माओवादीको अभियानबाट सडक मर्मत

नेपालभ्युज

माओवादीको अभियानबाट सडक मर्मत
फाइल तश्वीर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाँडामा नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताले आज श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रममार्फत म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकअन्तर्गत पर्ने रुइनेडाँडामा मर्मत गरेका हुन् ।

वडा कमिटीको आयोजनामा करिब ३५ जना नेता, कार्यकर्ताको टोलीले तीन घण्टा श्रमदान गरेर सडक मर्मत गरेको माओवादी केन्द्रका बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

वडा कमिटीका अध्यक्ष सुरत बोगटीको नेतृत्वमा भएको श्रमदानमा माओवादी म्याग्दीको प्रदेशसभा क्षेत्र (क)का इन्चार्ज विनोद केसी, गण्डकी प्रदेश कमिटी सदस्य तथा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेलगायत नेता, कार्यकर्ता सहभागी भएका थिए ।

रुइनेडाँडामा सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । श्रमदानका क्रममा हिलो हुने ठाउँमा ढुङ्गा बिछ्याउने र ग्रेड मिलाउने गरिएको नगरअध्यक्ष केसीले बताए ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोको समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।

मर्मतपछि ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिरोको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने समस्या हट्ने अपेक्षा गरिएको माओवादीका बेनी नगर सदस्य ओम रोकाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved