विमानस्थलको सेटिङ भत्किएपछि सुन तस्कर उत्तरी नाकातर्फ, १४ किलो सुन बरामद

भेप र ब्रेक सुमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणको किनारा नलाग्दै डेढ महिनायता रसुवाबाट २ किलो र दोलखाबाट १२ किलो सुन बरामद भएको छ ।

नेपालभ्युज

विमानस्थलको सेटिङ भत्किएपछि सुन तस्कर उत्तरी नाकातर्फ, १४ किलो सुन बरामद

काठमाडौं। विद्युतीय चुरोट (भेप), सवारीसाधनका ब्रेक सु, इलेक्ट्रिक सेभरलगायतमा लुकाएर सुन तस्करी गर्दैआएका गिरोह अहिले उत्तरी सीमा नाकाबाट तस्करीमा संलग्न हुन थालेका छन्।

त्रिभुवन विमानस्थल हुँदै तस्करी गरिरहेका उनीहरू अहिले त्यहाँ कडाइ भएपछि फरार रहेका तस्करहरू दोलखा र रसुवा नाकाबाट सुन ल्याउन सक्रिय रहेको देखिएको छ।

आइतबार नजिकैको दोलखाको लामाबगरबाट चार किलो सुन बरामद भएको छ। केही दिनअघि दोलखा र रसुवाबाट पनि सुन बरामद भएको थियो।

विमानस्थलबाट हुने नेटवर्क भत्किएपछि चिनियाँ तस्करले हिउँ पग्लेको मौका छोपेर उत्तरतर्फका विकट नाकालाई छानेको छन्। ती नाकाबाट प्रहरीले १३ किलो सुन बरामद गरिसकेको छ। ३ भदौमा रसुवाको केरुङ नाकाबाट ३ किलो सुन बरामद भएको थियो।

१० असोजमा दोलखाबाट ४ किलो, ११ असोजमा सोही नाकाबाट ३ किलो र १३ असोजमा १ किलो बरामद भएको थियो।

भेप र ब्रेक सुमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणको किनारा नलाग्दै डेढ महिनायता रसुवाबाट २ किलो र दोलखाबाट १२ किलो सुन बरामद भएको छ । पक्राउ परेका केही भरियाले यसअघि पनि पटक–पटक यी नाकाबाट चिनियाँ तस्करले सुन ल्याएको बयान प्रहरीलाई दिएका छन्।

हङकङबाट हवाईमार्ग हुँदै ‘ब्रेक सु’ र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको हो।

त्रिभुवन विमानस्थल हुँदै तस्करीको आरोपमा फरार गिरोहका सदस्य नै दोलखा, रसुवाबाट सुन तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

चीन, हङकङ र दुबईमा रहेका तस्करले विद्युतीयसँगै अन्य उपकरणमा जडान गरेर अवैध सुन ल्याउने गरेको पाइएपछि दुवैमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । भेपमार्फत सुन तस्करी गरेका मुख्य नाइके दावाजिन वाङ हुन्। उनी फरार छन्। ब्रेक सुमार्फत तस्करी गरेका नाइके दावा छिरिङ भने पक्राउ परेका छन्। उनीहरुबीच पटक–पटक सम्पर्क हुने गरेको फेला परेको थियो।

दुवै प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । अनुसन्धान चलिरहँदा पनि फेरि सीमा नाकाबाट सुन बरामद भइरहेको छ।

यसअघि पक्राउ परेका ६१ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन्। उनीहरूले अहिले तस्करी चलाइरहेको हुनसक्ने अनुमान छ।

सीआईबी उच्च स्रोत भन्छ, ‘‘अनुसन्धान जारी रहेकाले टुंगामा नपुगुन्जेल अझै थप तथ्यहरू आउन सक्छ । अहिलेलाई विमानस्थलमा कडाइ भएपछि सीमा नाकाबाट सुन ल्याउन थालेका देखिन्छ। तिनीहरू यसअघिकै तस्करहरू हुन्।’’

अहिले पूर्व सभामुख कृष्णबहादुर महरासहित माओवादी नेताका परिवारसँग निकट सम्बन्ध बनाएका सुन तस्करीका अभियुक्त दावा छिरिङ तथा थप ८ विदेशी हाल थुनामा छन् । तर, यो गिरोहकै १५ जना फरार छन् । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट सुन ल्याउने गरेको पछिल्लो अनुसन्धानले देखाएको सीआइबीका अधिकारीहरू बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved