सुन तस्करी प्रकरण

शीर्ष नेताहरुको बैठक बस्दै, उच्चस्तरीय छानबिन समितिको मस्यौदालाई टुंग्याउने सम्भावना

नेपालभ्युज

शीर्ष नेताहरुको बैठक बस्दै, उच्चस्तरीय छानबिन समितिको मस्यौदालाई टुंग्याउने सम्भावना

काठमाडौं। सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको मस्यौदा टुंगो लगाउन प्रमुख दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ ।

आज नेताहरुको बैठक बसेर मस्यौदालाई अन्तिम रुप दिने तयारी रहेको तर समय भने तय भइनसकेको नेताहरुले बताएका छन् ।

मंगलबार नै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति र एमालेका अध्यक्ष केपी शर्मा ओली बसेर मस्यौदा टुंगो लगाउने तयारी थियो । तर विभिन्न कार्यक्रममा नेताहरु व्यस्त हुँदा बैठक बस्न सकेन । नेताहरु बसेर मस्यौदाको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक समेत बस्न सकेको छैन ।

मङ्गलवार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले सोमवार बोलाएको सर्वदलीय बैठकमा सरकार सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्यदललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

त्यही जिम्मेवारीअनुसार आफूहरूले मस्यौदा तयार पारेको र अब केही बेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए ।

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गएको साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

अब बस्ने सर्वदलीय बैठकले उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदामाथि छलफल गरी समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद् बैठक शुरु हुने नेताहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved