आलेख

५० वर्ष अघिको त्यो सैनिक ‘कु’, जसलाई विश्व राजनीतिमा अझै सम्झना गरिन्छ

त्यो बिहान जननिर्वाचित राष्ट्रपति एलेन्डेलाई जर्नेल अगस्ट पिनोचेट नेतृत्वको चिली राष्ट्रिय सेनाले अपदस्थ, मात्र गरेन, उनको हत्यासमेत भयो । किनकि, उनी विना रक्तपात समाजवाद निर्माण गर्न चाहन्थे । विश्व राजनीतिमा आज पनि बारम्बार सम्झना गरिने त्यो ‘कु’ आफैँमा एक भयानक घटना र इतिहासको महत्त्वपूर्ण कडी थियो ।

५० वर्ष अघिको त्यो सैनिक ‘कु’, जसलाई विश्व राजनीतिमा अझै सम्झना गरिन्छ

५० वर्षअघि, सन् १९७३ सेप्टेम्बर ११ को बिहान चिलीमा सैनिक ‘कु’ भएको थियो । त्यसको साक्षी म जीवितै छु । ५० वर्षदेखि अपदस्थ राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्युको शोकमा छु ।

त्यो बिहान जननिर्वाचित राष्ट्रपति एलेन्डेलाई जर्नेल अगस्ट पिनोचेट नेतृत्वको चिली राष्ट्रिय सेनाले अपदस्थ, मात्र गरेन, उनको हत्यासमेत भयो । किनकि, उनी विना रक्तपात समाजवाद निर्माण गर्न चाहन्थे । विश्व राजनीतिमा आज पनि बारम्बार सम्झना गरिने त्यो ‘कु’ आफैँमा एक भयानक घटना र इतिहासको महत्त्वपूर्ण कडी थियो ।

तर, मेरो शोक एलेन्डेका लागि मात्र हैन । उनी अपदस्थ भएपछिका ती थुप्रै महिला, पुरुषका लागि पनि हो जसको यो घटनाक्रममा मृत्यु भयो । कतिले मृत्युदण्डको सजाय पाए । मेरा थुप्रै साथी बेपत्ता पारिएका थिए । हामी हजारौं मानिसले सान्टियागोको सडकमा एलेन्डेको समर्थन र प्रतिरक्षामा मार्च गरेका थियौं । विना रक्तपात समाजवाद निर्माण गर्ने उनको प्रयत्नलाई हामी अभूतपूर्व मान्थ्यौं ।

मैले त्यो क्षणलाई हाम्रो शान्तिपूर्ण क्रान्ति असफल भएको संकेतको रूपमा लिएको थिएँ। बिहान सबेरै मैले राजधानी शहरमा जर्नेल अगस्टो पिनोचेट नेतृत्वको सैनिक जुन्ताले नियन्त्रण गरेको घोषणा सुनेको थिएँ । त्यसपछिको राति मैले रेडियोमा सुनेँ कि राष्ट्रपति एलेन्डे राष्ट्रपति भवन ला मोनेडामा मृत भेटिए।

खासमा घरमै बसिरहेका एलेन्डेलाई नयाँ शासकहरूले अगाडि नै शिकार गरिसकेका थिए । नयाँ शासक सरकारको आसनमा बसिसकेपछि पनि सशस्त्र सैन्य बलले त्यहाँ बमवर्षा र ट्यांकहरूले आक्रमण गरेको थियो ।

यो घटनापछि ममा उत्पन्न पहिलो प्रतिक्रिया डर थियो । मलाई के हुने हो भनेर म भयभित थिएँ। मेरो परिवार, मेरा साथीभाइ र मेरो देशलाई के हुने हो भन्ने डरले म भित्रभित्रै काँपेको थिएँ । डरको भावनापछि मेरो हृदयमा दु:खको बबन्डर उठेको थियो। हामीसँग एक मौका थियो, लोकतान्त्रिक तबरले निर्वाचित ल्याटिन अमेरिकाकै पहिलो वामपन्थी सरकार विश्वकै प्रेरणा बन्न सक्थ्यो । हामीले इतिहास परिवर्तन गर्ने अनौठो उज्यालो पाएका थियौं । तर, अब यो हावामा उड्यो ।

