यसरी गर्दैछ दिल्लीले ‘जी-२०’ बैठकको तयारी

अतिथिको आवास र खानपिन व्यवस्थाका लागि भारतको विदेश मन्त्रालयले ३५ वटा पाँचतारे होटल बुक गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन होटल मौर्य सेराटन र चिनियाँ राष्ट्रपति सी चिनफिङ ताज प्यालेसमा बस्नेछन् ।

नेपालभ्युज

यसरी गर्दैछ दिल्लीले ‘जी-२०’ बैठकको तयारी

काठमाडौं। विश्वका २० ठूला अर्थतन्त्र तथा औद्योगिक राष्ट्रहरूको समूह ‘जी-२०’ को १८औं शिखर सम्मेलन आगामी सेप्टेम्बर महिनाको ९–१० मा भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ । भारत ‘जी–२०’ समूहको अध्यक्ष देश हो।

सन् २०२२ नोभेम्बरको १५-१६ मा इन्डोनेसियाको बालीमा भएको १७औं शिखर बैठकले भारतलाई समूहको अध्यक्ष बनाएको थियो । शिखर बैठकको प्रारम्भिक सत्र नयाँ दिल्लीको प्रगति मैदानमा हुनेछ ।

जी-२० समूहमा जर्मनी, अर्जेन्टिना, ब्राजिल, अमेरिका, क्यानडा, भारत, चीन, रुस, इन्डोनेसिया, इटाली, अस्ट्रेलिया, जापान, बेलायत, टर्की, मेक्सिको, साउदी अरेबिया, फ्रान्स, दक्षिण कोरिया, दक्षिण अफ्रिका र युरोपियन युनियन सदस्य छन् । यी देशका सरकार तथा राष्ट्रप्रमुखले बैठकमा भाग लिने अपेक्षा गरिएको छ ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे यसै भन्न सकिने अवस्था छैन । युक्रेन युद्धका कारण उनी यस्ता बैठकमा अनुपस्थित रहँदै आएका छन् । हालै, दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा सम्पन्न ब्रिक्सको १५औं शिखर बैठकमा पनि उनी गएनन् । उनको साटो रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ उपस्थित भएका थिए । १७औं बाली शिखर बैठकमा पनि उनी गएका थिएनन् ।

थप ९ देशलाई जी–२० आसन्न शिखर सम्मेलनमा आमन्त्रण गरिएको छ । ती हुन्- बंगलादेश, यूएई, ओमान, नाइजेरिया, नेदरल्यान्ड, मौरिसस, इजिप्ट, सिंगापुर र स्पेन । केही अन्तर्राष्ट्रिय संघसंस्था र नागरिक समाजका प्रतिनिधिले पनि बैठकमा भाग लिनेछन्।

जी–२० मुलुकले विश्वको ८० प्रतिशत जीपीडी, ७५ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार र ६० प्रतिशत जनसंख्या हिस्साको प्रतिनिधित्व गर्दछन् ।

भारत सरकारले सेप्टेम्बर ८ देखि ११ सम्म राजधानी नयाँ दिल्लीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुरक्षा व्यवस्थाको सहजताका लागि यस्तो निर्णय गर्न परेको बताइएको छ ।

जी-२० शिखर बैठकका मुख्य एजेन्डा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी सहजीकरण, रोजगारी सिर्जना, हरित अर्थतन्त्र र जलवायु परिवर्तन हुनेछन् । शिखर सम्मेलनमा दीगो विकास लक्ष्यको प्रगति प्रतिवेदनसमेत प्रस्तुत हुनेछ ।

अतिथिको आवास र खानपिन व्यवस्थाका लागि भारतको विदेश मन्त्रालयले ३५ वटा पाँचतारे होटल बुक गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन होटल मौर्य सेराटन र चिनियाँ राष्ट्रपति सी चिनफिङ ताज प्यालेसमा बस्नेछन् ।

शिखर बैठकका क्रममा दिल्लीमा २६ वटा सडक गल्ली प्रयोग हुने र महानगरपालिकाले ती सडकको विशेष सरसफाइ र सजावट गर्ने भएको छ। ती सडकपेटीमा १ लाखभन्दा बढी फूलका गमला राख्ने तयारी छ ।

शिखर सम्मेलनका क्रममा विभिन्न प्रकारका १ सय ८५ वटा बैठक हुनेछन् । तीमध्ये १३ वटा मन्त्रीस्तरीय बैठक हुनेछन् । शिखर सम्मेलनको रिपोर्टिङका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका गरी जम्मा ३२०० पत्रकारले अनुमति पाउनेछन्।

भारतमा मात्र हैन, यस्तो बैठक आयोजना हुने लागेको यो दक्षिण एसियामै पहिलोपटक हो । सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम्ः एक धर्ती, एक परिवार, एक भविष्य’ हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved