लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

नेपालभ्युज

लुम्बिनी केबलकारको टिकटमा ४० प्रतिशत छुट

बुटवल। लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान् चाड दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ । आज असोज २१ गतेदेखि लागू भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको छ । यो अफर अनुसार अब शनिबारबाहेक अन्य दिनहरूको टिकट दर ४ सय ५० रुपैयाँ मात्र कायम भएको छ ।

नेपालीहरूका महान् चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैजूले जानकारी दिए । टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने अपरेसन म्यानेजर सैंजूले जानकारी दिए ।

चाडपर्वमा आम सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफरजस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दू धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ ।

टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जिपलाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन् ।

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई दिनेगरी सम्झौता भएको छ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बाँडफाँड गर्ने गरी सम्झौता भएको छ । टप स्टेसनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनोसहित पाँच तारे होटेल बनाउने तयारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved