिए त केबल एकातिर सुरक्षा दस्ता, अर्कोतर्फ प्रदर्शनकारी ।

बल्खुमा प्रहरीले राखेको घेरा तोड्न प्रदर्शनकारीले बारम्बार प्रयास गरे । प्रहरी प्रदर्शनकारीलाई आफ्नो घेरा तोड्न नदिन प्रयासमा रह्यो । प्रहरी र प्रदर्शनकारीबीच दिनभर घम्साघम्सी चल्यो ।

प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि पानीको फोहरा हान्यो, प्रदर्शनकारीले ढुङ्गामुडा बर्षाए । फेरि प्रहरीले अश्रुग्याँस हान्यो । भागदौड नै चल्यो । प्रदर्शनस्थल रणमैदानझैँ बन्यो ।

उता तीनकुनेमा पनि प्रदर्शन थियो । त्यहाँ भने प्रदर्शन शान्तिपूर्ण रह्यो । युवा र विद्यार्थीका नेता–कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरी थियो । सडक बन्द थियो । सीमित चलेका सवारीहरू वैकल्पिक बाटोबाट चल्दै थिए । उपत्यकाको जनजीवन अस्तव्यस्त थियो ।

बल्खुमा प्रदर्शन गर्ने समूह ‘भाइरल म्यान’ दुर्गा प्रसाईं नेतृत्वको भीड थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै सो समूहले प्रदर्शन गरेको हो ।


तीनकुनेमा भने नेकपा एमाले निकट युवासंघ र विद्यार्थी सङ्गठनले प्रदर्शन आयोजना गरेको थियो । युवा संघको र्‍याली मध्यान्न १२ बजे तीनकुनेबाट कोटेश्वर हुँदै पुनः तीनकुने आएर सभामा परिणत भयो ।

युवा र विद्यार्थीका नेता–कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरियो । र्‍यालीको नेतृत्व एमाले नेता महेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको गरेका थिए ।

जे होस्, दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा–विद्यार्थी विशेषको शक्ति प्रदर्शनले चिसिँदो काठमाडौं उपत्यकाको माहौल ततायो । लामो समययता प्रचारित दुवै पक्षको र्‍याली र प्रदर्शन हेर्न लायक बन्यो, भलै प्रचार गरेअनुसार मान्छेको उपस्थिति नभए पनि ।

०००

दिनभर जे देखियो

युवासंघले तीनकुनेमा प्रदर्शन गर्दै थियो, दुर्गा प्रसाईं समूहले बल्खुमा । युवा संघ र प्रसाईं समूह आमने–सामने हुने स्थिति आएको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरसम्म नारा जुलुस, धर्नाजस्ता आन्दोलनका कार्यक्रममा निषेध गरेको थियो ।

नयाँ बानेश्वरदेखि माईतिघरसम्म निषेधाज्ञा थियो । बल्खुबाट कुलेश्वर हुँदै कालीमाटी जाने सडक बन्द थियो ।

प्रदर्शनले आफ्नो जनजीवन बिथोल्न सक्ने आंकन गरेर सर्वसाधारण खासै बाहिर निस्किएनन् । बिहानै अरू सडक समेत सुनसान थियो ।

बिहान ११ बजेबाट तीनकुनेमा युवासंघका कार्यकर्ता भेला हुन थाले । उता बल्खुमा विभिन्न ठाउँबाट गएका प्रदर्शनकारीहरू जम्मा हुँदै थिए । दिउँसो १ बजेसम्म बल्खुमा भीड बढिसकेको थियो ।

दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका सहभागीहरू बल्खुबाट कुलेश्वरतर्फ छिर्न लागेका थिए । अर्कोतिरबाट युवासंघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै तीनकुने जाँदै थिए ।

त्यो बेलामा बल्खु चोकमा दुईपक्षबीच भेट भयो । दुई पक्षको प्रदर्शनकारीबीच केही बेर झडप भयो । भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस हान्नुपर्याे । त्यसपछि एमाले कार्यकर्ता तीनकुने लागे । प्रसाईंका कार्यकर्ता बल्खु चोकमै रोकिए ।

०००

बल्खुबाट कालीमाटी जाने बाटो बन्द थियो । प्रदर्शनकारी कालीमाटीतिर अघि बढे । उनीहरू नारा लगाउँदै थिए, ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन् ।’

दिउँसोपख प्रदर्शनमा मिसिन राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि पुगे ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित अधिकांश नेताहरूले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई मंसिर ९ गते झापामा लगेर कार्यक्रम गर्दैछन् । पार्टीभित्र दुई धार भइरहेको बेलामा पार्टी प्रवक्ता समेत रहेका सांसद शाही भने दुर्गा प्रसाईको कार्यक्रममै सहभागी भए । भाषण ठोके ।

प्रदर्शनस्थलमा मुख्य बक्ता दुर्गा प्रसाईंले सम्बोधन गरे । लगतै एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरे । निर्देशन अनुसार दुर्गा प्रसाईंका कार्यकर्ता अलि उग्र बन्दै गए ।

दिउँसो तीन बजेको थियो । आन्दोलनकारीको भीड बल्खुचोकबाट कालीमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेको थियो । प्रहरीले रोक्यो । बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान जोडबल गरे । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीतर्फ इट्टा र ढुंगा हाने ।

प्रहरी पनि चुप लागेनन् । अश्रुग्याँस हान्यो । दोहोरो झडप भयो । बल्खु क्षेत्रमा कालो मुस्लो धुवाँ छुट्यो । प्रदर्शनकारीले केही सेल अश्रुग्याँस टिप्दै प्रहरीलाई फर्काए । दुवै पक्षका केही घाइते भए ।

प्रहरीले पानीको फोहोरा पनि हान्यो । क्षणभरमै प्रहरी र प्रदर्शनकारीबीच झडपले बल्खु क्षेत्र रणमैदान बन्यो ।
झन्डै आधा घण्टाजति लामो दोहोरो झडप भयो । बिस्तारै झडप साम्य भयो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउँदै बल्खुचोकमै पुर्‍यायो । आन्दोलनकारीको मूल समूह बल्खुचोकमा धकेलियो ।

अपराह्न ४ बजेपछि बिस्तारै प्रदर्शनकारी घट्दै गए । साँझ ५ बजे प्रहरीले मूल सडकमा गाडी गुड्न दियो । बिहानदेखि सुनसान सडक सडक खुल्यो । प्रदर्शनकारी आएपछि त्यहाँ सडक अवरुद्ध भएको थियो । काठमाडौंको अरू क्षेत्रमा पनि दिनभर अघोषित बन्द जस्तै थियो । साँझ केही चहलपहल भयो । अहिले जनजीवन सामान्य बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved