ब्लग

मुख होइन बा, अब दु:ख हेर्छु !

मुख होइन बा, अब दु:ख हेर्छु !

बा ! म तपाईंलाई कहिल्यै सम्झिन्नँ, कहिल्यै बिर्सिन्नँ त के सम्झिनू ?

तर, फगत एउटा दिन आज, बाको मुख हेर्ने दिन रे ! बालाई सम्झिने दिन रे ! यो दिनले त्यति ठूलो अर्थै राखेन कमसेकम मेरो सन्दर्भमा । तर, फेरि पनि त तपाईंलाई नै ‘शीर्षक’ बनाएर केही अक्षरहरू छरपस्ट्याउन आजमात्रै सकेँ ।

बा ! अहिले म तपाईंभन्दा कोसौं टाढा छु । तपाईंको अनुपस्थितिमा घरी-घरी आफ्नै लय भुलेझैँ लाग्छ । फेरि बलजफ्ती लयमा फर्काउँछु आफूलाई । सम्झिन्छु तपाईंका मृदुभाषी अर्ती/उपदेशहरू । तपाईं कुनैबेला आशीर्वाद दिनुहुन्थ्यो— बा/आमालाई पाल्ने हुनू ।

नतमस्तक हुन्छु, अचम्म लाग्छ, नमिठो लाग्छ, थकथकी लाग्छ । किन पो तपाईंको आशीर्वाद लागेन मलाई ? किन पो बन्न सकिनँ म तपाईंको आशीर्वादभित्रको पात्र ? आफ्नै प्रश्न आफैँलाई अस्वाभाविक लागिरहन्छ । तैपनि फितलो एउटा प्रण छ, अहिले नसकेपनि त पछि पाल्छु ।

यो प्राण तपाईंकै ‘रिफ्लेक्सन’ हो । तपाईं आफू नहुँदा मलाई पुर्‍याउनुभयो । तपाईं कुनै प्रतिष्ठित शिक्षक हुनुहुन्नथ्यो, तर मलाई जीवनप्रदत्त शिक्षा दिनुभयो । तपाईं कुनै स्थापित समाजशास्त्री हुनुहुन्नथ्यो, तर मलाई राम्रोसँग समाज बुझाउनुभयो । तपाईं कुनै ख्यातिप्राप्त चिकित्सक हुनुहुन्नथ्यो तर, मलाई फलदायी शल्यक्रिया गरिदिनुभयो ।

अरु त मलाई फगत एक/एक पात्र लाग्छन् । शिक्षक, समाजशास्त्री अनि चिकित्सक; यी सबै-सबै एक/एक पात्र फगत । विद्यार्थीले पढ्न भुलेको कुरा, समाज समाज बन्न नसकेको कुरा अनि बिरामीहरू नफर्किएका कुराहरू अकाट्य हुन् । तर, बा ! तपाईं साँच्चै बा कहलिनुभयो, बा अर्थात् छोरोलाई दिन कुनै चिज बाँकी नराखेको व्यक्ति ।

बा ! मैले पनि तपाईंका मुख धेरै हेरेको छु । यत्तिका वर्षसम्म तपाईंको मुख हेरेरै बाँचे । धेरै हेरेँ मुख मैले । अबचाहिँ तपाईंको दु:ख हेर्न मन छ । तर, त्योभन्दा पहिले आफ्नो मुख देखाउनलायक बनाउनु छ । कमसेकम तपाईंले पनि ‘मेरो छोरा हो’ भन्न सक्नूस्, एक भरमग्दुर चाहना !

तपाईं पुरानिँदै जानुभएको सत्य हो । प्रकृतिसँग एकाकार भएर बाँच्ने हामीले यो कुरालाई स्वीकार्नुपर्छ । तर, त्यसअघि धेरै बातचित गर्नुछ तपाईंसँग । सिकाइमाग्नु सार जिन्दगीको । अर्थ्याइमाग्नुछ परिभाषा जिन्दगीको । निकालिमाग्नुछ निष्कर्ष जिन्दगीको । यत्ति हुँदो हो त, तपाईंका सामाजिक विरासत थाम्न सकूँला, तपाईंले बसाउनुभएको सामाजिक धरातल स्याहार्न सकूँला अनि तपाईंले गाड्नुभएको घरको मूल थाम थाम्न सकूँला ।

खैर बा ! तपाईंप्रतिका भावहरू व्यक्त गर्न मैले न कुनै विशेषण तयार पार्न सकेँ, न कुनै संख्या भन्न सकेँ । जे छ मनमै छ । यत्ति भनौँ— मनका कुराहरू सधैँ अटल हुन्छन्, तपाईंजस्तै अटल, तपाईं जस्तै दह्रो !

एउटा कुरा नि बा !

जीवन गौँथलीको गुँडझैँ झन्‌झन् पुरानिँदै छ । तपाईंको मात्रै के कुरा, जीवन त मेरो पनि त थोत्र्यै हुँदैछ । म काठमाडौँका ठूला-ठूला घरका भित्ताहरू नियाल्दै चौडा सडकमा कुर्कुच्चा बजार्दा पत्तो पाउँदिनँ, तपाईं खेतको गह्रामा उठेका माटोका ढिक्काहरूलाई एकएक गरी कुटोले बजार्दा थाहा पाउनुहुन्न । जीवन थोत्रिँदै गइरहेकै छ । फरक यत्ति हो— तपाईं बूढो हुँदै जानुभयो, म जवान हुँदै गएँ ।

खैर यी भरिभराउ उकुसमुकुस कुनै दिन खोल्नुपर्छ बा-छोरा बसेर । गफिनुपर्छ । सम्झिनुपर्छ विगत । हाँस्नुपर्छ वर्तमान अनि बुन्नुपर्छ भविष्य ।

शुभजिन्दगानी बा !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved