आलेख

हामीले इजरायल-हमास युद्धलाई कसरी बुझ्ने ? कसको पक्षमा लाग्ने ?

हामीले के बुझ्न जरुरी छ भने गजा नियन्त्रण गरेर बसेको हमास जसरी एक अतिवादी प्यालेस्टाइनी समूह हो, त्यसरी नै इजरायलमा अहिले शासन गरिरहेको लिकुड पार्टी र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि एक चरम दक्षिणपन्थी यहुदीवादी नेता हुन् । उनले केही वर्षयता बारम्बार प्यालेस्टाइनको अस्तित्व नै समाप्त गरिदिने खुल्ला धम्की दिँदै आएका थिए ।

हामीले इजरायल-हमास युद्धलाई कसरी बुझ्ने ? कसको पक्षमा लाग्ने ?

–”यदि म अरब नेता हुन्थें भने इजरायलसँग कहिल्यै कुनै सम्झौता गर्दिन थिएँ । सामान्य बुझाइ हो यो, हामीले उनीहरूको देश लिएका छौं । तर यो पनि सत्य हो कि परमेश्वरले यो देश हामीलाई दिने प्रतिज्ञा गर्नुभएको थियो । तर, यसको उनीहरूलाई के चासो ? हाम्रा भगवान् हाम्रा हुन, तिनीहरूका हैनन् । यो दुनियाँमा यहुदी विरोधी, नाजी हिटलरजस्ता छन्, त्यसो हुनमा उनीहरूको के गल्ती छ ? उनीहरूले बुझ्ने यति मात्र हो कि हामी यहाँ आयौं, उनीहरूको ठाउँमा आयौं । हामीले उनीहरूको देश चोरेका छौं, त्यो उनीहरूले किन स्वीकार गर्छन ?”

–‘राजनीतिकरूपमा हामी आक्रमणकारी नै हौं र उनीहरूले आफ्नो प्रतिरक्षा त गर्छन् नै । देश उनीहरूकै हो किनकि उनीहरू यही बस्थे । हामी त यहाँ बस्न चाहेर आएका हौं । उनीहरूको आँखाबाट हेर्दा हामी उनीहरूको देश खोस्दैछौं । हाम्रो आँखाबाट हेर्दा हामी हाम्रो पवित्र भूमि खोज्दै आएका हौं । यो सत्य हो कि इजरायलको इतिहास एक कठिन इतिहास हो, यसको व्याख्या कहिल्यै सजिलो हुने छैन ।”

उपरोक्त भनाइ इजरायलका प्रथम प्रधानमन्त्री तथा संसारकै सर्वाधिक प्रभावशाली ‘जियोनिस्ट’ नेता डेबिड बेन गुरियनका हुन् । मैले यो भनाइ इजरालयलाई नजिकबाट चिनेका, इराक-कुवेत युद्धपश्चात् इराकी क्षेप्यास्त्र निस्क्रिय पार्ने ‘अप्रेसन डिजर्ट स्ट्रोम’ को नेतृत्व गरेका, अमेरिकी सैन्य अधिकारी तथा अध्येता स्कोट रिटरको एक लेखबाट भावानुवाद गरेको हुँ ।

यो सन्दर्भमा पुनश्च फर्कौंला, पहिले जारी हमास-इजरायल युद्ध र नेपाल सरकारको बुझाइबारे कुरा गरौँ ।

अक्टोबर ७ को बिहान करिब ६:३० बजे हमासले २० मिनेटमा ५००० रकेटमार्फत् गजापट्टी क्षेत्रबाट इजरायलतर्फ आक्रमण गर्‍यो । यो आक्रमण आकस्मिक थियो । तर, युद्धको क्षति र विश्वव्यापी प्रभाव अत्यन्त तीव्र देखियो ।

युद्धको १० दिनभित्रै दुवैतर्फ गरी करिब ५ हजारको मृत्यु भएको छ भने घाइते र विस्थापितको संख्या निकै ठूलो छ । यसले युक्रेन-रुस युद्धलाई समेत ओझेलमा पारेको छ । सिंगो विश्व इजरायल र प्यालेस्टाइनको पक्ष र विपक्षमा ध्रुवीकरण भएको छ । विशेषतः अरब क्षेत्रमा व्यापक प्रतिक्रिया भएका छन् । विश्व राजनीतिक ध्रुवीकरण र शक्ति सन्तुलनमा नयाँ आयाम देखा पर्ने सम्भावना बढेको छ ।

युद्धको मानवीय तथा आर्थिक क्षति नेपालले समेत बेहोर्नुपरेको छ । १० जना नेपाली मारिएका छन । त्यहाँ भएका सबैलाई देश फर्काउन सकिएको छैन । केही बेपत्तासमेत छन् । इजरायल नेपाली कामदारका लागि एक महत्त्वपूर्ण श्रम गन्तव्य थियो । विशेषतः ‘कियर गिभर’ सेवा दिने महिला कामदारका लागि । युद्धले रोजगार र विप्रेषणको पाटोबाट पनि नेपाललाई क्षति हुन्छ ।

युद्ध भड्किएको दिउँसो नेपाल सरकारले एक प्रेस विज्ञप्ति निकाल्यो । त्यसमा ‘नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी हमलाको कडा निन्दा गर्दछ’ भनिएको थियो । असोज २२ गते एक अर्को विज्ञप्ति आयो । त्यसमा भने हमासलाई ‘आतंकवादी’ भनिएको थिएन । परराष्ट्रमन्त्री एनपी साउदको अध्यक्षतामा भएको अधिकारीहरूको बैठकपछिको विज्ञप्ति थियो त्यो । त्यसमा भने ‘आतंकवादी हमला’ नभनेर ‘प्यालेस्टाइनको हमास समूहको आक्रमण’ मात्र भनिएको थियो ।

‘आतंकवादी हमलाको कडा निन्दा गर्दछ’ भन्नु र ‘प्यालेस्टाइनको हमास समूहको आक्रमण’ भन्नु राजनीति तथा कुटनीतिमा एउटै अर्थ दिने वाक्य हैनन् । यसले नेपाल सरकारको कच्चापन र दुविधालाई देखाउँछ ।

हमासको पहिलो दिनको आक्रमणमै १० नेपालीको मृत्यु भएपछि नेपालमा हमास विरोधी र इजरायल समर्थक भावना देखा पर्नु स्वाभाविक थियो । मानवीय संवेदनाको पाटोबाट यो अस्वाभाविक हुँदै हैन । नेपाल त्यसै पनि इजरायललाई मान्यता दिँदै आएको र सघन सम्बन्ध भएको देश हो । इजरायलको तुलनामा प्यालेस्टाइनसँग नेपालका सम्बन्धका आयाम थोरै मात्र हैन, लगभग नगन्य छन् ।

नेपाल इजरायललाई मान्यता दिने दक्षिण एशियाकै पहिलो देश हो । आज पनि विश्वका करिब २ दर्जनभन्दा बढी देशले इजरायललाई औपचारिक मान्यता दिएका छैनन् । बीपी कोइराला इजरायलको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री थिए । सन् १९६० अगस्टमा तेलअभिव पुगेका बीपी र डेबिड बेन गुरियनबीच भेटघाट भएका तस्वीर अहिले पनि इन्टरनेटमा छन् । वीपीलाई अपदस्थ गरेपछि स्वयम् राजा महेन्द्र सन् १९६३ मा इजरायल गएका थिए ।

अब माथि उद्धृत गरिएका डेबिड बेन गुरियनमा फर्कौं, जो इजरायल राज्यका संस्थापक, प्रथम प्रधानमन्त्री तथा जियोनिस्ट आन्दोलनका विश्वमै सबैभन्दा प्रभावशाली नेता थिए । तर, उनी यो स्वीकार गर्थे कि अरब जनताका नजरमा उनीहरू आक्रमणकारी नै हुन् । यहुदीले प्यालेस्टाइनीहरूको देश चोरेकै हो । इजरायलको इतिहास कठिन छ, यसको व्याख्या गर्न कहिल्यै सजिलो हुने छैन ।

यसले के देखाउँछ भने गुरियन एक सत्यवादी मानिस थिए । उनी आफ्ना सीमा र बाध्यता बुझेर पनि लक्ष्य र उद्देश्यमा दृढ थिए । इजरायल राज्यको स्थापनालाई उनी ऐतिहासिक आवश्यकता र बाध्यता मान्थे । साथै उनी यो मान्थे कि यहुदी राज्य स्थापनाको अधिकार उनीहरूलाई कहीँ छ भने प्यालेस्टाइनमै छ । किनकि हिब्रु बाइबलमा ३९ पटक इजरायलको उल्लेख गरिएको छ । बाइबलमा परमेश्वरले यो प्रतिज्ञा गर्नु भएको थियो कि उनीहरूमाथि संसारमा कहीँ पनि अत्याचार र असुरक्षा भयो भने परमेश्वरले उनीहरूलाई इजरायल लैजाने छन् र सुरक्षित गर्ने छन् ।

इजरायली इतिहासको त्यो जटिल पक्ष के हो ? जसलाई यस राज्यका संस्थापकले नै स्वीकार गरेका थिए, यो नबुझिकन अहिलेको हमास-इजरायल युद्धबारे कुनै धारणा बनाइयो भने निक्कै कच्चा हुन्छ ।

इजरायल-प्यालेस्टाइन, जोर्डन, लेबनान, सिरिया र इजिप्टजस्ता अरब तथा इस्लामिक देशद्वारा घेरिएको छ । त्यो आजको कुरा भयो, इतिहासको जटिलता करिब २ सय वर्षअघि नै सुरू भएको थियो र १ सय वर्ष त युद्ध सुरू भएकै हुन लाग्यो, जबकी इजरायल भन्ने देश बनेको ७५ वर्ष मात्र हुँदैछ । अर्थात् यो युद्ध इजरायल देश बन्नुभन्दा पनि अघि देखिको हो ।

यो कथा यहुदीहरूको नियति, भाग्य वा दूर्भाग्यसँग जोडिएको छ । यहुदी को हुन् ? विश्लेषक भन्छन् कि यहुदी धार्मिक समुदाय मात्र हैनन् । यसमा धार्मिक समुदायका साथै भाषिक, साँस्कृतिक, नश्लीय र मनोवैज्ञानिक आधारसमेत छ । यो एक राष्ट्र बन्न योग्य छ । तर, एक यहुदी मानव राष्ट्र हुन् भन्ने संसारले स्वीकार गर्‍यो तर उनीहरूको कुनै आधुनिक राष्ट्रिय-राज्य थिएन । यहुदीहरू युरोप, मध्य तथा पश्चिम एशिया र अमेरिकाभरि छरिएका थिए ।

तर, इस्लामिक र इसाई दुवै प्रकारका राज्यले यहुदीलाई घृणा र दमन गर्थे । यो सत्य हैन कि यहुदीमाथिको दमन र नरसंहार अरबी वा इस्लामले मात्र गरे । आज इसाईहरू यहुदी वा इजरायलको पक्षमा भएजस्तो देखिए पनि यहुदीमाथिको सबैभन्दा ठूलो दमन त स्वयम् हिटलरले गरेका थिए । दोस्रो विश्वयुद्धताका नाजी जर्मन अधीनस्थ युरोपभरि ६० लाख यहुदीको हत्या भएको विश्वास गरिन्छ ।