जर्नेल पिनोचेटले हाम्रा सपनाहरू समाप्त मात्र गरेनन, उनले मानव अधिकार हननको एक निर्दयी युगलाई भित्र्याए ।

उनको सन् १९७३ देखि सन् १९९० सम्मको शासनकालमा ४० हजार भन्दा बढी मानिसलाई शारीरिक तथा मनोवैज्ञानिक यातना दिइयो । सयौं मारिए । हजारौं राजनीतिक विपक्षी, स्वतन्त्र आलोचक, निर्दोष नागरिकसँग आपत्तिजनक व्यवहार गरियो । शंकाको भरमा तिनलाई जेलमा कोचियो । हत्या गरियो । सताइयो । निर्वासनमा धपाइयो । हजारौं मानिस अहिलेसम्म हराएका वा बेपत्ता पारिएका छन, जसको अन्त्येष्टि भएन, जसको कुनै चिहान छैन।

आज फेरि चिलीमा र नि:सन्देह विश्वभरि नै अधिनायकवादी शासनको आकर्षण बढेको छ । यस्तो बेला ५० वर्ष अघिको यो घटनालाई हाम्रो राष्ट्रले कसरी लिन्छ ? मेरो विचारमा त्यो हाम्रो साझा विगतको एक ऐतिहासिक आघात थियो । तर, त्यो आजको अधिनायकवादप्रतिको बढ्दो रुझानभन्दा बढी महत्त्वपूर्णचाहिँ हैन ।

धेरै कन्जर्भेटिभहरू चिलीमा आज पनि यो तर्क गर्छन् कि सन् १९७३ को सैनिक ‘कु’ एक आवश्यक मार्ग सुधार थियो । उनीहरूको यस्तो तर्कपछाडि एक शक्तिशाली व्यक्तिको नोस्टाल्जिया लुकेको छ, जसले हाम्रो समयका समस्या समाधान गर्न आदेश थोपरेर, असहमति र आलोचनालाई कुल्चिएर वा कुनै यस्तै तरिकाले राष्ट्रको मिथकीय पहिचानलाई पुनर्थापित गर्न सक्दछ।

आजका ७० प्रतिशत चिलीबासीको जन्म सेनाले सत्ता कब्जा गरेको बेला भएकै थिएन । हाम्रा आजका समस्या र द्विविधाको समाधान हिंसाको सहाराबाट गर्न सकिन्छ भन्ने सोच आफैँमा खतरनाक हो । यो चिलीका लागि मात्र हैन, बाँकी संसारका लागि समेत उत्तिकै ठूलो सत्य हो । आज विश्व एकता, सहकार्य, ऐक्यबद्धता, संवाद र करुणाको साटो विभाजन लिप्त हुँदैछ । यो दु:खद छ । चिलीमा पनि त्यसका प्रभाव देखिँदैछन्।

५० वर्षअघि जर्नेल अगस्टो पिनोचटको नाम सुन्नेबित्तिकै मलाई थाहा भइसकेको थियो कि हामी बर्बाद हुँदैछौं । राष्ट्रपति एलेन्डेले जर्नेल पिनोचेटलाई संविधानको समर्थन गर्ने र त्यस विरुद्धका कुनै पनि व्यवधान रोक्न सक्ने सैन्य अधिकारीका रूपमा विश्वास गरेका थिए ।

मैले ‘कु’ को एक साताअघि मात्र जर्नेल पिनोचेटसँग संक्षिप्त कुराकानी गरेको थिएँ । त्यो बेला म राष्ट्रपति भवन ला मोनेडामा काम गर्थें । राष्ट्रपति एलेन्डेको प्रमुख स्टाफको समूहभित्र सञ्चार तथा संस्कृति सल्लाहकारको रूपमा काम गरिरहेको थिएँ।

मैले त्यहाँ अक्सर जर्नेल पिनोचेटका फोन उठाउन र उत्तर दिनुपर्थ्यो । उनी रिसाएको नाके स्वरमा बोल्ने गर्थे । उनको रिसबाट यो बुझ्न सकिन्थ्यो कि उनी भर्खरै आफैँले रक्षा गर्ने कसम खाएको संविधान र लोकतन्त्रको विरुद्धमा कुनै आदेश गर्ने वाला थिए ।

म अर्जेन्टिनामा जन्मेको र अमेरिकामा हुर्केको थिएँ । मलाई चिलीले १२ वर्षको उमेरमा प्रवेश दिएको थियो । म जति बढ्दै गएँ, यो राष्ट्रप्रतिको मायाले मलाई झन् झन् बेर्दै लग्यो । यो राष्ट्रमा लामो समयदेखि चलेको लोकतन्त्र र राष्ट्रिय मुक्तिको आन्दोलनले मलाई आफूतिर तानेको थियो । हाम्रो पुस्ता एलेन्डेको चामत्कारिक नेतृत्वमा संघर्षशील श्रमिक र बुद्धिजीबीले बनेको थियो । हामी त्यस्तो भविष्यको बाटोतिर छौं भन्ने विश्वास गर्थ्यौं, जहाँ समाज थोरैले धेरैमाथि गर्ने शोषणमा भर पर्दैनथ्यो ।

यो हाम्रो सपना मात्र थिएन । जब हाम्रा नेताले सन् १९७० को आम चुनाव वामपन्थी दलको गठबन्धनबाट जितेका थिए, उनको सरकारले देशलाई विदेशी बहुराष्ट्रिय कम्पनी र स्थानीय कुलिन तन्त्रबाट मुक्त गर्न नीतिगत सुधार लागू गर्न थालेको थियो । यो व्यक्तिगत र सामूहिक दुवै दृष्टिले वर्णन गर्न गाह्रो पर्नेगरी खुसी र आनन्दको कुरा थियो । सामान्य मानिस नै यो प्रक्रियाका नायक थिए । हामीले जस्तो संसार पाएका छौं, त्यसलाई स्वीकार गर्न पर्दैन, हामीले यसलाई फेर्न र राम्रो बनाउँन सक्छौं भन्ने भावनाले सबैलाई आल्हादित पार्दै थियो ।

तर, हामी जेलाई उज्ज्वल अवसर देख्थ्यौं, हाम्रै देशका केही षड्यन्त्रकारी यो क्रान्तिलाई आफ्नो परम्परागत पहिचान, अहंकार र वर्चश्वमाथिको धम्की ठान्थे । विशेषतः ती मानिस यस्तो ठान्थे जो आफ्नो सम्पत्ति र सुविधालाई प्राकृतिक विशेषाधिकार र व्यवस्थाको अभिन्न अंग ठान्थे । चिलीको धन-सम्पत्तिमा लामो समयदेखि कब्जा जमाएका यिनीहरूले अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र सीआईएको सहयोगमा एलेन्डेको सरकार ध्वंस्त गर्ने षडयन्त्र रचे ।

सेप्टेम्बर ११ को रात धनी र शक्तिशालीहरूमा कुनै शोकको भावना थिएन । बरु चिली उनीहरूको डरजस्तो अर्को क्युवा हुनबाट बचेको भन्दै हर्षोउल्लास मनाइरहेका थिए । एक सर्वसत्तावादी राज्य जसले उनीहरूको देशको पहिचान र नागरिक अस्तित्व मेटाउन सक्थ्यो, उनीहरू त्यसैलाई आफ्नो बिर्ता ठानिरहेका थिए । यसरी त्यही रातबाट देश सैनिक शासनको समर्थन र विरोधमा विभक्त भयो । सैनिक शासनका लाभार्थी एकातिर र पीडित अर्कोतिर भए । यो विभाजन सन् १९९० मा लोकतन्त्रको पुनर्स्थापना यताको यत्तिका वर्षपछि पनि कायमै छ ।

चिलीले एक राष्ट्रका रूपमा अधिनायकवादी क्रुरता र निर्दयता स्वीकार गर्नुहुन्न भन्नेमा एक प्रकारको आम सहमति नबनाएको हैन । यो पाटोमा प्रगति भएकै छ । तर, जोखिमपूर्ण कुरा के छ भने अझै करिब एकतिहाइ चिलिका वासिन्दा जर्नेल पिनोचेटको आततायी शासनलाई गौरवीकरण गर्दछन् । पिनोचेट–निरंकुशताप्रति समर्थन जनाउने र स्वीकृति दिने गर्दछन्।

चिली फेरि अर्को सैनिक ‘कु’ मा फस्ने स्तरको स्थिति त अहिले बनेको छैन । तर, स्थिति नाजुक हुँदै गएजस्तो देखिन्छ । अहिलेका ३७ वर्षीय राष्ट्रपति गेब्रियल बोरिक एलेन्डेका प्रसंशक हुन् । उनले लोकतन्त्रको पक्षमा आम राजनीतिक सहमति बनाउने प्रयत्न गरिरहेकै छन् । उनको प्रयासमा सबै राजनीतिक दलले एक संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् कि यस्तो बेला कुनै पनि प्रकारको अधिनायकवादी शासनको औचित्य पुष्टि हुने छैन । त्यसका बाबजुद दक्षिणपन्थको लहर पनि बढो जबर्जस्त छ ।

दक्षिणपन्थका नेता जोसे इन्टोनियो कास्ट, जसलाई चिलीको ट्रम्प भनिन्छ, जो सन् २०२५ मा हुने राष्ट्रपतिय निर्वाचन आफ्नो पक्षमा हुने अपेक्षा गर्दछन्, उनी अधिनायकवादी विरासतका समर्थक हुन् । उनी र उनका उल्लेखनीय संख्यामा रहेका समर्थक सन् १९७३ सेप्टेम्बर ११ को घटनाको निन्दा गर्न चाहँदैनन् । बरु उनीहरूले उल्टै यस्तो एक थेसिस बनाएका छन् कि त्यो बेला चिलीलाई समाजवादबाट बचाउन विद्रोह गर्नुबाहेक सेनासँग अरु कुनै विकल्प थिएन।

सायद धेरै युवाले तर्कको यो पाटोलाई ध्यान दिएका हुन सक्दछन् । आज उनीहरूले भोगिरहेका समस्या र राजनीतिक झगडाको त्यस्तै कुनै समाधान हुन सक्दछ कि भन्ने ठानिरहेका हुन सक्दछन् । आज चिलीमा पीडादायी समस्याको एक लामो सूची बनेको छ । अपराध र अप्रवासन, आर्थिक तथा जलवायु संकट, अपर्याप्त स्वास्थ्य सेवा, शिक्षा र पेन्सन, दक्षिणी क्षेत्रमा आदिवासी समुदायको असन्तोष र विद्रोह आदि ।

तर, चिलीको एक साझा दृष्टिकोण के हुन सक्दछ ? यसको खोज हुनै पर्दछ । विगतप्रतिको साझा बुझाइले मात्र भविष्यप्रतिको साझा दृष्टिकोण बन्न सक्दछ । चिली आज जुन अन्योल र ध्रुवीकरणमा छ, यस्तो बेला युवापुस्तालाई सैनिक शासनको दुर्भाग्य भोगेको मजस्तो पुस्ताले मार्गदर्शन गर्न सक्नुपर्ने छ ।

हामी पछाडि फर्किने हैन, अघि बढ्न पर्दछ । हामी झगडाउने हैन, मिल्न पर्दछ । हामी निरुत्साहित हैन, उत्साहित हुनुपर्दछ ।

राष्ट्रपति एलेन्डेले ला मोनेडाको आफ्नो अन्तिम भाषणमा भनेका थिए । उनी मर्न तयार हुँदै गर्दा यी शब्दलाई अमर बनाएका थिए–‘अब मेरो शान्त आवाजको भौतिक रूप तपाईंहरूसम्म पुग्ने छैन । तर, यसले केही फरक पर्दैन । तपाईंहरूले कहिल्यै मलाई सुन्न छोड्नुहुने छैन । म सधैं तपाईंहरूसँगै हुनेछु । हृदयले मेरो आवाज सुन्नु हुनेछ ।’

यी शब्दहरू वर्तमान राष्ट्रपति गेब्रियल बोरिकलाई पनि खुबै मन पर्दछन् । चिलीले जतिसुकै दु:ख भोग्न किन नपरोस्, यसले न्याय र मर्यादाको बाटो छोड्न हुँदैन । र चिलीका युवाले भविष्यमा के होला भन्ने विलाप गर्दै शोकमा हैन, इतिहासप्रतिको साझा बुझाइबाट भविष्यको साझा योजना बुन्नुपर्छ ।

(द न्युओर्क टाइम्सबाट )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved