दाङ । देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहारबाट शनिबार दाङमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार दिउँसो ४२ वर्षीय टेकबहादुर हमालले आफूलाई देउता चढेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेसहित अन्य दुई जनालाई खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहारबाट रीताको घटनास्थलमै ज्यान गएको छ भने स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
टाउकोमा गहिरो चोट लागेकी कमलाकुमारीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको छ । हातमा चोट लागेका वीरबहादुरको भने राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरबाट खुकुरी लिएर निस्किएका उनले देउता चढेको भन्दै बाटोमा भेटिने सबैलाई खुकुरी प्रहार गर्दै हिंडेका थिए ।
Facebook Comment
Comment