आजको आन्दोलनको लागि दुर्गा प्रसाईँले कति मान्छे ल्याए काठमाडौं ? सुरक्षा निकाय भन्छ- ४ हजार मात्रै

नेपालभ्युज

आजको आन्दोलनको लागि दुर्गा प्रसाईँले कति मान्छे ल्याए काठमाडौं ? सुरक्षा निकाय भन्छ- ४ हजार मात्रै

काठमाडौं । राजतन्त्र ब्युँताउने एजेन्डासहित आज काठमाडौंमा कार्यक्रम गर्न लागेका दुर्गा प्रसाईँले कति मान्छे उतार्छन् भन्ने चासो बढ्दो छ ।
उनले ५ लाखलाई उतार्ने दाबी गरे पनि ४ हजार मान्छे उतार्ने सुरक्षा निकायको दाबी छ ।

सुरक्षा निकाय स्रोतका अनुसार करिब ४ हजारको संख्यामा प्रसाईँ समर्थक काठमाडौं भित्रिएका छन् । उनीहरू विभिन्न पार्टी प्यालेस, बैक्वेट र होटलहरुमा बसेका छन् ।

प्रहरी स्रोतले भन्यो, ‘प्रदर्शनकारीहरू बस्ने भनेको पार्टी प्यालेस, बैंक्वेट र होटलहरुमै हो । हाम्रो सूचनाअनुसार करिब ३५००÷४००० को संख्यामा उनीहरू भित्रिएको हुनुपर्छ।’

प्रहरीले प्रसाईँको कार्यक्रममा बढीमा १० हजारसम्म सहभागी हुन सक्ने अनुमान गरेको छ ।

काठमाडौं उपत्यकाभित्रै रहेका मानिसहरू पनि सहभागी हुन सक्ने भएकाले प्रहरीले त्यो सङ्ख्या अनुमान गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरुले प्रसाईँको यस कार्यक्रमप्रति ऐक्यबद्धता जनाएकाले राजसंस्था पक्षधर र राप्रपाकै कार्यकर्ता पनि सहभागी हुन सक्ने सुरक्षा निकायको आँकलन गरेको छ । सूचना संकलनका लागि नेपाल प्रहरीदेखि सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाले आफ्ना कर्मचारीलाई सादा पोषाकमा परिचालन गरिसकेको छ ।

प्रसाईँको कार्यक्रमलाई काउन्टर दिँदै नेकपा एमालेनिकट युवा संघले पनि आजै नै कार्यक्रम राखेकाले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एकअर्काप्रति भड्कीलो अभिव्यक्ती दिइरहेकाले सम्भावित परिस्थितीलाई ध्यानमा राखेर युवा संघलाई तीनकुने र प्रसाईँ समूहलाई बल्खुमा कार्यक्रम आयोजना स्थल तोकेको छ । काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved