अब कहिल्यै पूरा हुनेछैन आनन्दको त्यो सपना

अब कहिल्यै पूरा हुनेछैन आनन्दको त्यो सपना

जनकपुरधाम । “हम संकल्प करैछी हम अपना जीवन मे एक करोड गाछी रोप्बै और एगो अक्सिजन प्रोडक्सन उद्योग खोल्बै । ओई के नाम रहतै ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन उद्योग । साथे एगो सुविधा सम्पन्न अस्पता खोल्बै और ओई मे कोनो भेदभाव नै होतै ।”

अर्थात “म संकल्प गर्दैछु कि आफ्नो जीवनमा एक करोड वृक्षारोपण गर्छु, गाँउमा एक अक्सिजन उद्योग खोल्छु जसको नाम रहन्छ ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन उद्योग साथै एउटा सुविधा सम्पन्न अस्पताल बनाउछु जस्मा कसैलाई विभेद हुनेछैन ।”

यी वाक्यांशहरु २६ दिनअघि गत भदौ २६ गते धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही का २२ वर्षीय आनन्द साहले टु लर्न टु वर्क भिसामा कृषि तालिमका लागि इजरायल उड्नु अघि आफ्नो फेसबुकमा लेखेको स्टाटस हो ।

उनको यो सपना अब कहिल्यै पुरा हुँदैन । इजरायलमा किबुज अलुमिममा विद्रोही समूहको आक्रमणबाट आनन्द अब कहिल्यै नफर्किने ठाउँमा पुगेका छन् । उनको विद्रोही समूहको आक्रमणमा परेर मृत्यु भएको छ।  मृत्यु संगै उनको सबै सपनाहरु चकनाचुर भएका छन् ।

इजरायलमा मारिएका दश नेपालीमा परेका धनुषा सपहीका आनन्दको अन्त्य पछि उनको परिवारबाट सारा आनन्द हराएको छ । तीन  बहिनी, बुवा , आमा र हजुरआमाको मुटुको टुक्रा घरका जेठा सन्तान आनन्दको मृत्युको खबरले आनन्दको परिवार मात्र हैन सारा गाउँ नै शोकमा डुवेको छ ।

पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन भने आमा शुभकली साहको वाक बन्द भएको छ ।

लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकली रुदा रुदा मुर्छा पर्ने गरेका छन् । ७० वर्षीया हजुरआमा बसमतिया देवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडाले अचेत अवस्थामा छन् ।

घर छेउको सडक छेउमा एक छिमेकीको घरको बरन्डामा आनन्दकी कान्छी बहिनी आरतीलाई स्लाइन पानी सहित राखिएको छ ।

गाउँलेहरुले उनिहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यहरुमा रुवाबासी रोकिएको छैन् । गाउँका सबैजसोको आँखा रसाएको छ । आनन्दको घटना सुनेर सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

बुबा सोमन होशमा आउने बित्तिकै छाती ठोक्दै विलाप गर्छन्, ‘हौ बौवा, आब केना हमर दुखके दिन दुर हेतै हौं । केकरा हम बेटा–बेटा कहबै हौं ।’ (ए बाबु ! अब हाम्रा दुःखका दिन कसरी हट्छ । कसलाई हामीले छोरा भन्ने ?)

इजरायल जानु अघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेकी थिइन् । ‘म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्र्याउँछु । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,’ हजुरआमा–नाति बीचको सम्वाद सुनेका काका मिथिलेशले भने ।

कक्षा पाँच सम्म लक्ष्मीनिया गाउँपालिका स्थित स्थानिय अक्सफोर्ड अंग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधै प्रथम हुन्थे । जनकपुरधामको एन्जल्स स्कुलबाट एलएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले टिकापुरबाट पुर्ण छात्रवृतिमा विएससीएजी पढेका थिए ।

विएससीएजीको पढाई पछि आनन्द पाँच महिनाका लागि ईन्टर्नशिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनको इजरायल जाने निधो भयो । टु लर्न टु वर्क भिसामा उनी इजरायल पुगेका थिए।

घरबाट बिदा हुँदै गर्दा उनले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए । अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्‍याए, ‘पीर नगर्नु आमा, म चाँडै आउँछु ।’

लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रमेश कुमार साहका अनुसार दुई दिनअघि शुक्रवार आनन्दसँग उनका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए । तर त्यो दिन उनको आमा बुवासँग कुरा हुन सकेको थिएन,’ साहले थपे,’शनिवार आमा बुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमा बुबाले शनिवार देखि नै फोन गरे पनि फोन त बजेको छ तर आज आइतबार सम्म पनि फोन उठेन ।’

शनिवार इजरायलमाथि हमासको हमलाको खबर आयो । लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो ।

इजरायलमा हमला भएको दिन शनिवार नै आनन्दका दिदीले फोन गरेकी थिइन् । तर, फोनको घण्टी बजे पनि उठेन । पटक पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो । छटपटि झनै बढ्यो । आइतबार पनि उनको फोनमा रिङ जाने तर फोन उठेन । आइतवार साझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरिन् ।

आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौं नम्बरमा थियो । मृतकको सूचि हेर्ने बित्तिकै परिवारमा रुवाबासी चल्यो । बुवा आमा संगै सारा परिवार अझै अर्धचेत अवस्थामा छन् ।

आनन्दको मृत्युको खबरले उनको परिवारसँगै सिङ्गो मधुवन शोकमा डुबेको छ । चाँडै घर फर्कने बताएका आनन्दको शव कुरेर परिवार बसिरहेको छ । ‘कमाउने बेलाको छोरा बित्यो, हामी शोकमा छौं,’ बुवा सोमन साहले भने, ‘शव उता जति दिन बस्यो त्यति पीडा हुन्छ, राज्यले चाँडै ल्याइदेओस् ।’

निम्न मध्यमवर्गीय परिवारका सदस्य आनन्द कृषि पढ्नका लागि कैलालीको टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय पुगेका थिए ।आनन्दका बुवा सोमनका अनुसार विएससीएजीको पढाई पछि आनन्द पाँच महिनाका लागि ईन्टर्नशिपमा डडेलधुरा गएका थिए । त्यहाँबाट उनको इजरायल जाने निधो भयो । उनले आफुलाई चौरीमा लेमन (कागती) र त्यसका झारपात तोडने काममा लगाइएको बताएका थिए । बस्न प्रति महिना सात सय र कलेजका लागि पाँच हजार ८८ अमेरिकी डलर यहाँ आएपछि माग गर्न थालेको पनि उनले अभिभावकलाई सुनाएका थिए ।

एक्लै छोरा भएकाले अभिभावकले फर्किन आग्रह गरे तर उनले १० महिना हेर्न कमाएर पैसाको जोहो गर्ने र त्यसपछि निर्णय लिने भन्दै अभिभावकलाई सम्झाउदै आएका थिए । शनिवारबाट उनको फोन उठन छोडेपछि परिवारजनको जमिन खस्क्यिो र त्यसपछि आएको समाचारले उनको परिवार क्षतविछत भएको छ ।

आनन्द जस्ता नेपालका होनहार युवाहरुलाई गलत प्रलोभनमा पारेर विदेश पठाइएको र हत्या हुँदा पनि सरकार मौन बसेको भन्दै सपही गाँउवासीले ढल्केवर–जनकपुरधाम राजर्मामा प्रदर्शन तिव्र गरेका छन् । एक सप्ताह भित्र आनन्दको शव र उचित राहत तथा छतिपुर्तीको व्यवस्थापन नभए कडा आन्दोलन गर्ने सोमवार एक घण्टा सडक जाम गरेका युवाहरुले चेतावनी दिए।

हत्याको समाचारहरु आइसकेको भएपनि राज्यका कुनैपनि निकाय आनन्दको घरमा अहिले सम्म सम्पर्क समेत नगरेको र भेटन पनि नआएको भन्दै युवाहरु आक्रोसित छन् । आनन्दका बुवाको अनुसार टिकेटमा ८५ हजार, पासपोर्टमा ३५ हजार, मेडिकलमा १० हजार र किनमेलमा ६० हजार गरि करिव अढाई लाख खर्च गरेर आनन्द त्यहाँ पुगेका थिए ।

आनन्दकी माइली बहिनी पुनिता साहको धनुषाको दिगम्वरपुरमा विवाह भएको छ भने साइली बहिनी सरस्पती साह बिबिए पढि रहेकि छन् । कान्छी बहिनी आरती दाजु जस्तै सपही स्थित सिटिईभिटीमा पूर्ण छात्रवृतिमा भेटनरी पढीरहेकी छिन् ।

पराल र माटोको छार्पोमा बसेर पनि बुवालाई सम्झाएर तिनैजना बहिनीलाई समेत उच्च माविको शिक्षा सम्म पढाइरहेका घरका समझदार अभिभावक आनन्दको देहवसान पछि परिवार आनन्दित रहने कुरै भएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved