सम्झनामा भाइटीका

‘दिदीबहिनीहरू जेलभित्र टीका लगाइदिरहन्थे, प्रहरीले बाहिरबाट चाँडो बाहिरिन आदेश दिन्थ्यो’

जेलबाट जुन दिन छुटेँ, त्यही पक्राउ परेँ । यो क्रम धेरैपटक चल्यो । अनशन बसेपछि लास घरमा राखिन्थ्यो । बुझ्ने मान्छेको पर्खाइमा राखिएका अपरिचित व्यक्तिका लासहरूसँग कैयौं रात बिताउने कुरा अनौठो थिए

‘दिदीबहिनीहरू जेलभित्र टीका लगाइदिरहन्थे, प्रहरीले बाहिरबाट चाँडो बाहिरिन आदेश दिन्थ्यो’

जेलबाट जुन दिन छुटेँ, त्यही पक्राउ परेँ । यो क्रम धेरैपटक चल्यो । अनशन बसेपछि लास घरमा राखिन्थ्यो । बुझ्ने मान्छेको पर्खाइमा राखिएका अपरिचित व्यक्तिका लासहरूसँग कैयौं रात बिताउने कुरा अनौठो थिएन । अत्याचारले सीमा नाघेपछि मैले रामराजाको नेतृत्वमा घटेको बम काण्ड (२०४२) लाई निरन्तरता दिन उनकै पार्टीमा जाने निधो गरेँ । मलाई जेलमा धेरै नेताहरूले सम्झाए । यसपछि जेलबाट छुट्दा ममा रहेको आक्रोश घट्दै थियो ।

राजा महाराजाका कुशासनहरू भोगेका पुस्तामध्येकै हुँ म । अहिले पनि नेपालमा राजतन्त्र चाहिन्छ भनेर वकालत गर्नेहरूप्रति उम्लने घृणाको उचाइ थाम्न मलाई कठिन हुन्छ घरी-घरी । हजारौं त्यतिबेलाका युवाहरू निरङ्कुश, सामन्ती जहानियाँ शासन र राजतन्त्रको कहालिलाग्दो दमन भोग्नेहरू जिउँदै छौँ । अझै राजनीतिक जीवनमै छौँ । कतिले पुराना घाउहरू थाकेको अनुभूति गर्लान् । कतिले आफ्ना पीडाहरू जस्ताको तस्तै अरुलाई बाँडचुड गर्न नसक्लान् पनि ।

तर, प्रत्येक तिहारमा मेरो शरीर बाहिर जहाँ भएपनि मन भने एकपटक जेलभित्रै पुग्छ । अनि जेलका चिसा छिँडीहरूभित्रको भाइटीका मेरो स्मृतिमा बल्झिरहन्छ ।

पिस्कर हत्या काण्ड (२०४० साल माघ १ गते) सामन्ती राजतन्त्रको बर्बर अत्याचारको प्रतिनिधि र मुलुकमा नियोजित घटना थियो । ईले र वीरबहादुर थामीहरू राजाका प्रहरीले माघे सङ्क्रान्तिको मेलामै मारेका थिए । कैयौंलाई पक्राउ गरी राजतन्त्रविरोधी भन्दै जेल कोचियो । म ताहाचल क्याम्पस पढ्दै थिएँ । स्ववियुको सभापतिमा निर्वाचित हुनु मैले गरेको गम्भीर अपराध थियो । पिस्कर काण्ड घटेको स्थल त के, पिस्कर गाँउ नै टेकेको थिइनँ ।

तर, त्यो मानवताविरोधी अपराधको भण्डाफोर गर्ने प्रचार अभियानमा संलग्न भएकै थिएँ । राजाको शासनमा देखेको कुरा पनि बोल्न पाइँदैनथ्यो ।

बागमती अञ्चलाधीशले प्रहरी पठाएर २०४० साल माघ १५ गते नेपाल विद्युत् प्राधिकरणको हेड अफिसबाटै मलाई लगे ।

दुईदिन हनुमाढोकामा राखेर नजरबन्द गरेको जानकारीसहित सुनधारास्थित केन्द्रीय कारागार पठाइयो । मुटु चहर्‍याउने चिसोमा परिवार, साथीभाइ कसैलाई थाहा नदिएर थुनिय‍ो । असोज १५ मा फेरि थुनामा राख्ने म्याद थपियो । २०४१ को भाइटीकामा जेलको कम्पाउण्डभित्रै मनाइयो । जो-कोहीलाई जेलमा थुनिएका राजाविरोधीहरूलाई टीका लगाउन सहज थिएन ।

काठमाडौंस्थित आरुबारीमा सावित्री केसी फुपु-दिदी हुनुहुन्थ्यो । उहाँले हिम्मत गर्नुभयो । भाइलाई टीका लगाउनु हाम्रो कर्तव्य र हक हो, म झगडा गरेर पनि लगाउँछु भनेर आउनुभएछ । अरुण नेपाल दाजु र मैले उहाँको हातको टीका थाप्यौँ । केही समयपछि अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष सुमित्रा, कमला (उहाँहरूको विस्तृत परिचय मैले डायरीमा टिप्न छुटाएछु) हरू आउनुभयो । प्रहरीहरूले पटकपटक ‘भो पुग्यो, समय सकियो’ भनेर अवरोध खडा गरिरहन्थे । हामी जेलको ढोकाभित्र छिरिसकेपछि अनेमसंघको टोली पनि टीका लगाउन आउनुभएको रहेछ । उहाँहरूलाई भेट गर्न प्रहरीले दिएन । गरुङ्गो मन लिएर उहाँहरू फर्कनुभयो भन्ने पछि सुनियो ।

पञ्चायती व्यवस्था जात्रा, मात्रा, चाडपर्व सबैसँग डराउने दमनबाटै शासन गर्ने चरित्रको थियो । जेलभित्र र बाहिरको संघर्षबाट प्रशासकहरू सशंकित बन्दै गएका थिए । यो गतिविधिले हाम्रो मनोबल बढेको महसुस हुँदै गयो ।

हामी पौष २३ देखि अनशनमा बस्यौँ । त्यही रात मलाई वीरगञ्ज जेल सरुवा गरियो र अरुण कमरेडलाई भैरहवा । हाम्रा माग प्रक्रियागतरूपमा अघि बढाउने जेलरको भनाइ आयो । हाम्रा मागहरू ‘कसाईको अगाडि खसीको रोदन’ नै थियो । पहिलोपटकको अनशन ८ दिन (१६ छाक नखाएर) तोडियो । सेन्ट्रल जेलमा झापा विद्रोहका मनकुमार तमाङ हुनुहन्यो भने वीरगञ्जमा राधाकृष्ण मैनाली सँगसँगै बस्नेमा हुनुभयो ।

छिन्ताङ काण्डका बन्दी कमरेडहरूसँग बस्दाको अनुभूति र जुगेडी काण्डका कमरेडहरूसँग बस्दाको अनुभूतिमा खासै अन्तर रहेन । ग्रामीण वर्षसंघर्षसँग जोडिएका हाम्रा भावनाहरू पवित्र र महान् लाग्थ्यो । त्यही तत्त्वले हामीलाई प्रगाढ सम्बन्धमा जोडिरहन्थ्यो ।

२०४२ को भाइटीका पनि वीरगञ्ज जेलमा छँदै बित्यो । जुगेडी विद्रोहमा जेल पर्नुभएका टेष्टबहादुर गुरुङले लेख्नुभएको ‘सौतेनी आमा’ पढेँ । निकै भावुक बनायो । देउसी खेल्नेहरू पनि घुम्थे । पल्लो ठूलो जेलमा ‘नारी एकता’ नामक टीबी बरालले लेखेको नाटक मञ्चन भयो । पुरुषहरू मात्रै भएको जेलमा दिदी-बहिनीको सम्झनामा पुरुषहरूनै नारी कलाकार बनेका थिए । यो भाइटीका मेरो जीवनमा झन् नयाँ अनुभूति दिनेगरी बित्यो ।

विरोध खतिवडाकी बहिनी आस्थाबाट हामीलाई पनि टीका लगाउने निमन्त्रणा आयो । मसँग दिने दक्षिणा नै थिएन । मैले विरोधसँग सापट मागेँ । म अन्तै अल्मलिएको बेला राधाकृष्ण मैनाली, विरोध खतिवडा, भक्तबहादुर, टेष्टबहादुरलगायत जम्मा भएर टीका लगाएपछि दक्षिणा दिने पुरानो चलन हटाउने निष्कर्ष निकालेछन् ।

पनि पैसा नभएर पनि होला यो निष्कर्ष निस्केको । टीका अर्थोपार्जन गर्ने चाड हैन, हामीले जनवादी भाइटीका मनाउने हो भन्ने कुरामा सहमति भएछ । हामी ४ जना जेलरको अफिसमा ओछ्याइएको राडीमा बस्यौँ । आस्थासँग उहाँको साथी रिता पनि हुनुहुन्थ्यो ।

त्यो भाइटीकामा दक्षिणा दिने विषयलाई लिएर चर्चित वामनेतामा स्थापित राधाकृष्ण मैनालीले ‘बन्दी रहर’ मा मेरोबारे गम्भीर टिप्पणी गरेको पाँए । पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टरले २०५५ सालमा प्रकाशनमा ल्याएको उक्त पुस्तकमा ‘सरेश नेपालले पनि सहमति बेगर रू. २० दिएर नदिनेमा आफू एक्लै परेको’ उहाँको गुनासो रहेछ । दाजुसँग लिएको पैसा उहाँकै बहिनीलाई नदिनु मेरो झन् ठूलो बेइमानी हुन्थ्यो ।

टीकापछि साथीहरूको अर्को टोली आयो । हामी फेरि बाहिर निस्कियौँ । यो पटक राजनीतिक बन्दी सबैलाई सामूहिक टीका लगाउने कार्यक्रम रहेछ । हामीलाई भेट्न आइरहनुहुने नागेन्द्र चौधरीले उद्घोषण थाल्नुभयो । हामी १७ जना टीका लगाउनेहरू थियौँ । क्रमशः परिचय पनि गरियो । उपस्थित टोलीभित्र धेरै त विद्यालय, क्याम्पसका भाइबहिनीहरू नै थिए ।

विश्वम्भर शर्मा, ममता गिरीलगायतका कमरेडहरू पनि हुनुहन्थ्यो । त्यहाँ आउनुहुने केही कमरेडहरूले आफ्नो परिचय दिन चाहानुभएन । आजभन्दा ३८ वर्षअघिको अर्को भाइटीका यसरी बित्यो ।

जेल बसाइको तेश्रो भाइटीका पनि वीरगञ्ज जेलमै मनाइयो । जेल प्रशासन हामीविरुद्व झन् आक्रमक बन्दै गएको थियो । २०४३ सालको कार्तिक १७ गते साथीभाइहरूकै दिदीबहिनीको हातको टीका थापियो । शुक्र राजथला (थाहा आन्दोलनमा जेल पर्नुभएको) को घरबाट ४ दिदीबहिनीहरू आउनुभएको थियो । अशोक बानियाँको दिदी पनि आउनुभयो । उहाँहरू सबैले हामी १४ जनालाई सामूहिक टीका लगाउनुभयो ।

पछि ममता गिरी कमरेडकै अगुवाइमा एउटा सांस्कृतिक टोली आएर दुई गीत सुनाउनुभयो । केही प्रहरीहरू रक्सीले मातेर कार्यक्रम भइरहेको बेला बिथल्न खोज्थे । उनीहरू अपशब्द प्रयोग गर्थे र टीका लगाउन आउनेहरूलाई धपाउन खोज्थे । झडप हुने स्थितिसम्म हुन्यो । वरिष्ठ पत्रकार तथा मातृभूमि साप्ताहिकका स्तम्भकार गोपाल गोतामेले सबैलाई सम्झाएर झडप हुनबाट रोक्नुहुन्थ्यो ।

यी संघर्षको मैदानमा हामीले तिहारलाई आफ्नो विद्रोहको निरन्तरताको पर्वको रूपमा मनाइरह्यौँ । म तिब्बती सिमानाको मान्छे दक्षिणी भारतको सिमानाका दिदीबहिनीहरूले हामीलाई आफ्नै रगत ठाने । कमरेडी भावना थियो । मैले त्यो टीकाको दिनदेखि आस्था नानीलाई कहिल्यै भेट्न पाइनँ । सायद बीसौं वर्षपछि होला काठमाडौंको सार्वजनिक बसमा ममता कमरेडलाई देखेँ । नजिकै गएर सोधेँ मलाई बिर्सनुभयो ? उहाँले उहीँ पुराना आत्मिय भावनाकै आँखाले एकछिन हेर्नुभयो र भन्नुभयो- म तपाईंलाई टीका लगाउने चेली कसरी बिर्सन सक्छु !

ममता कमरेड अहिले पार्टीको नेतृत्वमा हुनुहन्छ । कैयौं चेलीहरू हाम्रो स्मृतिबाट ओझेल परिसक्नुभयो । हामीलाई तिनताका टीका लगाउने हिम्मत गर्दा जीवन नै बर्बाद हुने जोखिम मोल्नुपर्थ्यो । ती आँटिला साहसिक महिला कमरेडलाईलाई धेरै धेरै सम्झना ! जोसिलो सलाम !


Comment

One thought on “‘दिदीबहिनीहरू जेलभित्र टीका लगाइदिरहन्थे, प्रहरीले बाहिरबाट चाँडो बाहिरिन आदेश दिन्थ्यो’

  1. कमरेडहरू कै त्याग र समर्पणले नेपालको कम्युनिष्ट आन्दोलन गर्बिलो बनेको छ। तपाईहरु जस्ताले जनताको लागि त्याग र संघर्ष नगरेको भए सायद आजको परिवर्तन सम्भव थिएन कमरेड। ति दिनहरूलाई स्मरण गर्दा आज पनि उर्जा प्राप्त हुन्छ होइन कमरेड। उच्च सम्मानका साथ कमरेडलाई लाल सलाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved