खुनी सत्तामा खुँडा राजनीति

खुनी सत्तामा खुँडा राजनीति
राष्ट्रपतिबाट आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा।

‘रिगल आममाफी’ खुनी सत्तामा खुँडा राजनीतिको पछिल्लो एउटा संस्करण थियो र हो पनि । यसअघिका तिथिमितिमा पनि जघन्य अपराधमा चोबल्लिएकाहरूले आममाफी पाए, उनीहरूको पनि कुख्यात गुन्डा रिगलको जस्तै जयजयकार र अबिर जात्रा भयो, धुमधामले। दाङ कारागारमा सवर्श्वसहित जन्मकैदको जेल जीवन बिताइरहेका रिगलको रिहाइसँगै अबिर जात्रा पनि भयो ।

त्यस्तै, यसअघि पनि टीकापुर नरसंहारमा तीनै तहका अदालतले दोषी ठहर गरिएका रेशमलाल चाैधरीको पनि आममाफीसहित अबिरजात्रा गरिएको थियो । जुन राज्यको यस्तो बेधर्म सत्ता लेनदेनसँग अन्तरसम्बन्धित छ । यही अपराधको पछिल्लो कसी मात्रै हो, रिगलको आममाफीको सन्दर्भ । त्यसैको निरन्तरतास्वरूप यश पटकको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट आममाफी पाएका थिए कुख्यात गुन्डा रिगलले।

चारतारे झण्डामुनिका खुँखार गुन्डा

खुँखार गुन्डा नाइके रिगल, त्यस्ता मानिस हुन् । जसले ८ वर्षअघि नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरी बीभत्स हत्या गरेका थिए। कांग्रेसको चारतारे झण्डामुनि बसेर समाजमा अपराधको साम्राज्य चलाएका उनै खुनी खुँखार गुन्डा रिगललाई भने महामहिम राष्ट्रपति रामचन्द्र पाैडेलले आम माफी दिए, त्यो पनि संविधान दिवसजस्तो राष्ट्रिय महत्त्वको पर्वको अवसरमा ।

प्रचण्ड नेतृत्वको सरकारले सिफारिस गरेअनुसार आँखा चिम्म गरेर राष्ट्रपति पाैडेलले आममाफी दिएका हुन्, गुन्डा नाइके योगराज ढकाल, जसले सर्वश्वसहित जन्मकैदको जेल सजाय भोगिरहेको थिए दाङ कारगारमा।यसरी कुख्यात गुन्डालाई आममाफी दिएर प्रचण्डको सत्ताको आयु लम्बियो भने देउवाले कार्यकर्तालाई जेलमुक्त गर्दा विजय उत्सव मनाए ।

तर,चेतन परिवारमा भय र त्रासको आँधि चल्यो,चेतनका आमा बाबू स्तब्ध भए ,लाखौं न्यायप्रेमी जनता सत्ताको यो नांगो र अपराधिक कदमलाई घृणाले स्वागत गरे। राष्ट्रको अभिभावकको कुर्सीमा बसेर अपराधीलाई उन्मुक्ति दिने राष्ट्रपति पाैडेलले जे-जस्तो दुर्नित नियतले यस्तो कार्य गरे, जुन कुराले सबैमा आक्रोशको ज्वाला दन्कियो।

अपराधीलाई उत्सव, पीडितलाई भय र त्रास 

कांग्रेसको चार तारे झण्डा मुनिबाट खुँडा चलाउने गुन्डा रिगलको भव्य जयजयकार गरियो,राज्यसत्ताको सरसल्लाहमा उनको त्यो स्वागत र अबिर जात्राले पीडित परिवार पुनः मुर्छित भयो। यस्ता खबरले धेरैको आङ सिरिङग गर्‍यो ।  मन्त्रीको जस्तै गाडीको लावा लस्करमा गुन्डाको जयजयकार र अबिर जात्राले राज्य सत्ता गुन्डाकै मुठ्ठीमा रहेको धेरैलाई भान भयो ।

ऋतु विचार

राज्यको माथिल्लो तहमा बसेर जानीजानी अपराधीलाई पुरस्कृत गर्ने र पीडितलाई थप मुर्छित बनाउने कुकर्मको निर्णय प्रचण्ड सरकारले गरेको थियोे, सत्ता लेनदेनमा राष्ट्रपति रामचन्द्र पाैडेलले आममाफी दिएर गुण तिरेका थिए।

माैन प्रतिपक्षी एमाले

अपराधीलाई आममाफी दिदा प्रतिपक्ष एमाले माैन रह्यो । आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्न ९ महिना संसद् बन्धक बनाउने एमालेको माैनता निकै रहस्यमय रह्यो । राज्यसत्ताको धुरीमा धेरैपटक पुगेको एमालेले सरकारको त्यो कुकर्मलाई चुपचाप समर्थन गर्‍यो । प्रहरी हवल्दारको हत्या गर्ने लक्ष्मी महतो कोइरीको बचाउमा लागेको एमालेलाई रिगल रिहाइले कहीँ कतै छोएन ।

बरू सत्ताधारीहरूले गरेको यो अपराधको विषयमा चूँ गरेर नबोलेको एमालेले बन्द कोठामा बसेर खुँखार गुन्डालाई स्याबासी दियो। यदि, एमाले नेतृत्वमा इमानदारिता थोरै पनि हुन्थ्यो भने सरकारको यो रवैयाको भण्डाफोर गर्न सक्थ्यो । विडम्बना, तैँ चुप मै चुपमै रहयो एमाले ।

हुन त, खुनी सत्तामा खुँडा राजनीति गरेकाहरूलाई चेतन परिवारको त्यो आँसु र पीडाले किन पो छुन्थ्यो र ? किनकि, एमाले पनि उनै गुन्डाहरूकै पालनपोषण गर्ने दल हो, त्यो कुरा यसअघि न‌ै पुष्टि भइसकेको छ।

रिगल अर्थात् योगराज ढकाल मात्रै त्यस्तो आममाफी पाउने खुँखार गुन्डा नाइके होइनन्, यसअघिका मितिमा पनि प्रचण्ड सरकारले सत्ताका लागि टीकापुर नरसंहारका मुख्य योजनाकार दोषी ठहर भएका रेशमललाल चाैधरीलाई पनि गणतन्त्र दिवसका दिन आम माफीको सिफारिस गरेको थियोे । त्यसलाई पनि यिन‌ै महामहिम राष्ट्रपति पाैडेलले उस्तै गरी आममाफी दिएका थिए ।

यी रिगल भनिने मानिस त पछिल्ला उदाहरण मात्रै हुन् । विगतका इतिहासमा पनि दलको पालनपोषणमा धेरै गुन्डाहरू उदाए र मुठभेडमा सिद्धिए पनि। एकताका गुन्डा राज चलाएका ‘घैंटे’ भनिने कुमार श्रेष्ठ र ‘चरी’ भनिने दिनेश अधिकारी थिए। घैंटेलाई कांग्रेस र चरीलाई एमाले नेताले काँधमा बोक्दै आएका थिए।कपुरधारामा घैंटे मारिदा होस या भीमढुंगामा चरीको सफाय हुँदा होस्, सानेपा र बाल्कोटमा महाभूकम्प गएको थियो । राजनीति संरक्षणकै बीचमा पनि उनीहरू प्रहरी मुठभेडमा मारिएका थिए, उनीहरूको सफायपछि उपत्यका भने धेरै शान्त छ ।

हत्यारालाई उत्सव !

संविधान दिवस एउटा गाैरवमय उत्सव हो।जनताको खुन पसिनाबाट स्थापित गणतन्त्र र त्यसैको गर्भबाट सिर्जित दस्तावेज हो, संविधान । यही संविधान जारी भएको ऐतिहासिक दिनलाई स्मरण गर्न संविधान दिवस मनाइएको हो, कुनै कुख्यात अपराधीलाई आममाफी गर्न होइन । तर, शासकहरूको नियतमै खोट छ, उनीहरूले रिगलजस्ता अपराधीलाई आममाफी दिएर खुनी सत्तामा खुँडाको राजनीति गरे र गर्दै आएका छन् , जुन  आफ्नोपन सेक्रेट जस्तै छ नेपाली राजनीतिमा ।

संविधान दिवसको दिन हत्याराले उत्सव मनाए, जनता र देशले फेरि हारे । सत्ता र शक्तिको आडमा जे-जति बेधर्म गरे यी शकुनीहरूले, त्यो जघन्य अपराध हजार वर्षसम्म पनि क्षम्य भने हुनेछैन । चेतना भया।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved