ठूला दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः सांसद जबरा

नेपालभ्युज

ठूला दलहरुले स्वर्गभूमिलाई दुषित तुल्याएः सांसद जबरा
फाइल फोटो

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो स्वर्गभूमिलाई दुषित बनाएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन् । उनले ठूला राजनीतिक दलहरुले नेपाल जस्तो पुण्य भूमिलाई दुषित गरेको बताए ।

उनले जति दुषित, घुसखोरी, भ्रष्टाचार गरेपनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे । उनले नेपालमा अपार जलश्रोतको सम्भवना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको बताए । उनले हिन्दु, बुद्ध, जैन सबै मिलेर देशको विकासमा लाग्नुपर्ने बताए ।

‘ठूला पार्टीले मुलुक चलाइरहेका छन्, आफूलाई ठूला पार्टी भन्नेहरुले यस्तो पुण्य भूमिलाई कताकता अलि दुषित गरेका छन् । तर हेर्नुहोस्, जति जे गरेपनि, जति घुसखोरी, भ्रष्टाचार गरेपनि यो पुण्य भूमिको यसको सम्भावना कसैले बिगार्न सक्दैन’ उनले भने, ‘यहाँ अपार जलश्रोत, यहाँ अन्य किसिमको हबहरु छन् । यहाँको अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर भइरहेको छ । के छैन नेपालमा ? त्यसैले यो मुलुकलाई कसैले दुषित गर्न सक्दैन ।’

कार्यक्रममा वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले देशमा सद्भाव बनाउन नेपालीहरुलाई नेपाली भाषा, सामाजिक संरचनामा र संस्कृतिमा रहेर बुझाउनुपर्ने बताए । उनले नेपालमा हजारौँ वर्षपूर्व नै सूर्यको ध्वनी पहिचान गरेर ओंकार ध्वनी उच्चारण गर्दै आएको बताए ।

‘नेपालीहरु बिना मियोको दाइँ जस्तो भएका छन् । हामी अल्मिलिएका छौँ । सद्भाव बनाउन नेपालीहरुलाई नेपालीकै भाषामा सामाजिक संरचनामा र संस्कृतिमा कुन तन्तुले अड्याएको छ, त्यसलाई बुझेर हामीले विश्व हिन्दु महासंघले धर्म, संस्कृतिको विशलेषण गर्नुपर्छ’ उनले भने,  ‘हामीले सूर्यको ध्वनी पहिचान गरेर ओंकार गायौँ । अहिले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गर्नुभएको थियो ।’

संस्कृतिविद् गुरुङले नासाका वैज्ञानिकहरुले सूर्यको ध्वनी पहिचान गर्नुभन्दा हजारौँ वर्ष पहिला देवर्षी विश्वामित्रले नेपालको बराहक्षेत्रमा व्रह्मगायत्रीको अनुष्ठान गरेको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved