विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने चारजना पक्राउ

नेपालभ्युज

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने चारजना पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने जनाउँदै पीडितहरूबाट रु पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटक-पटक गरी रु दुई लाख ठगी गरेको, खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटक-पटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी, गुरुङले एक जनालाई नेदरल्यान्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।
– रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved