नेपाल एअरलाइन्सले आजदेखि भैरहवाबाट दिल्ली र हङकङ उडान गर्दै, काठमाडौं ट्रान्जिट

नेपालभ्युज

नेपाल एअरलाइन्सले आजदेखि भैरहवाबाट दिल्ली र हङकङ उडान गर्दै, काठमाडौं ट्रान्जिट
तस्वीर : जेट फोटोज

काठमाडौं ।  नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान थालेको छ ।

आजदेखि भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–दिल्ली र काठमाडौँ–हङकङकै भाडादरमा उडान सुरु गर्न लागेको हो ।

उनले भने, “भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य मुलुकमा पठाइने छ । यस अन्तर्गत पहिलो उडानका क्रममा निगमले आज विहान ८:३० बजे भैरहवाबाट यात्रु लिएर काठमाडौँ आउने छ ।”

उनले निगमको जहाजले मलेसियाबाट भैरहवामा अवतरण हुँदा खाली भएका सिटमा हङकङ र दिल्ली जाने यात्रु बोकेर काठमाडौँ आउने बताए। अहिले निगमले काठमाडौँ–मलेसिया–भैरहवा रुट बनाएर उडान गरिरहेको छ । निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँबाट मलेसिया जाने छ । उक्त जहाज मङ्गलबार मलेसियाबाट भैरहवा आउने छ ।

यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे पनि भारतले उडान अनुमति दिएको छैन । निगमले काठमाडौँ–दिल्ली–भैरहवा हुँदै काठमाडौँ उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा स्वीकृति प्रस्ताव पठाएको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि दुवै देशका नियामक निकायसँग अनुमति लिनुपर्ने भएकाले भारतको नियामक निकायले अनुमति नदिँदा उडान सुरु हुन सकेको छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved