कालिमाटीमा सहज हुँदै प्याज आपूर्ति

नेपालभ्युज

कालिमाटीमा सहज हुँदै प्याज आपूर्ति

काठमाडौं। कालिमाटी तरकारी बजारमा प्याजको अभाव हटेको छ । छिमेकी मुलुक भारतले आफ्नो देशबाट निर्यात हुने प्याजमा भन्सार महशुल बढाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली तरकारी बजारमा परेको थियो ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार महशुल लगाएपछि व्यापारीहरूले प्याज आयातमा रोक लगाएका थिए ।

देशमा प्याज आयात रोकिएसँगै प्याजको मूल्य अकासिएको उपभोक्ताहरू बताउँछन् । आयात नभएपछि शनिबार र आइतबार प्याजको छिटफुट मात्रै कारोबार भएको थियो भने सोमबारदेखि आयात र बिक्री नै ठप्प भएको थियो ।

भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखियो भने अर्काेतर्फ मूल्यवृद्धि र कालोबजारी गर्नेहरूको बिगबिगी पनि उत्तिकै मौलायो । पछिल्ला दुई दिनमा मात्रै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मनपरी मूल्यवृद्धि र कालोबजारी गर्ने १७ जना तरकारी व्यापारीहरूलाई कारबाही गरेको छ ।

अहिले दैनिक २७० देखि २८० मेट्रिकटन प्याज नेपाल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजारका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनले भने, ‘अहिले प्याज आयातमा समस्या छैन् । आइतबार, सोमबार भने बजारमा प्याज नै थिएन । तर अहिले दैनिक २७० देखि २८० मेट्रिक टनसम्म प्याज नेपाल भित्रिएको छ ।’

उनले दोब्बरै मात्रामा प्याज आयात भएसँगै कालिमाटी तरकारी बजारमा प्याजको समस्या समाधान भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved