आलेख

‘विश्व शान्तिका लागि अमेरिकाको नेतृत्व हैन, सबै देशको सहकार्य अपरिहार्य छ’

राष्ट्रपति बाइडनलाई कसले भन्यो कि अमेरिका ‘अपरिहार्य राष्ट्र’ हो ? यो हैन । अमेरिका १९३ राष्ट्रमध्ये एक हो । यससँग विश्वको मुस्किलले ४.१ प्रतिशत मात्र जनसंख्या छ । विश्वलाई अमेरिकाको नेतृत्व चाहिएको छैन । विश्वलाई अमेरिकाको शान्तिपूर्ण सहकार्य मात्र चाहिएको छ ।

‘विश्व शान्तिका लागि अमेरिकाको नेतृत्व हैन, सबै देशको सहकार्य अपरिहार्य छ’

हामी यतिखेर भरिभराउ र अन्तर्सम्बन्धित धर्तीमा छौँ । दीगोपन र शान्तिपूर्णरूपमा बाँच्न मानवताको सबैभन्दा ठूलो परीक्षा सामना गरिरहेका छौँ ।

परीक्षामा मात्र हुन्थ्यौँ त त्यो एउटा कुरा, हामी अहिले यो परीक्षामा अनुतीर्ण भइरहेका छौँ । संसार युद्धको ज्वालामा लपेटिएको छ । मानव कारक रहेको वातावरणीय विनाश तीव्र छ । पृथ्वी १ लाख २५ हजार वर्षयताकै सबैभन्दा तातो भएको छ ।

म यसकालको लागि राजनीतिज्ञलाई दोषी देख्छु । विशेषगरी धनी र शक्तिशाली राज्यहरू दोषी देखिन्छन् । आज प्रत्येक दिन हामीले गर्नुपर्ने काम विश्वका नेताहरूको ध्यान जलवायु संकटमा पर्न आवश्यक भन्ने हो । तर, हामी उल्टै मध्यपूर्वमा विनाशकारी युद्धमा फसेका छौँ ।

इजरायली सरकारले गाजा क्षेत्रमा १०औं हजार निर्दोष नागरिक मारेको छ । तर, अझै पनि युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गर्दैछ । इजरायल युद्ध अपराध गर्दैछ । नरसंहार सिर्जना गर्दैछ । अस्पताल, विद्यालय, एम्बुलेन्स र छिमेकीपनमाथि बमबारी गर्दै गाजालाई घेरा हाल्दैछ ।

अमेरिका आफैँ यसको एक अंग हो तर, संयुक्त राष्ट्र संघको महासभा र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌मा युद्धविराम आह्वानमाथि भिटो प्रयोग गर्दैछ । यसले इजरायलको हिंसात्मक कारबाहीलाई अझ लम्ब्याउने छ ।

यता गाजामा युद्ध चर्किरहेको छ । त्यसका बाबजुद उता रुसको कडा आपत्तिबीच युक्रेनमा नाटो विस्तार आफ्नो हेलचेक्र्याइँपूर्ण प्रयास जारी राखेको छ । परिणामस्वरूप अमेरिका र रुसबीच प्रोक्सी-युद्ध भइरहेको छ, जसले युक्रेनलाई पूर्णरूपमा नष्ट गर्दैछ ।

शक्तिशाली राष्ट्रका राजनीतिज्ञले विशेषगरी मेरो आफ्नै देशकाले हामीलाई जनताले नचाहेको युद्धमा घचेडिरहेका छन् । फलतः जलवायु परिवर्तनविरुद्ध कारबाही गर्न ढिलो भइरहेको छ । जबकी जलवायु परिवर्तन हाम्रो अस्तित्वलाई जोखिममा पार्ने बिन्दुमा पुग्दैछ । राजनीतिज्ञहरू भ्रष्टाचारमा लिप्त छन् । उनीहरूको निरन्तरको भ्रष्टाचारले करोडौं मानिसको मेहनत बर्बाद भएको छ ।

यिनीहरू किन यसो गर्दैछन् ? यस प्रश्नको उत्तर जति पुरानो छ, उत्ति नै सान्दर्भिक पनि छ ।

यीनको पहिलो पाप अहंकार हो । नेतान्याहूलाई लाग्छ— गाजामा जीवन र मृत्युको निर्णय गर्ने एक्लो अधिकार उनलाई नै छ । उनलाई लाग्छ कि उनले कसैसँग वार्ता गर्न आवश्यक छैन, कम्तीमा प्यालेस्टाइनीसँग । इजरायलको सुरक्षाको बाटो न्यायबाट चल्छ, युद्धबाट हैन । तर, नेतान्याहूले यसको पूर्णतः गलत व्याख्या गरिरहेका छन् ।

यिनीहरूको दोस्रो पाप लोभ हो । हामीले भोगेका धेरै जसो युद्धहरू लाभको खोजी गर्दा भएका हुन् । तर, युद्धले विजयबाट प्राप्त हुने भन्दा धेरै सम्पति नष्ट गरिसकेको हुन्छ ।

तेस्रो पाप भ्रष्टाचार हो । अमेरिकी संसद् सदस्यका अभियान अमेरिकी युद्ध संयन्त्रद्वारा पालितपोषित छन् । अर्बौँ डलर हतियार सम्झौता भएका कम्पनीका लागि युद्ध व्यापार हो । यिनले थप युद्धलाई प्रोत्साहित गर्ने तरिका र अभियानका लागि योगदान गर्छन् ।

चौथो पाप विधर्म हो । कट्टरता हो । राजनीतिज्ञले त्यस्ता सन्देशवाहकका कुरा सुन्दछन्, जो आफ्नो राष्ट्रलाई अर्को राष्ट्रमाथि शासन गर्ने अधिकारप्राप्त शासक ठान्दछन् । यस्तो घोषणा गर्दछन् । राष्ट्रपति बाइडनलाई कसले भन्यो कि अमेरिका ‘अपरिहार्य राष्ट्र’ हो ? यो हैन ।

अमेरिका १९३ राष्ट्रमध्ये एक हो । यससँग विश्वको मुस्किलले ४.१ प्रतिशत मात्र जनसंख्या छ । विश्वलाई अमेरिकाको नेतृत्व चाहिएको छैन । विश्वलाई अमेरिकाको शान्तिपूर्ण सहकार्य मात्र चाहिएको छ ।

म ४० वर्षभन्दा बढी समयदेखि नीतिगत सल्लाह दिने काममा संलग्न छु । तसर्थ म तपाईंहरूलाई कठोर सत्य पनि भन्न सक्दछु । धनी र शक्तिशाली राष्ट्र यो विश्वास गर्दछन् कि तिनले छलकपट वा धोकाधडीबाट विश्वमा शासन गर्न सक्दछन्।

सन् १९४७–१९८९ को अवधिमा अमेरिका विश्वभरि दर्जनौं सरकार परिवर्तनका गोप्य कारबाहीमा संलग्न भएको थियो । अरु देशको सरकार उखेलेर फाल्न गरिएका त्यस्ता ६४ वटा कारबाही दस्तावेजमा राम्रोसँग अभिलेखित छन् ।

केही थोरै नाम लिँदा विगत २० वर्षमा मात्र अमेरिकाले अफगानिस्तान, हैटी, इराक, लिविया र युक्रेनका सरकारलाई अपदस्त गरेको छ । सन् २०११ मा राष्ट्रपति बाराक ओबामाले सिआईएलाई दिएको बसिर-अल असद सरकारलाई उखेलेर फाल्ने निर्देशन सम्छौँ, जसले सिरिया युद्धलाई लम्ब्यायो र ५ लाख भन्दा बढी मानिसको मृत्युको कारण बन्यो ।

यस्ता युद्ध निम्त्याउने छलछामपूर्ण काम अब रोकिनुपर्छ । हामीले अब धार्मिक सन्देशबाजीप्रति सावधानी अपनाउनैपर्छ । तलवार पिटेर हलोको फाली बनाउनपर्छ । आजको प्रविधिसँग मिलाउँदा हाम्रा आधुनिक हलो र फसल काट्ने औजार विश्वभरिकै भोकमरी मेटाउन, सम्पूर्ण मानवतालाई नै खुवाउन र वातावरण संरक्षण गर्न पर्याप्त शक्तिशाली छन् ।

इजरायलले अझ धेरै नरसंहार गर्नुअघि गाजामा युद्ध तुरुन्तै रोकिनु पर्दछ । नत्र हामी आफैँ क्षेत्रीय युद्धमा फस्नेछौँ । इजरायलले आफ्नो सुरक्षा प्यालेस्टाइनसँगको शान्ति वार्ताबाट मात्र फेला पार्न सक्नेछ । प्यालेस्टान राज्य जब आफैँभित्र सुरक्षित हुनेछ, पूर्वी जेरुसेलममा यसको राजधानी शहर र मुस्लिम पवित्र तीर्थस्थलहरूमा यसको नियन्त्रण हुन्छ, इजरायलले पनि सुरक्षा र शान्ति पाउनेछ । धार्मिक सन्देशबाजीको सोच पनि साकार हुनेछ ।

अमेरिकाले युक्रेनमा नाटो विस्तार गर्ने प्रयत्न रोक्ने हो भने त्यहाँ पनि युद्ध रोक्न सकिन्छ । यसको साटो रुससँग आणविक हतियार निसस्त्रीकरण र कुटनीतिक नविकरणमार्फत् सिधै संलग्न हुन दबाब सिर्जना गर्न सकिन्छ ।

धनी र शक्तिशालीको पापका बाबजुद शान्तिको आशा मर्नु हुँदैन । हो, शान्तिको आशा छ र त्यो आशा तपाईं-हामीले नै ल्याउन सक्छौँ ।

विश्व जनमतले जबरजस्त शान्तिको माग गरिरहेको छ । तपाईंहरू विश्वका धर्म गुरुहरूले पनि शान्तिको माग र शान्तिका लागि प्रार्थना गर्नुहोस् ।

इजरायल र अमेरिकाले युद्ध विरामका लागि विशाल बहुमतको बेवास्ता गरे पनि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले जबरजस्त शान्तिको माग गरिरहेका छन् । उनीहरूले इजरायल प्यालेस्टाइन द्वन्द्वका लागि दुई राज्य समाधानको समर्थन गरेका छन् ।

जब बाँकी विश्व शान्तिका लागि एकजुट हुन्छ, इजरायल र अमेरिकाले सुन्नैपर्छ । मानवताको आह्वानमाथि ध्यान दिनैपर्छ ।

पोप फ्रान्सिसले आफ्नो हालैको विश्व सन्देशमा नयाँ बहुपक्षीयताका लागि आह्वान गरे । यसको अर्थ विश्वका सबैको आवाज सुनियोस् । शक्तिशालीको छलछाम रोकियोस् । पवित्र पिताकै शब्दमा, “हाम्रो विश्व यति धेरै बहुध्रुवीय र ठीक यही समयमा यति धेरै जटिल भएको छ कि प्रभावकारी सहकार्यका लागि अब फरक ढाँचा आवश्यक छ ।”

यी सबै कुराले निर्णय लिने र निर्णयलाई वैधानिकीकरण गर्ने प्रक्रियामा नयाँ कार्यविधि विकासको आग्रह गर्दछन् । दशकौं अघिका प्रावधान अब पर्याप्त छैनन् । न त ती अब प्रभावकारी नै छन् । अबको ढाँचामा वार्तालाप, परामर्श, द्वन्द्व समाधान र पर्यवेक्षणका लागि पर्याप्त ठाउँ हुनुपर्दछ । अन्तत्वगोत्वा यसको अर्थ विश्व परिप्रेक्ष्यमा लोकतान्त्रिकरणको अभिवृद्धि हो । यसर्थ कि विभिन्न स्थितिलाई अभिव्यक्ति र समावेश गर्न सजिलो होस् ।

तसर्थ, हामी यहाँ अबुधाबीबाट शक्तिशालीको शक्तिहीनहरूसँग, धनीहरूको गरिबसँग, ठूला राष्ट्रहरूको सानासँग नयाँ र इमान्दार संवादका लागि आह्वान गरौँ । युद्ध चाहिँदैन भनौँ, शान्ति आवश्यक छ भनौँ । धर्तीको अस्तित्व चाहिन्छ भनौँ ।

एउटा नयाँ संवादको सुरुवात सबैतिरबाट होस् । यहाँ धर्मगुरुहरूको सभामा, संयुक्त राष्ट्र संघको हलमा, हामी जनताका घरघरमा, एक बहुपक्षीय विश्व र दीगो धर्तीमा मानवताको उत्कृष्ट आशाका लागि संवाद होस् ।

हामी विश्वका नेताहरूलाई स्पष्ट र द्विविधारहित ढंगले यो भनौँ, “साझा हितलाई प्रवर्द्धन गर्न तपाईंहरूले आफ्नो काम गर्नैपर्छ । तपाईंहरूले आफ्नो अहंकार, लोभ, भ्रष्टता र मुढता त्याग्नैपर्छ । तपाईंहरूको अहिलेको तरिकाले त्यसो हुन सकिरहेको छैन तसर्थ तपाईंहरूले आफूलाई परिवर्तन गर्नैपर्छ ।’

यो पनि स्पष्ट हो कि कुनै पनि देश अपरिहार्य हैन । यहाँ अपरिहार्य न्याय मात्र हो र न्यायका लागि सबै देश अपरिहार्य छन् ।

(लेखक अमेरिकाका प्रसिद्ध अर्थशास्त्री हुन् । यो आलेख उनको कोप–२८ फेथ लिडरसीप समिट आबुधाबीमा नोभेम्वर ६ मा दिएको भाषणको सार–संक्षेप हो )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved