विराटनगर । अस्पतालबाट बेपत्ता एक दिनको शिशु बेचेको पुष्टि भएसँगै चिकित्सकसहित शिशुको पिता पक्राउ परेका छन् । विराटनगर–९ स्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि एक दिनको नवजात शिशु हराएकी थिइन् ।
मंगलबार ती शिशु बेचिएको पुष्टि भएसँगै स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्ण लगायतलाई प्रहरीले पक्राउ गरेको हो । कर्णले ती शिशु निःसन्तान दम्पतीलाई बेचेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार कर्णले मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलकी दिलमाया राजवंशीलाई पैसामा बेचेको पुष्टि भएको छ । दाहालका अनुसार कर्णले १० वर्षअघि विवाह भई सन्तान नभएका दम्पतीलाई शिशु बेचेको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा ५० हजार रुपैयाँ लिएको बताइए पनि प्रहरीले ठूलै रकम कारोबार भएको हुनसक्ने आशंका गरेको छ । शिशु खरिद गर्ने दिलमाया राजवंशीले भने डा कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छन् ।
प्रहरीले शिशु बिक्रीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिशु बिक्रीमा संलग्न चिकित्सक कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पती सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव रहेका मोरड्ड प्रहरीले जनाएको छ ।
अहिले प्रहरीले चिकित्सकसहित शिशुको बुवा समेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शिशुको पिता भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईले आफ्नी गर्भवती पत्नीलाई थाहै नदिई बच्चा बेपत्ता बनाएको खुलेको प्रहरीले जनाएको छ ।
राई र शिशुकी आमाबीच विवाह भएको छैन । उनीहरूबीच २ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
Facebook Comment
Comment