तर, यहुदी दूर्भाग्यको कथा भने धेरै अगाडिको हो । हिब्रु बाइबलअनुसार यहुदीका ‘इजरायल अधिराज्य’, ‘जुदाह अधिराज्य’, र ‘जिओन अधिराज्य’ थिए । यिनको निरन्तरता मोसिडोन साम्राज्य तथा सिकन्दरको आक्रमणको बेला इसापूर्व चौथौं शताब्दीतिरै टुटिसकेको थियो । सन् १९४८ मा इजरालयको स्थापना हुँदा यी ३ मध्ये कुन नाम छान्ने भन्ने बहस चलेको थियो, गुरियन नै थिए जसले आधुनिक युगको यहुदी राज्यका लागि बाइबलको ‘इजरायल’ नाम छानेका थिए ।

प्रारम्भमा यो क्षेत्रमा ग्रिक-रोमन आक्रमण र अधीनस्थता भयो । इस्लामको उदयपछि अरबी साम्राज्य र सुल्तानियत प्रभावी भए । आधुनिककालको प्रारम्भतिर सन् १५१६ बाट अटोमान साम्राज्यले अधीनमा लियो । अटोमान साम्राज्यको शासन करिब ४ सय वर्ष रह्यो र पहिलो विश्व युद्धमा समाप्त भयो । यतिका लामो समयदेखि ‘यहुदी राज्यविहीन राष्ट्र’ भएर रहे ।

पहिलो विश्वयुद्धमा धुरी राष्ट्रको हारपछि मित्र राष्ट्रहरूले अरब क्षेत्रलाई एकआपसमा बाँडे । अटोमान साम्राज्य टर्कीमा सीमित भयो । लेबनान र सिरिया फ्रान्सले पायो । जोर्डन र प्यालेस्टाइन बेलायतले । सन् १९१७ को बेलायती घोषणा जसलाई ‘वालफोर’ भनिन्छ, त्यसमा प्रष्ट भाषामा भनिएको छ कि ‘प्यालेस्टानमा एक यहुदी राज्य स्थापना गरिने छ’ । अंग्रेजीमा ‘अ जियोनिष्ट स्टेट विल वि इस्टाबलिष्ड इन प्यालेस्टाइन’ भनिएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि यो सम्पूर्ण क्षेत्रलाई ओटोमान साम्राज्यकालमा मात्र हैन, पहिलो विश्वयुद्धपछिको ब्रिटिश शासनकालमा पनि ‘प्यालेस्टाइन’ नै भनिन्थ्यो।

‘जियोनिस्ट आन्दोलन’ भने १७औं शताब्दीको अन्त्यतिरबाटै सुरू भएको थियो । सन् १८४० तिर साम्यवादका प्रणेता कार्ल मार्क्स र हिगेलवादी चिन्तक ब्रुनो बौयरबीच चलेको बौद्धिक बहस अझै सन्दर्भका रूपमा पढ्न सकिन्छ । कार्ल मार्क्सको एक पर्चाको नाम- ‘अन द जुइज क्वेश्चन’ छ ।

यो बहसमा बौयरले आधुनिक मानव जातिले धर्म छोड्दै जानुपर्ने, राज्यहरू धर्मनिरपेक्ष हुनुपर्ने, इसाई धर्म यहुदी धर्मकै सामाजिक विकासक्रमको नयाँ रूप भएको हुँदा दुई धर्मबीच कुनै विवाद हुन नहुने तर्क गरेका थिए भने कार्ल मार्क्सले धर्महरूको लोप सम्भव नभएको हुँदा राज्यहरूले ‘धार्मिक स्वतन्त्रता’ लाई मान्नुपर्ने तर त्यस्तो स्थिति आर्थिक समानता भएको समाजवादी राज्यमा मात्र हुन सक्ने तर्क गरेका थिए ।

कार्ल मार्क्सको परिवार नश्लले यहुदी थियो । हजुरबाको पालामा धर्म परिवर्तन गरी लुथरन क्रिश्चियन भएको थियो । तर, कार्ल मार्क्सकी कान्छी छोरी इलिनियोरले ‘म यहुदी हुँ’ भनेर स्वघोषणा गरेकी थिइन् । त्यो बेला यो निक्कै चर्चित घटना बनेको थियो । ‘यहुदीहरूको सवाल’ मा अठारौं तथा उन्नाइसौं शताब्दीमा यस्ता थुप्रै बहस भएका पाइन्छन् । बीसौं शताब्दीमा त्यो राज्य निर्माणको स्तरमा विकास भयो।

यहुदीहरूको पहिलो विश्व राजनीतिक संगठन भने सन् १९९७ बनेको थियो । यसको नाम थियो- वर्ल्ड  जियोनिष्ट अर्गानाइजेसन । यो आन्दोलनका संस्थापक नेता थियोडर हर्जल थिए । उनको सन् १९०४ मा मृत्यु भयो । त्यसपछि यो संगठनको नेतृत्व साइम विट्ज्म्यानको हातमा आयो । उनले बेलायतको ‘वालफोर घोषणा’ लाई समर्थन गरेका थिए । सन् १९४८ मा इजरायलको स्थापना नहुन्जेल उनी यो संगठनको प्रमुख रहे । त्यसपछि इजरायलको प्रथम राष्ट्रपति निर्वाचित भए। तर, यो आन्दोलनका सबैभन्दा प्रभावशाली नेता भने डेबिड बेन गुरियन नै हुन् ।

गुरियन पोल्याण्डमा जन्मिएका थिए । अटोमान साम्राज्यकालमै पोल्याण्डबाट सन् १९०६ मा प्यालेस्टाइन बसाइँ सरेका थिए । अटोमान साम्राज्यले सन् १९०३ मा एक विशेष निर्णय गरी प्यालेस्टाइन क्षेत्रमा यहुदीहरूलाई जमिन किन्ने र बसाइँ सर्ने अधिकार दिएको थियो । ब्रिटिस शासनकालमा यो प्रक्रिया झनै तीव्र भयो ।

यहाँनेर तीन वटा प्रश्नमाथि गहिरो विचार गर्नुपर्ने हुन्छ ।

एक– यहुदीहरूको एक भिन्नै राज्य हुन आवश्यक थियो वा थिएन ? राज्य कसको हुनुपर्ने हो वा कस्तो समुदायको हुनुपर्ने हो ? यदि समुदायका आधारमा बन्ने हो भने राज्यहरू कतिसम्म विभाजित हुने ? यदि यहुदीहरूको भिन्नै राज्य बन्नु हुँदैन थियो भने उनीहरूमाथि इसाई र इस्लाम बहुल राज्यहरूले किन सधैँ दमन मात्र गरे ? इतिहासका विभिन्न कालखण्डमा यहुदीहरूमाथि किन त्यति ठूला र भयानक नरसंहार भए ? के हिटलरसँग त्यति धेरै यहुदी मार्ने अधिकार थियो ? यदि संसारमा उनीहरूको कुनै राज्य नै नहुने हो भने उनीहरूको रक्षा कसले गर्थ्यो ? के यहुदीहरू राज्यविहीन भएर सकिन मानवताका दृष्टिकोणले सही हुन्थ्यो ?

दुई– राज्यहरूको उदयको आधार कुन समयलाई मान्ने ? त्यही एउटा प्यालेस्टाइनमा कुनै बेला यहुदी राज्य थियो, कुनै बेला ग्रिको-रोमन आधिपत्यता थियो, कुनै बेला इस्लामिक साम्राज्य र सुल्तानियतको शासन थियो, कुनै बेला अटोमान र ब्रिटिश साम्राज्यको शासन थियो । आधुनिक राष्ट्रिय राज्य कसको हुनुपर्दछ भनेर गणना गर्दा कुन समयबाट गणना गर्ने ? यदि सबैभन्दा पुरानोबाट गणना गर्ने हो भने त्यहाँ यहुदी राज्य किन नहुने ?

किनकि त्यो क्षेत्र प्रारम्भमा यहुदी क्षेत्र नै थियो । यहुदी, इसाई र इस्लाम एउटै अब्राहमिक परम्पराका धर्म वा समुदाय हुन् । तीन वटै धार्मिक समुदायका पुर्खा एउटै हुन् । बाइबलले पनि यो स्वीकार गर्छ, कुरानले पनि । यी तीनमध्ये सबैभन्दा पुरानो यहुदी नै हो । इसाई धर्म आन्दोलन पहिलो शताब्दीमा जिजस क्राइष्टले सुरू गरे । इस्लाम धर्म छैठौं शताब्दीमा मोहम्मद पैगम्बरले सुरुवात गरे । यी दुवै भन्दा यहुदी धेरै पुरानो हो ।

तीन– यदि सबैभन्दा पुरानो हैन, निकट विगतलाई हेर्ने हो भने त्यो क्षेत्र अरबहरूकै त थियो । विशेषतः सातौं शताब्दीदेखि पहिलो विश्वयुद्धसम्म करिब १२ सय वर्ष त्यहाँ अरबहरूकै मुख्य बसोबास थियो । ब्रिटिश शासनकालसम्म त्यसलाई ‘प्यालेस्टाइन’ नै भनिन्थ्यो । के सबैतिरबाट लखेटिएका, खेदिएका, उत्पीडित, तिरस्कृत र अपमानित भएका यहुदीहरूले इजरायल राज्य बनाए भन्दैमा अब उनीहरूले प्यालेस्टाइनलाई हेप्न, दमन गर्न र समग्र अरब विश्वको संवेदनशीलतालाई बेवास्ता गर्न मिल्छ ? हिजो आफैँ उत्पीडित भएका यहुदीहरू आज आफैँ उत्पीडक बन्न मिल्छ ?

सम्भवत: यी इजरायल-प्यालेस्टाइनका सन्दर्भमा मात्र हैन, राजनीतिशास्त्रकै लागि जटिल प्रश्न हुन् । यही बुझेर हुन सक्दछ गुरियनले-‘जटिल इतिहास र व्याख्या गर्न कहिल्यै सजिलो नहुने’ भनेका थिए ।

हाम्रो आँखाबाट हेर्दा यी प्रश्नको उत्तर त्यति जटिलचाहिँ छैन, जति ‘अब्राहमिक परम्परा र सभ्यता संघर्ष’ को आँखाबाट हेर्दा देखिन्छ । त्यहाँको चिन्तन परम्परा नै ‘संघर्ष’ बन्यो, ‘सामञ्जस्यता र सह-अस्तित्व’ हैन । लुडविक फायरबाखले इतिहासलाई ‘धर्म-संघर्ष’ भनेका थिए । कार्ल मार्क्सले ‘वर्ग-संघर्ष’ भने । फ्रेडरिख नित्सेले ‘अहं-संघर्ष’ भने । स्यामूअल हन्टिङटनले ‘सभ्यता-संघर्ष’ भने । यथार्थमा यो ‘सोच-संघर्ष’ को समस्या थियो । दुई फरक समुदाय वा अस्तित्व सधैँ संघर्षमा हुन्छन् भनेर मान्ने हो भने शान्तिको कल्पना क्षणिक हो ।

अब्राहमिक परम्परामा यहुदी, इसाई र इस्लाम भएजस्तो वैदिक परम्परामा पनि हिन्दू, किरात, शिख, जैन, बौद्धआदि अनेक धर्म, पन्थ र सम्प्रदाय छन् । तर, पूर्वीया दर्शन र दक्षिण एशियामा यस्ता धर्म र सम्प्रदायका आधारमा फरक-फरक राज्य वा देश बन्नु पर्छ भन्ने सोच नै छैन । सबै धर्म, संस्कृति, मूल्य मान्यता र अभ्यास एउटै समाजमा सामञ्जस्यतामा बस्न सक्दछन् भन्ने राम्रो उदाहरण दक्षिण एशिया हो ।

दूर्भाग्यको कुरा हो कि यहाँ पनि केही मान्छे ‘धार्मिक-राज्य’ को कुरा गरेर स्थितिलाई भाँड्न खोजिरहेका छन् । ‘धर्मनिरपेक्षता’ उनीहरूका लागि एक राजनीतिक अवधारणा थियो भने हाम्रो आदिम मौलिक संस्कार । यो भिन्नता बुझ्न जरुरी छ ।

स्कोट रिटरले इजरायल र प्यालेस्टानका दु:खलाई ‘पिताका पाप’ भनेका छन् । अर्थात् यहुदीहरूको धार्मिक, सांस्कृतिक, भाषिक तथा नागरिक अधिकारसहित इजरायल-प्यालेस्टाइन एउटै देश हुन सक्थे । ती संघीय ढाँचा र प्रादेशिक स्वायत्तताको प्रारूपमा जान सक्थे । बहुसांस्कृतिकतावादी र बहुभाषिक राज्य हुन सक्थ्यो त्यो । यहुदी, इसाई र इस्लाम एउटै संघीय राज्यमा बस्न सक्थे । तर, इजरायलका संस्थापकले त्यो पाटोबाट सोचेनन् । तसर्थ समस्या अन्त्यहीन भयो । सायद अब यो पाटोबाट पुनर्विचार हुने छैन । किनकि इजरायल जन्मेकै ७५ वर्ष भइसक्यो । इतिहासको कुनै मोडमा यसको समीक्षा भने हुन सक्दछ ।

अहिलेको सामधान भने ‘दुई राज्य सह-अस्तित्व’ नै हो । प्यालेस्टाइन र इजरायल बनिसके । यो प्रक्रियालाई उल्टाउन वा फरक गर्न सजिलो छैन अब । तसर्थ, इजरायल राज्यको घोषणा गर्दा संयुक्त राष्ट्र संघमा अनुमोदित भएको सीमा ‘ग्रिन लाइन’ स्वीकार गर्नु नै अहिलेका लागि उचित समाधान हो । जबसम्म इजरायलले ग्रिन लाइन स्वीकार गर्दैन, तबसम्म प्यालेस्टाइन र हमासलाई मात्र दोष दिएर केही हुँदैन ।

प्यालेस्टाइनमा हमास मात्र हैन, कुनै बेला इजरायलमा पनि इरगुनजस्ता यहुदी अतिवादी संगठन थिए । आजका बेन्जामिन नेतान्याहू त्यसैका पछिल्ला उत्तराधिकारी हुन्।

आजको समस्या यो हो कि हमास इजरायलको अस्तित्व नै नामेट होस भन्ने चाहन्छ भने नेतान्याहू कुनै न कुनै रूपमा निहुँ खोजेर गजापट्टी क्षेत्रमा अरबी इस्लाम जनसंख्या खाली गराएर यहुदी वस्ती विस्तार गर्न र पूरै गाजा इजरायलमा गाभ्न चाहन्छन् । यही उद्देश्यले करिब सन् २००७ यता गाजा क्षेत्रमा बलियो नाकाबन्दीजस्तो अवस्था थियो ।

हमास र नेतान्याहू दुवै अतिवादी हुन् । हमास प्यालेस्टानी अतिवादी, नेतान्याहू यहुदी अतिवादी ।

फरक धारका नेता भने यासिर अराफात र इज्याक रविन थिए जसले सन् १९९० को दशकमा ओस्लो शान्तिवार्ताको प्रक्रियालाई प्रारम्भ मात्र गरेनन्, टुंगोमा समेत पुर्‍याएका थिए । दूर्भाग्यको कुरा हो कि प्यालेस्टाइनतिर हमासले त्यसको चर्को विरोध गर्‍यो, यसिर अराफातको प्यालेस्टाइन मुक्ति मोर्चा कमजोर हुँदै गयो । हमासले सन् २००७ पछि गाजा नै कब्जा गर्‍यो । सन् २००४ मा अराफत बिते । त्यसपछि फतेह सरकार वेस्ट बैंकमा सीमित भयो ।

इत्ज्याक रविनको भने ओस्लो शान्ति सम्झौताको समर्थनमा तेलअभिवमा भएको र्‍यालीकै दिन, प्रधानमन्त्री पदमा रहेकै बेला गोली हानी हत्या गरियो । सन् १९९५ को नोभेम्बर ४ को भाषणमा उनले भनेका थिए–‘मलाई लाग्छ कि हामी शान्ति चाहन्छौं, शान्तिका लागि कसै न कसैले जोखिम उठाउनै पर्छ । म त्यो जोखिम उठाउन तयार छु ।’

नभन्दै शान्ति सम्झौताका लागि उनले जीवनकै जोखिम उठाउन पर्‍यो । त्यही रात ११:१५ बजे स्थानीय अस्पतालमा उनले प्राण त्याग गरे । रविनको हत्या हुनुमा अहिलेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टीको भड्काउपूर्ण जनप्रर्दशन र भाषणलाई जिम्मेवार मानिन्छ । नेतान्याहूले ओस्लो शान्ति सम्झौतामा भएको हस्ताक्षरलाई ‘रविनद्वारा जियोनिज्मको हत्या, रविन कै अन्त्येष्टि’ भनेका थिए । नभन्दै रविनको हत्या भयो ।

हामीले के बुझ्न जरुरी छ भने गजा नियन्त्रण गरेर बसेको हमास जसरी एक अतिवादी प्यालेस्टाइनी समूह हो, त्यसरी नै इजरायलमा अहिले शासन गरिरहेको लिकुड पार्टी र प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि एक चरम दक्षिणपन्थी यहुदीवादी नेता हुन् । उनले केही वर्षयता बारम्बार प्यालेस्टाइनको अस्तित्व नै समाप्त गरिदिने खुल्ला धम्की दिँदै आएका थिए । अझ कतिपयको शंका त के छ भने नेतान्याहू सत्ताबाहिर हुँदा भित्रभित्रै हमासलाई सहयोग गर्थे, ताकी हमास जति उग्र भएर आउँथ्यो, इजरायली राजनीतिमा उनलाई त्यति नै बढी भोटको फाइदा हुन्थ्यो ।

अतिवाद चाहे त्यो इस्लामिक होस् वा यहुदी वा अरु कुनै धर्मको, चरम् दक्षिणपन्थ चाहे त्यो हमासको होस वा नेतान्याहूको वा अरु कसैको, त्यो मानवताका लागि सधै अहिकतर नै हुन्छ भन्ने यो युद्धले पुनर्पुष्टि गरेको छ ।

तसर्थ हामी नेपाली यो युद्धमा पक्ष वा विपक्षमा धेरै बग्नु वा उत्तेजित हुनु हुँदैन । आफ्नो सरोकारलाई सन्तुलित कुटनीतिद्वारा हल गर्नु पर्दछ । हजारौं वर्षमा राम्ररी हल नभएको राजनीतिक समस्या, एक सय वर्षदेखि कुनै न कुनै रूपमा जारी युद्धलाई हामी टाढाका नेपालीको धारणा वा पक्ष, विपक्षताले कुनै फरक पनि पार्दैन।

त्यसको हल खोज्न विश्व समुदायलाई प्रेरित, आग्रह वा आह्वान भने गर्न सकिन्छ । इजरायल-प्यालेस्टाइन तनाव मानव सभ्यताकै सबैभन्दा लामो द्वन्द्व हो । स्वयम् डेबिड बेन गुरियनले यसको जटिलता स्वीकार गरेका थिए, हामी भावनामा बगेर के हुन्छ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved