आलेख

धर्मनिरपेक्षता के हो ? यो कसरी लोकतन्त्रका लागि अपरिहार्य हुन गयो ?

पहिले मधेसमा मात्रै सीमित देखिएको कुनै एक समुदायलाई लक्षित गरी झुटो तथा अफवाह फैलाउने षड्यन्त्र अब विस्तारै पूरा देशभरि फैलिएको छ । समुदायबीच बढ्दो अविश्वास, शंका, त्रास र भयको वातावरण सामाजिक अमनचयन र लोकतान्त्रिक राजनीतिक व्यवस्थाका अगाडि ठूलो चुनौती बनेको छ ।

धर्मनिरपेक्षता के हो ? यो कसरी लोकतन्त्रका लागि अपरिहार्य हुन गयो ?

धर्म निरपेक्षताका अनेकन परिभाषा छन् । सम्बन्धित देशको आवश्यकता, राजनीतिक व्यवस्था तथा सामाजिक बनोटका आधारमा तिनको निर्माण गरिएको हुन्छ । यद्यपि, जसरी व्याख्या भएता पनि, ती परिभाषाबीच मूलभूत समानता भने हुने गर्दछ । जस्तै, यस मान्यतानुसार राज्यले कुनै एक धर्म वा सम्प्रदायलाई काखा र अर्कोलाई पाखा गर्न मिल्दैन । अनि, धर्म निरपेक्षता लोकतन्त्रको मर्मविपरीत पनि हुन सक्दैन बरू यो त्यसको परिपूरक हुने गर्दछ ।

धर्म निरपेक्षतामा यदि, ती आधारभूत विशेषता भएनन् भने यसले राज्यलाई वास्तविक अर्थमा निरपेक्ष बनाउन सक्दैन बरू सामाजिक विवाद, विभाजन र विग्रहको कारक बन्न सक्दछ ।

वर्ड पपुलेसन रिभ्यूका अनुसार २०२२ सम्म संसारभरि करिब एक सय देश धर्मनिरपेक्ष छन् । यद्यपि, तिनको अभ्यासमा भने विभिन्नता छ । ती बीचको आधारभूत भिन्नतालाई देखाउँदै चार्स टेलरले २००७ मा प्रकाशित ‘अ सेकुलर एज’ नामक पुस्तकमा धर्म निरपेक्षतालाई तीन भागमा वर्गीकरण गरेका छन् ।

पहिलो, चीन तथा डेनमार्कको जस्तो मोडल धर्म निरपेक्षता । जहाँ बहुसंख्यक जनता धर्म मान्दैनन् । यद्यपि, त्यहाँका जनता राज्यको सहयोगविना आफैँ ‘नास्तिक’ भएका भने होइनन् । ती देशले आफ्ना नागरिकलाई धर्मबाट ‘बाहिर निकाल्न’ आ-आफ्नै खाले सक्रिय प्रयास गरेका थिए र गरिरहेका छन् ।

दोश्रो, फ्रान्सको जस्तो धर्म निरपेक्षता, जसले राज्यका नीतिहरूमा धर्मको प्रभाव होइन व्यक्तिको विचार होस् भन्ने चाहन्छ । त्यहाँ राजनीतिक दलका नेताले सार्वजनिक ठाउँमा धार्मिक ग्रन्थ उद्धृत गर्न पाउँदैनन् । सार्वजनिक संस्था तथा स्थलमा धार्मिक भनाइ वा संकेतको प्रयोग गर्न पाइँदैन । बुर्कालाई पनि धार्मिक संकेत मान्ने र अनि आतकंवादसँग जोडेर व्याख्या गर्दा फ्रान्सको धर्म निरपेक्षता बेला-बेला विवादमा आउने गरेको छ । यो व्यक्तिको सांस्कृतिक अधिकारलाई कुण्ठित गर्‍यो भनेर आलोचित हुने गरेको छ ।

तेश्रो, भारतको जस्तो धर्म निरपेक्षता । भारतीय राज्यले सबै धर्मलाई समानरूपमा लिन्छ र त्यहाँ राज्य सञ्चालक सार्वजनिक रूपमा नै धार्मिक कर्ममा सहभागी हुन सक्दछन् । भारतमा सबैका लागि सबै स्थानमा आफ्नो धार्मिक अभ्यास गर्न खुला छ ।

नेपालको सन्दर्भमा धर्म निरपेक्षता डेनमार्क, फ्रान्स तथा भारतको भन्दा केही फरक देखिन्छ । नेपालको संविधानले बहुसंख्यक हिन्दूले पवित्र मानेर पूजा गर्ने गाईलाई राष्ट्रिय जनावर मान्दछ । साथै, यसले सनातन संस्कृतिको संरक्षण गर्ने काम राज्यको हो पनि भन्छ । नेपाललाई सही अर्थमा धर्म निरपेक्ष बनाउनका लागि संविधानमा राखिएका यस्ता सापेक्ष प्रावधान हटाउनु वा पर्याप्त बहस गरी परिभाषित गरिनु आवश्यक देखिन्छ ।

नेपालमा धर्म निरपेक्षता विवादमा आउनुको अर्को कारण धर्मान्तरण पनि हो । वास्तवमा धर्म निरपेक्षता भनेको मन लागेर पनि धर्म परिवर्तन गर्न नपाइने भन्ने होइन । यद्यपि, धार्मिक आस्थाको विषय यो राम्रो र त्यो नराम्रो भन्ने हुँदैन । धर्ममा रहेका नैतिकताको सार एउटै हुने हुँदा परिवर्तन गर्नुको वास्तविक अर्थ छैन । तर, राज्यले आफ्नो खुसीमा धर्म परिवर्तन गर्नेलाई रोक्न सक्दैन गराउनेलाई मात्रै यसो गर्न सक्दछ । त्यसका लागि नेपालको संविधानले राज्यलाई आवश्यक अधिकार दिएको छ । राज्यले ऐन, नियम र अदालतको बहसमार्फत यसको व्याख्या र प्रयोग गर्न सक्दछ ।

भारतीय धर्म निरपेक्षता, बढ्दो असहिष्णुता र नेपाल

बहुसांस्कृतिक सामाजिक बनोट र धर्म मान्ने मानिसको बाहुल्यता भएको देश भारतको परिप्रेक्ष्यमा त्यहाँको धर्म निरपेक्षतालाई लोकतान्त्रिक र उदार मान्ने गरिन्छ । यसले सबै समुदायको सांस्कृतिक अधिकारलाई सम्मान गर्दछ भने राज्यले उनीहरूको ‘सप्तरंगी’ अस्तित्वमा आफ्नो पहिचान पाउँछ । भारतीय संविधान लचक र समावेशी भएका कारण नै बेलायती उपनिवेशबाट मुक्त भए पछि आजसम्म यसले सहिष्णुताको उदाहरण प्रस्तुत गर्न सकेको हो भन्दा अतिसयुक्ति नहोला ।

यद्यपि, पछिल्ला वर्ष सापेक्षतावादको उदयसँगै भारतको धर्म निरपेक्षता विवादमा आउन थालेको छ । पछिल्लो दशकमा धर्म निरपेक्षता विरोधी काम राज्य सञ्चालकहरूकै संलग्नतामा हुने गरेका देखिएका छन् । ‘सर्व–धर्म समानत्व’मा आधारिक भारतीय धर्म निरपेक्षतालाई ‘हिन्दू महान्’ भन्ने भाष्य निर्माण गरी कमजोर बनाउने प्रयास भएको भन्दै विरोधमा आवाज सुनिन थालेका छन् ।

भारतमा धर्म निरपेक्षताको महत्त्व दर्शाउने अनेकन प्रयास भएका थिए । यसको नेतृत्व भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले गरे । उनी आफूलाई संशयवादी हुँ भन्ने गर्दथे । त्यसको मतलब हो उनी ईश्वरको अस्तित्व बारे शंका वा प्रश्न गर्दथे । यस अर्थमा उनलाई अनिश्वरवादी पनि भन्ने गरिन्छ । भारतको संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका बी.आर. अम्बेड्कर पनि निरपेक्षतावादी थिए ।

यद्यपि, भारतीय धर्मनिरपेक्ष अनिश्वरवादी नभएर माथि उल्लेख गरिएजस्तै गान्धीको सर्वधर्म समानत्वको आदर्शअनुरूप बनेको थियो । उक्त विचारको विरोधमा हिन्दुत्ववादीको एउटा तप्का उपनिवेशिक कालदेखि नै राजनीतिमा सक्रिय थियो । जुन आज संसदमा बलियो बहुमतका साथ उपस्थिति हुन पुगेको छ । अहिले त्यहाँको धर्म निरपेक्षता खतरामा पुर्नको प्रमुख कारण त्यही तप्का शक्तिशाली हुनु हो ।

भारतमा फाँसीवादका प्रशंसक सावरकर तथा गान्धीका हत्यारा गोड्सेको महिमा मण्डन गर्ने काम सामान्य हुँदै गएको छ । जिम्मेवार व्यक्तिले सार्वजनिक मञ्चको प्रयोग हिंसा भड्काउन गरेका अनेकन उदाहरण छन् । सत्तारूढ दल अर्थात् भाजपाका एक सांसदले गान्धीको पुतला बनाएर त्यसलाई गोली हानेर गर्वका साथ प्रदर्शन गरेको पनि देखियो । ती गैरकानुनी तथा आपराधिक काम गर्नेलाई राज्यले संरक्षण गरेको हुनाले अहिले भारतीय धर्म निरपेक्षता तथा लोकतन्त्रमाथि नै प्रश्न उठ्ने स्थिति बनेको छ । उक्त परिस्थिति नेपालका लागिसमेत चुनौतीको विषय हो ।

दुई देशबीच लामो खुला सिमाना, सांस्कृतिक तथा राजनीतिक सम्बन्ध छ । सत्ताको चाटुकारिता गर्दै घृणा फैलाउने भारतीय टिभी च्यानलको प्रभावमा नेपाली समाज पनि परेको छ । भारतीय सत्ताले आफ्नो चुनावी फाइदाका लागि विदेश नीतिलाई समेत दाउमा हाल्ने अवस्था बन्दा नेपाल झनै दबाबमा परेको देखिन्छ । यस्तो अवस्थामा छिमेकमा देखिएको उक्त अनुदार तथा हिन्दू सर्वोच्चतावादी राजनीतिको प्रभाव नेपालमा पनि देखिन थालेको हो ।

केही हप्ता अगाडि धरानमा गाईलाई विवादको विषय बनाउँदै जाँदा ठूलो साम्प्रदायिक हिंसाको स्थिति उत्पन्न भयो । अघिल्लो महिना कृष्ण जन्माष्ठमीको दिन इनरुवा त्यस्तै हिंसाको सन्निकट पुग्यो । अहिले पनि नेपालगञ्ज, जनकपुर तथा विरगञ्जजस्ता क्षेत्रमा हिंसाको माहोल बनाउने प्रयास भइरहेको छ ।

पहिले मधेसमा मात्रै सीमित देखिएको कुनै एक समुदायलाई लक्षित गरी झुटो तथा अफवाह फैलाउने षड्यन्त्र अब विस्तारै पूरा देशभरि फैलिएको छ । समुदायबीच बढ्दो अविश्वास, शंका, त्रास र भयको वातावरण सामाजिक अमनचयन र लोकतान्त्रिक राजनीतिक व्यवस्थाका अगाडि ठूलो चुनौती बनेको छ ।

धर्म र धर्म निरपेक्षता

यहाँ बुझ्न के जरुरी छ भने निरपेक्षताको सन्दर्भमा धर्म भनेको साम्प्रदायिकता हो । हिन्दू, मुस्लिम, इसाईजस्ता देखावटी विभाजन र त्यसैका आधारमा हामी फरक वा उत्कृष्ठ भन्ठान्ने मानसिकता साम्प्रदायिक हो । राष्ट्रलाई साम्प्रदायिकताका आधारमा निर्माण गरियो भने समाजमा विभाजन आउनु स्वाभाविक हुन जान्छ । उक्त अवस्थामा राज्यले अर्को पक्षलाई अन्याय गुर्नका साथै लोकतन्त्रको बर्खिलाप जाने परिस्थिति उत्पन्न हुन्छ । त्यसो नगर्नका लागि लोकतान्त्रिक राज्यले धर्म निरपेक्षताको अवधारणालाई अनुसरण गर्नु अपरिहार्य हुन गएको हो ।

धर्म निरपेक्षताको आफ्नै इतिहास छ । यस अवधारणा राजनीतिमा आउनुलाई युरोपी प्रबुद्ध आन्दोलनको एक महत्त्वपूर्ण उपलब्धी मान्न सकिन्छ । राज्यले धर्मको आधारमा शासन गर्ने होइन वैज्ञानिकता र तर्कको आधारमा गर्नुपर्दछ भन्ने मान्यतालाई उक्त आन्दोलनले स्थापित गरेको थियो । उ बेला राज्यमा आस्थाको प्रभाव नहोस्, साम्प्रदायिकता नमिसियोस्, यसको सञ्चालन न्याय र मानवताको आधारमा होस् भन्ने स्थापित हुनु आफैँमा ठूलो उपलब्धि थियो ।

यस सन्दर्भमा सआदत हसन मंटोको एक भनाइलाई यहाँ स्मरण गर्नु उपयुक्त होला । उनले भनेका छन्, ‘मजहब जब दिलों से निकलकर दिमाग पर चढ जाए तो जहर बन जाता है ।’ अर्थात्, जब आस्था मनबाट मस्तिष्कमा पुग्दछ त्यो विषमा परिणत हुन्छ । यो शक्तिशाली भनाइले के जनाउँछ भने चेतना वा मस्तिष्कबाट चल्ने राजनीतिमा धर्म मिसिन गयो भने त्यो दुष्कर बन्दछ । त्यसकारण पनि राजनीतिबाट धर्मलाई र धर्मबाट राजनीतिलाई अलग गरिनु आवश्यक भएको हो वा धर्मनिपेक्षताको जरुरी परेको हो ।

अवश्य पनि राजनीति अध्यात्म तथा धार्मिक आदर्शबाट मुक्त हुन सक्दैन । र, त्यो हुनु आवश्यक पनि छैन । वास्तवमा धर्मको मर्मअनुसार राजनीति चल्न सके देश ‘रामराज्य’ बन्दथ्यो । उदाहरणका लागि गीता र बाइबलको ‘शर्मन अन् दी माउन्ट’को सन्देशलाई हेरौं । गीताको प्रमुख सन्देश अहिंसा हो । यसले भन्छ, ‘अहिंसा परमोधर्मः, अहिंसा परमो धर्मस्तथाहिंसा परं तपः, अहिंसा परमं सत्यं यतो धर्मः प्रवर्तते ।’ अर्थात् अहिंसा सबैभन्दा ठूलो धर्म हो । अहिंसा सबैभन्दा ठूलो तपस्या हो । अहिंसा सर्वश्रेष्ठ सत्य हो । किनकि, अहिंसाबाट नै धर्म चल्दछ ।

कतिपय सन्दर्भमा गीताको गलत व्याख्या पनि हुने गरेको छ । महाभारतको युद्धलाई देखाएर युद्ध वा हिंसा वर्जित छैन भन्ने पनि गरिएको छ । वास्तवमा गीताले महाभारतको युद्धमार्फत दिएको प्रमुख सन्देश के हो भने हिंसाको विरुद्धमा हिंसाको प्रयोगले सर्वनासतर्फ लैजान्छ । उद्देश्य पवित्र छ भन्दै गर्दा पनि हिंसाको प्रयोग अनुपयुक्त हुन्छ । वास्तवमा यो धर्म निरपेक्षतावादीका साथै यसका विरोधीले पनि मनन गर्नुपर्ने कुरा हो ।

अठार दिनसम्म चलेको महाभारतको उक्त युद्धको अन्त्यमा एघारजना मात्र जीवित रहन सके । युद्ध जितेका पाण्डव पनि खुसी हुन सकेनन् । यस कथाको मूल मर्म के हो भने अहिंसाभन्दा ठूलो केही छैन । कृष्णजस्ता भगवानले पनि हिंसाको प्रयोगलाई जायज ठहर्‍याउन सकेनन् । अथवा हिंसाको प्रयोगबाट सत्यको स्थापना गर्न सकेनन् । यसले के देखाउँछ भने अहिंसाभन्दा ठूला ईश्वर पनि हुन सक्दैनन् । त्यसैकारण हुन सक्छ गान्धीले अहिंसा नै सत्य हो र सत्य नै ईश्वर हो भनेका छन् ।

बाइबलमा आधारित ‘शर्मन अन द माउन्ट’ को कथाले पनि धर्म निरपेक्षतावादी वा विरोधी दुवै पक्षले सिक्नुपर्ने अहिंसाको यस्तै गहिरो पाठ पढाएको छ । प्रभु यशुले आफ्ना शिष्यलाई शत्रुलाई पनि प्रेम गर्नुपर्दछ भन्दछन् । उनको आग्रह छ, यदि कसैले एक गालामा हान्छ भन्ने अर्को गाला थाप्नुपर्दछ ।

साम्प्रदायिकता तथा सर्वोच्चतावादी अहंकारका आधारमा सत्ताको राजनीति गर्नु ती नैतिकताको उल्लंघन हो । वास्तवमा धर्महरूको व्यावहारिक सन्देश सबैप्रति समान अथवा धर्मनिरपेक्ष व्यावहार गर्नु हो । धर्म निरपेक्षताले उक्त आदर्शलाई भुल्न सक्दैन भने लोकतन्त्रिक संस्कारले धर्म निरपेक्षतालाई त्याग्न सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved