काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् ।
२२ कात्तिकमा काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आई कम्प्लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलाश भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगर छन् ।
अनुसन्धानको क्रममा बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ । बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए । पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।

खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए । बर्तौलालाई शेरबहादुरले पछाडीबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए । त्यहाँको निगरानी आशिषले गरेका थिए ।
आक्रमणपछि दुवैजना भागेका थिए । शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए । ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए ।
प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेका थिए । त्यहाँबाट झापा हुँदै इलाम पुगेका पगेका थिए । उनीहरू दुई जनालाई इलाम पु¥याउने काम टेकबहादुर प्रधानले गरेका थिए । त्यसबापत उनले पैसा लिएका थिए ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
Facebook Comment
Comment