आलेख

के लोकतन्त्रको पनि विकल्प हुन्छ ?

हामीले चाहेको लोकतन्त्र राजनीतिक लोकतन्त्र मात्र होइन आर्थिक र सामाजिक लोकतन्त्र पनि हो । अर्थात्, जीवनपद्धतिमा लोकतन्त्र । मूल्य मान्यता, संस्कार र संस्कृतिमा लोकतन्त्र । यही नै हो आजको लोकतन्त्र । परम्परागत र सीमित लोकतन्त्रको विकल्प ।

के लोकतन्त्रको पनि विकल्प हुन्छ ?

भाद्र तेश्रो हप्ता (१७–२५ गते) नारायणी पश्चिमका अनेक शहरहरूमा हामीले वैकल्पिक राजनीतिमाथि अर्को सम्वादयात्रा गर्‍यौं । हामी अर्थात्, मुमाराम खनाल, डम्बर खतिवडा, प्रशान्त सिंह, सुरेन्द्र चौधरी, अशोक श्रेष्ठ र केशव दाहाल ।

परासी बर्दघाटबाट सुरु भएको हाम्रो सम्वाद बुटवल, तौलिहवा, लमही, नेपालगञ्ज, गुलरिया, टिकापुर, लम्की, अत्तरिया हुँदै धनगढीमा पुगेर सकियो । हाम्रो सम्वादका मुख्य विषय थिए, सुसंस्कृत राजनीति, लोकतन्त्र र अग्रगमन । राष्ट्रको सबलीकरण र राज्यको चारित्रिक रूपान्तरण । समावेशीकरण, सुशासन र स्वाभिमान । समृद्धि र सामाजिक न्याय । नागरिकका बीचमा बलियो एकता र भातृत्व अभिवृद्धि ।

सम्वादको क्रममा जब छलफल लोकतन्त्रमाथि केन्द्रित हुन्थ्यो प्रायश: एउटा प्रश्न सबै ठाउँमा सुनिन्थ्यो, के लोकतन्त्रको पनि विकल्प हुन्छ ? हाम्रो जवाफ हुन्थ्यो– अवश्य हुन्छ । ‘लोकतन्त्र’को विकल्प हुन्छ ‘अझ धेरै लोकतन्त्र’ । यसको अर्थ के हो ? आजलाई यसै प्रश्नमाथि केही छलफल गरौं ।

पहिलो पुस्ताको लोकतन्त्र

लोकतन्त्रको इतिहास सुरु हुन्छ प्राचीन ग्रिसबाट । अर्थात्, कथा सुरु हुन्छ ईसापूर्व १२औंदेखि आठौं शताब्दितिरबाट । यो त्यतिबेलाको कुरा हो, जतिबेला ग्रिस कृषि युगमा थियो । कृषिमा आधारित उत्पादन सम्बन्धले सम्पूर्ण ग्रिस र एथेन्समा समाजिक हैसियत निर्धारण गर्दथ्यो । ग्रिक समाजमा सबैभन्दा माथि थिए जमिन्दारहरू । त्यसपछि आउँथे मोही किसान र त्यसपछि दास । जमिनका मालिकलाई ‘नोबल’ भनिन्थ्यो । र, नोबलहरू नै राज्यशक्ति, श्रोत र साधनका असली मालिक थिए ।

ईसापूर्वको लगभग आठौं शताब्दीपछि ग्रिसमा धातुको उत्खनन् सुरु भयो । धातुको उत्खननले त्यहाँ नयाँ वर्गलाई जन्म दियो । त्यो थियो धातुको व्यापार गर्ने वर्ग । विस्तारै ऊ श्रोतसम्पन्न हुँदै गयो । र, उसले नोबलसँग सत्ता साझेदारीका लागि संघर्ष सुरु गर्‍यो । संघर्ष तीव्र हुँदै जाँदा संघर्षकै बीचबाट ‘क्लेइसथेनेस’ नामको नयाँ नायक जन्मियो । उसले एथेन्सको सत्ता आफ्नो हातमा लियो र नयाँ शासकीय पद्धति सुरुवात गर्‍यो।

भनिन्छ, क्लेइसथेनेसले सुरु गरेको त्यही शासकीय पद्धति नै लोकतन्त्रको पहिलो पुस्ता वा प्रारम्भ थियो । कुनै पनि सार्वजनिक विषयमा निर्णय गर्नुपर्दा उ नगरका अगुवासँग छलफल गर्थ्यो । कहिलेकाँही नगरका मुख्य चोकमा नागरिक जम्मा हुन्थे र आफ्ना कुरा सीधा नगरपतिलाई सुनाउथे । नगर व्यवस्था, हाटबजार, खेती किसानी, कुलो पैनी, खर्क चरनको प्रबन्ध, माल सामानको सट्टापट्टालगायत सार्वजनिक सरोकारका विषयमा उनीहरूको निर्णय गर्ने विधि थियो– प्रत्यक्ष छलफल । यस्तो व्यवस्थालाई उनीहरूले भने ‘डेमोक्रेटिया’ ।

ईसापूर्व पाचौं शताब्दीतिर ग्रिकहरूले जस्तै रोमनहरूले पनि सामूहिक निर्णय गर्ने अभ्यास सुरु गरे । गणका प्रतिनिधि बसेर निर्णय गर्ने यस्तो प्रचलनलाई उनीहरूले भने ‘रिपब्लिका’ ।

कुनै समय पश्चिम एसियाली देशहरू सिरिया, इरान र इराकमा पनि यस्तै शासकीय अभ्यास प्रचलनमा थियो । दक्षिण एसियामा मिथिला गणतन्त्रको समृद्ध इतिहास छ । भनिन्छ, मिथिला गणतन्त्रमा जनकको निर्वाचन हुन्थ्यो । जनक भनेको कुनै एउटा व्यक्ति थिएन, बरु यो थियो मिथिला गणतन्त्रको निर्वाचित सर्वोच्च पद ।

भारतवर्षमा बज्जी महाजनपद यसको अर्को उदाहरण हो । जहाँ आठवटा कुलहरू लिच्छवि, विदेह, शाक्य, मल्ल, कोलिय, मोरिय, बुली र भग्गको सम्मेलनबाट राजाको निर्वाचन गरिन्थ्यो । यद्यपि, यी सबै लोकतन्त्रका प्रारम्भिक अभ्यास थिए । जसलाई प्रत्यक्ष लोकतन्त्र वा पहिलो पुस्ताको लोकतन्त्र भन्न सकिन्छ ।

तर, मेसेडोनियामा अलेक्जेन्डर महानको उदयसँगै ग्रिक लोकतन्त्रको अन्त्य भयो । अलेक्जेन्डले सबै ग्रिस नगरराज्यमाथि विजय हासिल गरे । उनको साम्राज्य विस्तार हुँदै गयो । उनी विस्तारै चक्रवर्ती सम्राट हुँदै गए । त्यसपछि ग्रिस, रोमन हुँदै अन्यत्र पनि शासनसत्तामा आममान्छेको सहभागिता र स्वामित्व खोसियो । त्यसपछि संसारभर व्यक्तिको शासन वा वंशवाद (मोनार्की) सुरु भयो । यसरी अध्यारो युग (डार्क ईरा) प्रारम्भ भयो । भनिन्छ, त्यो युग २३ सय वर्षसम्म चल्यो ।

दोश्रो पुस्ताको लोकतन्त्र

अध्यारो युगका २३ सय वर्षमा संसारभर बडेबडे सामन्त, महासामन्त, राजा, सम्राटहरूले शासन गरे । वंशवाद संसारभर चल्यो । र, १७औं शताब्दिबाट लोकतन्त्र पुनर्स्थापनाको नयाँ युग सुरु भयो । तर, यो प्राचीन लोकतन्त्रझैं साधारण र प्रत्यक्ष लोकतन्त्रको युग थिएन । यो थियो औपचारिक र प्रतिनिधिमूलक लोकतन्त्रको महायुग । जसलाई हामी दोश्रो पुस्ताको लोकतन्त्र भन्न सक्छौं ।

दोश्रो पुस्ताको लोकतन्त्रका लागि तीन ठूला क्रान्तिहरूले योगदान गरे । बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रता संग्राम । यी सबै क्रान्तिहरूले शासनसत्तामा नागरिकको स्वामित्व स्थापनाका लागि ऐतिहासिक योगदान गरे ।

बेलायती क्रान्तिले संसदीय प्रणाली स्थापित गर्‍यो । अमेरिकी स्वतन्त्रता संग्रामले संघियता सहितको राष्ट्रपतीय प्रणालीलाई अवलम्बन गर्‍यो । फ्रान्सेली क्रान्तिले मिश्रित प्रणालीलाई स्थापित गरिदियो । निश्चय नै यी फरक शासकीय प्रणालिहरू थिए । तर, लोकतन्त्रको आँखाबाट हेर्दा यी सबै ‘प्रतिनिधिमूलक लोकतन्त्र’ का भिन्न शासकीय अभ्याशहरू थिए । यिनीहरूमा धेरै समानता थियो । जसमध्ये एउटा मुख्य समानता थियो, निर्वाचनका माध्यमबाट जनप्रतिनिधिहरूको छनोट ।

यसरी संसारभर दोश्रो पुस्ताको लोकतन्त्र सुरु भयो । जसका लागि निर्वाचनको व्यवस्था भयो । राजनीतिक दलहरू खुले । मताधिकार खुकुलो हुँदै गयो । सार्वभौम जनताले आवधिक निर्वाचनमार्फत् प्रतिनिधि छान्ने र प्रतिनिधिहरूले शासन गर्ने क्रम सुरु भयो । जो मुख्यतः नागरिकले आफ्नो सार्वभौमअधिकार जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने प्रतिनिधिमूलक लोकतन्त्रको युग थियो ।
तर, विस्तारै जनप्रतिनिधिहरू भ्रष्ट र अराजक बन्न थाले । विशेषतः निर्वाचित प्रतिनिधिहरूको जनतासँग प्रेम र निष्ठा रहेन । उनीहरूले मतदाताबाट प्राप्त सार्वभौम अधिकार र शक्तिको दुरुपयोग गर्न थाले । लोकतान्त्रिक सत्ता, बिचौलिया सत्तामा रूपान्तरिक भयो । परिणाम, भ्रष्टाचार बढ्यो ।

विस्तारै यस्तो भयो कि प्रतिनिधिमूलक लोकतन्त्रले राजनीतिक सम्भ्रान्तवर्ग, बिचौलिया र आसेपासेहरूलाई मात्र प्राथमिकता दियो । जसमा मुख्यतः औद्योगिक क्रान्तिले हुर्काएको परम्परागत पुजीवादी (दलाल पुँजीवादी) समूह, नाफाखोर वर्ग र पारिवारिक वा राजनीतिक सम्भ्रान्तहरूको मिलेमतो देखापर्‍यो। नागरिकको सार्वभौमसत्ता संकुचित भयो । अर्थात्, प्रतिनिधिमूलक लोकतन्त्र भोट पाउनेहरूको लोकतन्त्र बन्यो । यसले सामाजिक न्यायलाई कुण्ठित गर्‍यो । यो भोट हाल्नेहरूको लोकतन्त्र बन्न सकेन ।

तेश्रो पुस्ताको लोकतन्त्र

प्रतिनिधिमूलक लोकतन्त्रका दोषहरूको जगबाट संसारभर अर्काे विद्रोह उठ्यो । मुख्यतः मार्क्सवादी कम्युनिस्टहरूले त्यो विद्रोह–क्रान्तिको नेतृत्व गरे । उनीहरूले भने– संसारका शोषित वर्ग, मजदुर, किसानहरू जाग र समाजवाद निर्माणका लागि एकताबद्ध होऊँ ।

विस्तारै दोश्रो पुस्ताको लोकतन्त्र (पुँजीवादका) किल्लाहरू ढल्न थाले ।

लेनिनको नेतृत्वमा रुसमा सर्वाहारा क्रान्ति सम्पन्न भयो । बेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता संग्रमपछिको चर्चित क्रान्ति बन्न पुग्यो– रुसको अक्टोबर क्रान्ति । जसले पूर्वी युरोप, चीन, रुसलगायत देशहरूमा सर्वाहारा आन्दोलन, सर्वाहारा सत्ता र समाजवादलाई बढावा दियो । यो मुख्यतः प्रतिनिधिमूलक लोकतन्त्र भन्दा भिन्न लोकतन्त्र थियो । सर्वाहारा (समाजवादी) लोकतन्त्र । जसलाई हामी तेश्रो पुस्ताको लोकतन्त्र भन्न सक्छौं ।

तर, कालान्तरमा यो व्यवस्थाले पनि काम गरेन । वर्गका नाममा, पार्टीका नाममा, नेताका नाममा असीमित शक्ति आर्जन गर्नु यो लोकतन्त्रको मुख्य कमजोरी बन्यो । यो लोकतन्त्र स्वयं सर्वाहारा अराजकता र कम्युनिस्ट तानाशाहीमा फस्यो । यसले व्यक्तिको सार्वभौमिकतालाई साँचो अर्थमा प्रवर्द्धन गर्न सकेन ।

मार्क्सको विद्यालयबाट दुई प्रकारका चेलाहरू निस्कए । लेनिन, स्टालिन, माओ, किम इल सुंग र फिडेल क्यास्त्रोजस्ता प्रतिनिधिमूलक लोकतन्त्रलाई पूरै अस्वीकार गर्ने कम्युनिस्टहरू । अर्काे धारमा एडवर्ड बर्नस्टिन, कार्ल काउत्स्की र रोजा लक्जेम्बर्ग जस्ता जनमतका पक्षधरहरू ।

लेनिनहरूले सर्वहारा अधिनायकत्व स्थापना गरिरहँदा रोजाहरूले मानवतावादमा जोड दिए । एउटा धार सर्वहारावादी थियो अर्काे सामाजिक जनवादी । यिनै बहसहरूको प्रभावमा लोकतन्त्र र सामाजिक न्याय सहितको लोककल्याणकारी राज्यको बाटोमा केही देश लागे । जो न कम्युनिस्ट थिए, न समाजवादी । जसमा थिए, स्विट्जरल्यान्ड, डेनमार्क, नर्वे, स्विडेन आदि । भारत र नेपालमा डा. राममनोहर लोहिया, जयप्रकाश नारायण र बीपी कोइरालाले पनि सामाजिक लोकतन्त्रको बाटोलाई विस्तारित गर्ने प्रयास गरे ।

सन् १९९० पछि लेनिनवादी सत्ताहरूको असफलताबाट प्रभावित हुँदै नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । कांग्रेस संसदीय लोकतन्त्रको पक्षमा थियो नै, विस्तारै नेपाली कम्युनिस्टहरू (एमाले) समेत यो धारमा आईपुग्यो । समय क्रममा माओवादीहरू पनि यही धारमा आएपछि, संसदवाद नेपाली लोकतन्त्रको मूल प्रवाह बन्यो । जो मुख्यतः दोश्रो पुस्ताकै लोकतन्त्रको सम्पादित रूप थियो । जसका कमजोरीहरू हामी सबैले अनुभूत गरेकै छौं ।

यसरी, नेपालमा र संसारभर नै लोकतन्त्रको दोश्रो र तेश्रो पुस्ताले पनि हाम्रो सभ्यतालाई मानवीय, न्यायपूर्ण र समुन्नत बनाउन सकेन । नयाँ, उन्नत, सहभागितामूलक र परिणाममुखी लोकतन्त्रको आवश्यकता अझ स्पष्ट हुँदै गयो ।

रंगीबिरंगी लोकतन्त्र

नेपालमा लोकतन्त्र वा ‘डेमोक्रेसी’ लाई बुझ्ने आ–आफ्नै ‘स्कुल अफ थट’ छन् । जसलाई प्रजातन्त्र, लोकतन्त्र, जनवाद र जनतन्त्रजस्ता शब्दबाट अभिव्यक्त गरिन्छ । नेपालमा प्रजातन्त्र भन्नाले संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थालाई बुझिन्छ । लोकतन्त्र भनेको विशेषतः राजा बिनाको संसदीय व्यवस्थालाई बुझिन्छ । यसैगरी, नेपालका कम्युनिस्टहरू लोकतन्त्रलाई जनवाद शब्दबाट अभिव्यक्त गर्दछन् ।

यसको अर्थ के भने, शब्द अर्थमा लोकतन्त्र एउटै भए पनि राजनीतिक अर्थमा यो ठाउँ, परिवेश र सन्दर्भले नितान्त भिन्न शब्द हो । त्यसैले, लोकतन्त्रलाई शब्दार्थ र राजनीतिक अर्थमा भिन्न गरी बुझ्नुपर्ने हुन्छ ।

जस्तो नेपालमै पनि कम्युनिस्टहरूले भन्ने लोकतन्त्र एउटा हो, कांग्रेसले भन्ने एउटा । अमेरिकाले भन्ने लोकतन्त्र एउटा हो, चीनले भन्ने अर्काे । शब्द एउटै भए पनि लोकतन्त्रलाई राजनीतिक दर्शन, आन्दोलनको पृष्ठभूमि र देशको विशिष्टताले एक अर्काेसँग अलग बनाउँछ ।

प्रश्न स्वाभाविक हुन्छ, त्यसोभए लोकतन्त्रको विकल्प के हो ? पहिलो पुस्ताको लोकतन्त्रको विकल्प थियो, दोश्रो पुस्ताको लोकतन्त्र । दोश्रो पुस्ताको लोकतन्त्रको विकल्प थियो, तेश्रो पुस्ताको लोकतन्त्र । कम्युनिस्टहरूले भनेझैं पुँजीवादी लोकतन्त्रको विकल्प थियो समाजवादी लोकतन्त्र । पुँजीवादीहरूले भन्ने गरेझैं, समाजवादी लोकतन्त्रको विकल्प थियो पुँजीवादी लोकतन्त्र ।

यहाँनेर प्रश्नलाई जोडौं । अर्थात्, वैकल्पिक राजनीतिको बहसमा भन्ने गरिएको लोकतन्त्रको विकल्पचाहिँ के हो ? त्यो हो अझ गहिरो लोकतन्त्र हो । अर्थात्, प्रतिनिधिमूलक र औपचारिक लोकतन्त्रको विकल्पमा प्रत्यक्ष, सहभागितामूलक र समावेशी लोकतन्त्र । परम्परागत लोकतन्त्रको विकल्पमा आजको युगको लोकतन्त्र । दोश्रो वा तेश्रो पुस्ताको लोकतन्त्रको विकल्पमा चौथो पुस्ताको लोकतन्त्र ।

चौथो पुस्ताको लोकतन्त्र

सन् १९९० यता विश्वमा नितान्त नयाँ प्रकारको लोकतन्त्रको बहस भइरहेको छ । जसलाई ‘सहभागितामूलक लोकतन्त्र’, ‘प्रत्यक्ष लोकतन्त्र’ वा ‘समावेशी लोकतन्त्र’ भन्न सकिन्छ ।

प्राचीन ग्रिसको लोकतन्त्रसँग यो बहसको साइनोलाई जोडेर गणना गर्दा यो हुन आउँछ, चौथो पुस्ताको लोकतन्त्र । यही नै आजका सन्दर्भमा लोकतन्त्रको पछिल्लो विकल्प हो ।

यो कसरी दोश्रो वा तेश्रो पुस्ताको लोकतन्त्र भन्दा भिन्न छ ? सहभागितामूलक लोकतन्त्र भन्नेहरू न त पुँजीवादी हुन्, न त कम्युनिस्ट । न त दायाँ, न त बायाँ । उनीहरू अग्रपंथीहरू हुन् । उनीहरू फरवार्ड मुभ गर्न चाहन्छन् । यस्तो लोकतन्त्रमा विश्वास गर्नेहरू न त सर्वाहारावादी न त पुँजीवादी हुन्, बरु उनीहरू हुन् मानवतावादी ।

यो लोकतन्त्रले पुराना सबैखाले लोकतन्त्रले भन्दा मान्छेको अस्तित्वलाई फरक र व्यापक दायराबाट परिभाषित गर्दछ । यो लोकतन्त्र विश्व राजनीतिको नयाँ र वैकल्पिक प्रस्ताव हो । जसको आशय हुन्छ, राज्यसत्तामा नागरिकको अविच्छिन्न सहभागिता र स्वामित्व । यहाँ अविच्छिन्न शब्द खास अर्थमा प्रयोग गरिएको हो ।

सहभागितामूलक लोकतन्त्रले केही विशेष मान्यताहरूलाई स्थापित गर्न चाहन्छ । मूलतः जन्मले हरेक व्यक्ति बराबर हो । कुनै पनि व्यक्तिमा विशेषाधिकार हुँदैन । व्यक्तिको सार्वभौमिकता सर्वोपरि हुन्छ । यसको अर्थ सार्वभौमसत्ता हस्तान्तरणीय हुँदैन । निर्वाचनमा छानिएको प्रतिनिधिले पनि सदैव र सबै मुद्दाहरूमा आफूलाई भोट हाल्नेको सम्पूर्ण सार्वभौमिकताको प्रतिनिधित्व गर्दैन । अतः उसमाथि जनताको नियन्त्रण आवश्यक हुन्छ ।

यही मान्यताका आधारमा जनप्रतिनिधिलाई अस्वीकार गर्ने र फिर्ता बोलाउने अधिकार अभिभाज्य गर्नुपर्छ भन्ने यसले मान्यता राख्दछ । अर्थात्, एकपटक भोट पाउनासाथ पाँच वर्ष जनप्रतिनिधिका नाममा एकलौटी गरिने शासकीय पद्धतिलाई यो लोकतन्त्रले अस्वीकार गर्छ । अतः यो लोकतन्त्र मुख्यतः राज्यमाथि नागरिकको निगरानी, नियन्त्रण र स्वामित्व सुनिश्चित गर्ने लोकतन्त्र हो ।

हाम्रोजस्तो देशमा पूर्ण र गहिरो लोकतन्त्रको अर्थ हुन्छ, समावेशी र समानुपातिक लोकतन्त्र । पार्टी, राज्य र राजनीतिलाई पूर्णतः समावेशी बनाउने र राज्यको आधुनिकीकरण गर्दै हाम्रो सप्तरंगी सभ्यतालाई पुनर्जागृत गर्ने यो लोकतन्त्रको मुख्य प्रस्ताव हो ।

पुरातन लोकतन्त्रमा सिद्धान्त र वादहरूको संकीर्णता, आग्रह वा पूर्वाग्रह देखिन्छ । तर, प्रत्यक्ष लोकतन्त्रले संसारकै उन्नत ज्ञान र अभ्यासलाई स्विकार गर्दछ । यो वादहरूको संकीर्णतामा नभई मान्छेको सर्वाेच्चता र गरिमामा विश्वास गर्दछ ।

यो लोकतन्त्रले व्यक्ति र समाजको सम्बन्धलाई पुनर्परिभाषित गर्न चाहन्छ । व्यक्ति र समाजका इच्छा, आकांक्षा र स्वार्थ नमिल्न सक्दछन् । न त व्यक्ति सदैव समाजको मातहत बस्छ न त समाजले व्यक्तिलाई सम्पूर्णरूपले अधिनस्थ गर्छ । अतः निजत्वका लागि प्रतिस्पर्धा र सामाजिकताको संरक्षण यो लोकतन्त्रको अर्को महत्त्व पूर्ण गुण हो ।

चौथो पुस्ताको लोकतन्त्रले परम्परागत लोकतन्त्रका दोष निर्मूल गर्ने अभिष्ट राख्दछ । यसका लागि लोकतन्त्र न त प्रक्रिया मात्र हो, न त परिणाम मात्र । व्यक्तिको सर्वाेच्चता र समाजको गरिमा निर्माण गर्न प्रक्रिया र परिणामको सन्तुलन मिलाउनु नै यो लोकतन्त्रको महत्त्वपूर्ण चरित्र हो ।

यो अर्थमा आजका लागि हामीले चाहेको लोकतन्त्र राजनीतिक लोकतन्त्र मात्र होइन बरु यो आर्थिक र सामाजिक लोकतन्त्र पनि हो । अर्थात्, जीवनपद्धतिमा लोकतन्त्र । मूल्य मान्यतामा लोकतन्त्र । संस्कार र संस्कृतिमा लोकतन्त्र । राज्यको स्वरूपमा मात्र नभई चरित्रमा लोकतन्त्र । यही नै आजको लोकतन्त्र हो र यही नै परम्परागत र सीमित लोकतन्त्रको विकल्प हो । अर्थात्, यही नै दोश्रो वा तेश्रो पुस्ताको लोकतन्त्रको विकल्पमा चौथो पुस्ताको लोकतन्त्रको प्रस्ताव हो ।

अतः स्पष्टतः भन्न सकिन्छ, लोकतन्त्रको विकल्प छ । र, लोकतन्त्रको विकल्प हो, अझ गहिरो लोकतन्त्र ।

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved