केपी शर्मा ओली रियल एमाले होइनन् : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

केपी शर्मा ओली रियल एमाले होइनन् : प्रधानमन्त्री प्रचण्ड

धनगढी । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रियल एमाले नभएको टिप्पणी गरेका छन् ।
समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभामा उनले यस्तो बताएका हुन् ।

अहिले एमालेको नेतृत्व जसले गरेको छ उहाँ रियल एमाले नभएको उनले बताए । संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ । युद्धकालीन अवस्था स्मरण गर्दै उनले अहिलेको नेतृत्व तत्कालीन अवस्थामा भएको भए अहिलेको परिवर्तन सम्भव हुन नसक्ने दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले अहिले पनि जनताको उपलब्धि गुम्ने खतरामा रहेकोमा जानकारी दिए । विधान मिचेर संसद् विघटन गर्ने र प्रतिगमनतर्फ लैजाने डरलाग्दो प्रयास भएकै थियो । हामीले नै त्यो षड्यन्त्रलाई परास्त गरेका थियौं अदालतले पनि जनताको कुरा सुनेर संसद् पुनर्स्थापना गरेको उनले बताए ।

सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको पक्षमा ठूलो काम गरेको प्रधानमन्त्री दाहालको जिकिर छ । उनले ललित निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा दोषी कारबाहीको भागीदार भएको बताए । सुन काण्ड ललिता निवास जग्गा प्रकरणपछि अरु फाइल पनि छिट्टै खोल्ने प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् । देशलाई खोक्लो पार्ने शक्तिहरूलाई विस्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी मोर्चा तयार गर्दा केही पार्टीको सातो गएको टिप्पणी गरेका छन् । कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै अध्यक्ष नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङ्ग सृजना भएको र अन्य पार्टीको सातो गएको टिप्पणी गरेका हुन् । उनले वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पारे ।

समाजवादी मोर्चाको सन्देश सभा कैलालीको धनगढीबाट टुङ्गिँदै छ । यसअघि, अन्य ६ प्रदेशमा यो सभा भइसकेको छ । अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भए पनि यस पछि जिल्ला स्तरसम्म यस्तो अभियान सुरु गर्ने जनाए । देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै सरकार यो विषयमा गम्भीर बन्नु पर्नेमा नेपालको जोड थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved