आलेख

राजनीतिक आन्दोलनको तारो अब ‘बपौती प्रथा’ बन्नुपर्छ

वास्तवमा संग्रह गरिनु आफैँमा गलत हो भने यसरी संग्रह गरिएको धन श्रम नगर्ने व्यक्ति वा सन्तानलाई दिनु घोर अनैतिक । यसले समाजका अन्य व्यक्तिको प्राकृतिक अधिकारलाई संकुचित मात्रै गर्दैन बरू शोषणलाई गहिरो बनाउँदछ । जसरी मानिस जन्मिनेबित्तिकै श्वास फेर्न स्वतन्त्र हुन्छ त्यसरी नै एक व्यक्ति जीविकोपार्जनका लागि कुनै पनि खेतीयोग्य जमिनमा श्रम गर्न स्वतन्त्र हुन्छ ।

राजनीतिक आन्दोलनको तारो अब ‘बपौती प्रथा’ बन्नुपर्छ

केही समय पहिलेको कुरा हो । गाउँमा एकान्तको घर अगाडि मार्क्सको पुँजी हातमा लिएर घोत्लिँदै थिए । मार्क्सले निजी सम्पत्तिको विरोध गरेको कुरालाई पैतृक सम्पत्ति अर्थात् बपौतीसँग जोडेर सोचिरहेको थिएँ । एकछिनमा एक जना मैले हजुरबा भनेर बोलाउने छिमेकी हर्कबहादुर खड्का भैंसी लिएर आउनुभयो । घर अगाडिको चउरमा भैंसी चरिरहेको थियो । उहाँ त्यसको ठीक पछाडि उभिनुभएको थियो । मैले उहाँलाई बपौती प्रचलनबारे तपाईंलाई के लाग्छ भनेर सोधें । उहाँ पूर्व प्रधानपञ्चका छोरा पनि हुनुहुन्थ्यो । उहाँले भन्नुभयो- ‘मेरा बाले भन्नुहुन्थ्यो छोराछोरी बिगार्नु छ भने सम्पत्ति जोडिदिनु ।’ उहाँबाट अपेक्षा गरेभन्दा राम्रो उत्तर पाउँदा म उत्साहित भएँ । केही समय हाम्रो यो विषयमा कुरा भयो ।

अहिले हर्कबहादुर हजुरबाको निधन भइसकेको छ । यहाँ भन्न के खोजिएको के हो भने सन्तानका लागि सम्पत्ति जोड्नु त्यो सामन्ती व्यवस्थाका प्रधानपञ्चलाई पनि उचित लागेको रहेनछ । अहिले पुँजीवादी व्यवस्थाका उत्कृष्ट मोडल बिल गेट्सलाई पनि लाग्दैन । यद्यपि, किन अहिले पनि यो प्रथा कायम छ ? यसका विरुद्धमा किन बलियो आवाज उठाउन सकिएको छैन ?

वास्तवमा हजारौं वर्षदेखि सम्पत्तिको पुस्तान्तरण हुने परम्परा चल्दै आएको छ । धार्मिक ग्रन्थहरूले नै यो कुरालाई मान्यता दिएका छन् । कुनै बेला मानव घुमन्ते जीवन बिताउथ्यो त्यो चरणमा खेतीयोग्य जमिनको संरक्षणका लागि यो प्रथा उपयुक्त पनि थियो होला । यो प्रथाका कारण तत्कालीन समाजमा उत्पादनशील जमिनको व्यवस्थापन हुने, जनसंख्याको वृद्धि गर्न सहयोग पुग्ने, स्थायी बसोबासलाई प्रोत्साहन गर्न सकिने र, त्यसो गर्दा उत्पादकत्व पनि बढ्थ्यो होला भनेर अनुमान लगाउन सकिन्छ । त्यो समयमा सबै जना जमिनमा निर्भर हुने हुँदा त्यसले ठूलो वर्गीय असमानता ल्याउने सम्भावना कम थियो पनि भन्न सकिन्छ ।

‘जसको शक्ति उसैको भक्ति’ चल्ने उक्त समयमा शक्तिशाली सीमित व्यक्तिले विस्तारै उत्पादनको एक मात्र साधन जमिनमाथि कब्जा गर्दै गए । धेरै मानिसहरू बाँच्नका लागि सीमित ठूला जमिन्दारमा निर्भर हुनुपर्दा ती जमिन्दार राजनीतिक रूपमा पनि शक्तिशाली भई राजा तथा राजकुमारका रूपमा प्रभावशाली भए । सामन्तवादमा राजनीतिक अधिकारसमेत वंशानुगत हुन गयो । बपौतीका कारण नै जमिन्दारको छोरा जमिन्दार हुने अवस्था बने झै राजनीतिज्ञको छोरा (राजकुमार)ले पनि राजनीति गर्ने भयो । यसरी, वंशीय जमिनदारी र राजनीतिले सामन्तवादलाई लामो समयसम्म अगाडि बढायो । वास्तवमा त्यो सामन्तवादी शोषण र विभेद यति गहिरो थियो कि, यसको प्रभाव आजसम्म पनि हामी भोग्न विवश छौं ।

मोटो बपौती लिने सन्तानहरूले अन्य व्यक्तिले भन्दा गुणस्तरीय शिक्षा, स्वास्थ तथा अन्य सुविधा पाउने र लगानीका लागि पुँजी हुने हुँदा सधैं धनी भइराख्ने भयो । तर, गरिबको चाहिँ नयाँ उत्पादनका साधनहरू जस्तै उद्योग तथा प्रविधिमा पहुँच नहुँदा उनीहरूका सन्तान पनि गरिब नै रहने अवस्था बन्यो । यसले वर्गीय समस्यालाई पनि वंशीय बनाइदिएको छ ।

उदारवादले सैद्धान्तिक रूपमा सबै जनालाई धनी हुने बाटो त खोलिदियो, तर बपौती प्रथामा कुनै समस्या देखेन । विस्तारै उत्पादनका साधनहरू थपिए, तर धनको समान वितरणलाई आवश्यक ठानिएन । बपौतीसँगै वर्गान्तर बढ्दै गयो । बपौती प्रथाको प्रभाव अहिले पनि यस्तो छ कि फोर्ब्सअनुसार अमेरिकाका सबैभन्दा धनीमध्ये करिब दुईतिहाइ पैतृकरूपमा नै धनी व्यक्ति हुन् ।

मोटो बपौती लिने सन्तानहरूले अन्य व्यक्तिले भन्दा गुणस्तरीय शिक्षा, स्वास्थ तथा अन्य सुविधा पाउने र लगानीका लागि पुँजी हुने हुँदा सधैं धनी भइराख्ने भयो । तर, गरिबको चाहिँ नयाँ उत्पादनका साधनहरू जस्तै उद्योग तथा प्रविधिमा पहुँच नहुँदा उनीहरूका सन्तान पनि गरिब नै रहने अवस्था बन्यो । यसले वर्गीय समस्यालाई पनि वंशीय बनाइदिएको छ ।

बपौती अलोकतान्त्रिक र सामन्तवादको एक कुरूप प्रथा हो । २१औं शताब्दीमा हामी सभ्यताको विकास र लोकतन्त्रको कुरा गर्दछौं । तर, अहिले पनि बपौती एक यस्तो प्रथा हाम्रो समाजमा छ जहाँ कुनै एक मानिसको अधिकार नजन्मिँदै र मृत्युपश्चात् पनि सुरक्षित छ । तर, यहाँ धेरै मानिसहरू हातमुख जोड्न कठिन अवस्थामा बाँचिरहेका छन् । यो प्रथाका कारण कुनै व्यक्ति नजन्मिँदै सम्पत्तिको मालिक भएर आउँदछ भने कोही ऋणको भारी बोकेर आउँछ । ‘अमेरिकन ड्रिम’जस्ता समान अवसरका नारा दिएर नथाक्ने नवउदारवादले यो अनैतिकतालाई जायज ठहर्‍याउनु आफैँमा आश्चर्यजनक छ ।

पुँजीवाद र बपौती

आजभोलि अरूले भन्दा धेरै सम्पत्तिको संग्रह (नियन्त्रण) गर्नेलाई धनी भनिन्छ । उक्त धनी व्यक्ति समाजको प्रतिष्ठित पनि मानिन्छ । यो सामाजिक मूल्य पछिल्ला शताब्दीमा विकसित हुँदै आएको हो । कतिपय विद्वान् यो मान्यताको विकास इसाई धर्मको पुनर्संरचनासँगै सोह्रौं शताब्दीबाट सुरू भएको मान्दछन् । जे होस् यो मान्यताले पुरानो सामाजिक नैतिक नियमलाई परिवर्तन गरी व्यक्ति केन्द्रियता वा व्यक्तिको योग्यताका आधारमा अवसरहरू पाउने प्रणाली सुरु गर्‍यो । व्यक्ति ऊ असफल भए पनि सफल भए पनि आफैँलाई जिम्मेवार ठान्न थाल्यो । पुँजीवादसँगै विकसित भएको यो सामाजिक व्यवस्थामा आम्दानी वा जागिरलाई सफलताको मापक बनाउन थालियो ।

उक्त परिवर्तित मान्यतालाई प्रोटेस्टेन्ट मान्यता भनेर चिनिन्छ । यद्यपि, यस मान्यतानुसार पनि अनावश्यक भोग गर्नुलाई जायज ठानिँदैन । तर, भोगविना उत्पादन नहुने तथा तीव्र उत्पादनविना नाफा आर्जन गरी संग्रह बढाउन नसकिने हुँदा उदारवादी यो मान्यतामाथि पुँजीवाद हावी हुन पुग्यो । संग्रह गरिएको सम्पत्तिका कारण व्यक्ति भोगका लागि लालायित हुनु पनि स्वाभाविक थियो । यसरी, पुँजीवादको विश्वव्यापि फैलावटसँगै संग्रह तथा भोगको ‘रेस’ चल्न थाल्यो । अहिले विश्वभरि प्रत्येक राष्ट्र यही प्रतिस्पर्धामा दौडिरहेका छन् ।

लेखको मूल विषयमा फर्कौं । पुँजीवादको प्रतिस्पर्धामा लागेको मानिसका लागि बपौती त्याग गर्नु वास्तवमा एक आत्मघाती कदमजस्तो लाग्न सक्दछ । किनकि, बपौतीको आडमा कसैको पुस्तौं प्रतिस्पर्धामा योग्य ठहरिन सक्दछन् । पछि पर्दै गर्दा पनि अरू कयौंभन्दा अगाडि रहन सक्छ । यद्यपि, मानिसले बपौती त्याग गर्दै गर्दा उसको र समाजको फाइदा के ? भनेर सोध्दछ नै । यदि, कसले त्याग्दा आफूलाई बढी सन्तुष्टि र सफल पाउँदछ भने ऊ त्याग्न तयार पनि हुन्छ । बिल गेट्सलाई नै यसको उदाहरण मान्न सकिन्छ ।

वास्तवमा बपौती नवउदारवादी तथा समाजवादी दुवै राजनीतिका लागि समस्या हो । तर पनि पुँजीवादसँगै यसले आफूलाई झनै बलियो बनाउँदै लगेको छ । चित्र कस्तो देखिन्छ भने जसरी सामन्तवादमा सामन्त वा शासकको भूमिका पुस्तौनि हुन पुगेको थियो पुँजीवादमा पनि पुँजीपतिको भूमिका यस्तै हुन गएको छ ।

बढ्दो वर्गीय समस्याले पुँजीवादलाई नै खतरा हुने स्थिति बन्दै जाँदा यसले नवउदारवादको टेको टेक्न सक्दछ । त्यो भनेको योग्यतावादलाई न्यायिक बनाउने नै हो । बच्चाले आमाको गर्भबाट नै समान अवसर प्राप्त गर्नुपर्दछ । यो हुन नसक्दा कथित ‘जान्नेबुझ्ने’हरूको वर्ग निर्माण गर्ने विभेदी भनेर गरिने आलोचनाबाट नवउदारवाद मुक्त हुन सकेको छैन ।

नव उदारवादले आफूलाई योग्यताका आधारमा अवसर दिने व्यवस्था हो भनेर दाबी गर्दछ । यद्यपि, जन्मसँगै गरिब बस्ने बस्तीमा हुर्केको, त्यस्तै स्कुलमा पढेको र त्यस्तै खाना खाएको बच्चाले शहरमा बस्ने धनी परिवारको बच्चासँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ? सकारात्मक कुरा अहिले परिस्थिति कस्तो बनेको छ भने यो समस्यालाई बेवास्ता गरेर अगाडि बढ्न सक्ने अवस्थामा नवउदारवाद पनि छैन । अवश्य पनि योग्यताका नाममा व्यक्तिका असमान अवसरहरूलाई नजरअन्दाज गर्दै गरिने प्रतिस्पर्धा न्यायिक हुन सक्दैन ।

बढ्दो वर्गीय समस्याले पुँजीवादलाई नै खतरा हुने स्थिति बन्दै जाँदा यसले नवउदारवादको टेको टेक्न सक्दछ । त्यो भनेको योग्यतावादलाई न्यायिक बनाउने नै हो । बच्चाले आमाको गर्भबाट नै समान अवसर प्राप्त गर्नुपर्दछ । यो हुन नसक्दा कथित ‘जान्नेबुझ्ने’हरूको वर्ग निर्माण गर्ने विभेदी भनेर गरिने आलोचनाबाट नवउदारवाद मुक्त हुन सकेको छैन ।

समान अवसरको सिर्जना कसरी गर्ने त ? वास्तवमा यो उदारवादी तथा समाजवादी दुवैका लागि उत्तर खोज्नुपर्ने प्रश्न हो । परीक्षामा एउटै प्रश्न सोधेर समान अवसर दिने होइन, उनीहरूलाई कम्तिमा खाना, शिक्षा र स्वास्थ्यमा समान अवसर प्रदान गरिनुपर्दछ । महिनामा लाख तिर्नुपर्ने राजधानीका निजी स्कुल र दूरदराजका सरकारी स्कुलमा पढ्ने विद्यार्थीलाई एउटै प्रश्न सोध्दैमा त्यो कसरी न्यायिक प्रतिस्पर्धा हुन्छ ? त्यो परीक्षा कथित योग्यता भएको भनिएकालाई वैधानिक बनाउने काम मात्रै हुन्छ ।

पुरातन समाजवादले अवसरमा समानताभन्दा वितरणमा समानता खोज्ने गर्दछ । काम जसले जे गरोस्, ज्याला समान पाउनुपर्दछ भन्ने मान्यता यसको हुन्छ । यद्यपि, यो पंक्तिकारलाई के लाग्दछ भने पुँजीको निर्माण नै सामाजिक उत्पादनको उद्देश्य रहने बेलासम्म यो सम्भव छैन । किनकि, यस्तो विचारले वितरणको कुरा मात्रै गर्दछ । न यसले कसरी उत्पादन बढाउने भन्ने उपाय बताउँछ न त उत्पादन नबढाउने हो भने के गर्ने भन्ने प्रष्ट वैकल्पिक उद्देश्य नै दिन्छ ।

यस विचारका लागि पुँजीवाद हानिकारक हुनुको एक मात्र कारण यसले वर्गीय समस्या उब्जायो भन्ने देखिन्छ । पुँजीवादले जस्तै यसले पनि धनलाई सन्तुष्टिको आधार ठान्ने हुँदा समान वितरण भयो भने समस्या समाधान हुने ठान्दछ । वास्तवमा भन्ने हो भने समाजवादीहरूले ‘समानता नै किन ? समानता पनि के को आधारमा नाप्ने ? मानिस भौतिकरूपमा समान हुँदैमा वास्तविक समानता सम्भव छ ?’ यस्ता प्रश्नहरूको उत्तर खोज्नु जरुरी छ।

बपौती विरुद्धको संघर्ष

माथि उल्लेख गरिएझैं वर्गीय समस्या बपौती प्रथासँग जोडिएको छ । यद्यपि, बपौतीको आफ्नै सामन्तवादी चरित्रका कारण उदारवादी र समाजवादीहरू यसका विरुद्ध सहकार्य गर्न सक्ने ठाउँ छ । उदार व्यवस्थामा ‘योग्यता’का आधारमा मानिसको सामाजिक प्रतिष्ठा हुनुपर्ने ठानिन्छ । यो व्यवस्थाले यसरी उत्पन्न हुने विभेदलाई सही ठान्दछ । तर, पछिल्लो समयमा वर्गान्तरको समस्यालाई सम्बोधन गर्नु पर्ने दबाबमा पुँजीवाद पर्दै गएको छ । बपौती उन्मूलनको मुद्दालाई उठाउँदै समाजवादीहरूका लागि पनि यो बेला आफ्नो विचारलाई अगाडि बढाउने अवसर छ ।

भन्नुको मतलब उदार र समाजवादी दुवै राजनीतिक विचारधारा मान्ने दलहरूले कुनै सम्झौताविना बपौतीका विरुद्ध सहकार्य गर्न सक्दछन् । उदारवादले बपौतीका कारण कसरी समान अवसरको मान्यता कमजोर भएको छ ? भनेर प्रश्न गर्न सक्दछ । वास्तवमा मानिसले योग्यता विकासका लागि समान अवसरहरू जन्मजात प्राप्त गर्दा नै योग्यतावादको प्रतिष्ठा बढ्दछ । समाजवादीहरूले कसरी यसले वर्गीय समस्यालाई झनै गम्भीर बनाएर लगेको छ ? भनेर उठाउन सक्दछन् । यी दुवै विचारधाराले वर्गीय समन्वयनको सिद्धान्तअनुरूप एकैदिशातर्फ काम गर्नु उपयुक्त देखिन्छ । यो ऐतिहासिक अवसर पनि हो । अवश्य पनि बपौती प्रथा उन्मुलनमा लागि दीर्घकालीन संघर्ष तथा सुधारका कामहरू गर्नुपर्ने हुन्छ नै ।

बपौती लिन नचाहनेका लागि राज्यले कस्तो नीति बनाएर सहयोग गर्न सक्दछ ? उदाहरणका लागि जमिनमाथिको प्राकृतिक अधिकार कार्यान्वयन गरेर गर्न सक्दछ । जसरी मानिस जन्मिनेबित्तिकै श्वास फेर्न स्वतन्त्र हुन्छ त्यसरी नै एक श्रम गर्न सक्ने व्यक्ति उसको जीविकोपार्जनका लागि कुनै पनि खेतीयोग्य बाँझो जमिनमा श्रम गर्न स्वतन्त्र हुन्छ । यो कुरामा कुनै द्विविधा हुन जरूरी छैन कि जमिन श्रम गर्नेका लागि हो ।

समानताको स्थापनार्थ वा बपौती प्रथाको शोषणबाट समाजलाई मुक्त गर्नका लागि अन्य क्षेत्रहरूमा पनि सँगसँगै काम गर्नुपर्ने हुन्छ । जस्तो समाजवादीहरू के कुरामा ध्यान दिन्छन् भने मानिस बौद्धिकरूपमा आत्मनिर्भर हुनका लागि भौतिक रूपमा पनि आत्मनिर्भर हुन जरुरी छ । यी सँगसँगै अगाडि बढाउन सकिने विषय हुन् । प्रत्येक व्यक्ति उत्पादनसँग जोडिने । विस्तारै आफ्ना आवश्यकताको पूर्तिका लागि आफैँ उत्पादन गर्न प्रयास गर्ने । त्यही प्रयासमा प्राप्त हुने भौतिक आत्मनिर्भरता र यसले उपलब्ध गराने ज्ञानको उपलब्धता नै मानिसका लागि काम गर्ने प्रेरणा हो । दीर्घकालीनरूपमा प्रकृतिसँगको सम्बन्धलाई पुनर्जीवित गर्न र आत्मनिर्भरताको आधार तयार गर्नका लागि पनि सबै मानिस किसान र सबै किसान मानिस हुने वातावरणको निर्माण गर्नेतर्फ नीतिहरू बनाउनु आवश्यक छ ।

जस्तो बपौती लिन नचाहनेका लागि राज्यले कस्तो नीति बनाएर सहयोग गर्न सक्दछ ? उदाहरणका लागि जमिनमाथिको प्राकृतिक अधिकार कार्यान्वयन गरेर गर्न सक्दछ । जसरी मानिस जन्मिनेबित्तिकै श्वास फेर्न स्वतन्त्र हुन्छ त्यसरी नै एक श्रम गर्न सक्ने व्यक्ति उसको जीविकोपार्जनका लागि कुनै पनि खेतीयोग्य बाँझो जमिनमा श्रम गर्न स्वतन्त्र हुन्छ । यो कुरामा कुनै द्विविधा हुन जरूरी छैन कि जमिन श्रम गर्नेका लागि हो ।

अहिले विश्वमा धेरै धनी मानिसहरूको उत्पादनको प्रमुख साधन जमिन होइन । नेपाल जस्ता देशमा जमिनमा काम गर्ने किसानहरू ऋणमा पर्ने परिस्थिति छ । मानिसहरू सकेसम्म जमिनसँग जोडिन नचाहेको देखिन्छ । यद्यपि, यो मुद्दा समाजवादीहरूका लागि महत्त्वपूर्ण किन हो भने आधारभूत आवश्यकताको परिपूर्ति जमिनबाट नै हुने गर्दछ । मानव मुक्तिका लागि जमिनमाथिको प्राकृतिक अधिकार किन पनि जरूरी छ भने आफ्नै आधारभूत आवश्यकताको परिपूर्ति गर्न नसक्ने मानिस स्वतन्त्र हुन सक्दैन । अर्थात्, गर्न नसक्ने बेलासम्म वास्तविक समाजवाद सम्भव हुँदैन ।

यद्यपि, जमिन माथि व्यक्तिको नियन्त्रण उसको श्रम गर्ने बेलासम्म रहन्छ । बेचबिखन गर्न पाउँदैन । अवश्य पनि बपौती दिन पाउँदैन । यदि, व्यक्ति आफ्नो श्रमबाट अतिरिक्त उत्पादन गर्दै समाजका अन्य अशक्त सदस्यलाई सहयोग गर्दछ भने उक्त व्यक्ति समाजको एक अनुकरणीय नमुना हो । समाजवादी संक्रमणको राज्यले त्यस्ता व्यक्तिहरूलाई प्रोत्साहन गर्नुपर्दछ ।

ती खासगरी उत्पादनमा प्रत्यक्ष जोडिएका मानिसहरू हुन् । ती समाजका चालक हुन् । उनीहरूको परिवर्तन वास्तविकरूपमा समाजको परिवर्तन हो । यसैकारण समाजवादी आन्दोलनले किसान तथा मजदुरलाई परिवर्तनको संवाहक र उनीहरूको स्वतन्त्रतालाई साध्य मान्दछ ।

अर्को महत्त्वपूर्ण पक्ष के छ भने प्रविधिको विकासले यसलाई उत्पादनको एक महत्त्वपूर्ण साधनका रूपमा स्थापित गरिसकेको छ । अब प्रविधिमाथिको समान पहुँचविना जमिनमाथिको अधिकारले मात्रै सबैका लागि समान अवसरको सिर्जना गर्न सकिँदैन । बपौती थुप्रिनुको एक कारण ज्ञान तथा प्रविधिमाथिको एकाधिकार हो भन्ने कुरा उदारवादीहरूले पनि बुझ्न जरुरी छ । यो निजी सम्पत्ति राख्न पाउने संवैधानिक अधिकारका आधारमा पुष्टि हुन सक्ने शोषण रहेन ।

नेपाली समाजमा आफ्ना बाउबाजेको ऋण–धन जिम्मा लिनुपर्दछ भन्ने परम्परागत मान्यताका आधारमा पनि बपौती प्रथा चलेको छ । राजनीतिले यो मुद्दालाई बलियो गरी उठाउन नसक्दा प्रथाका समस्या बुझ्न आम मानिस असमर्थ छन् । अहिले हाम्रो देशमा छोरीले पनि बपौती पाउनुपर्दछ भन्ने कुरा उठिरहेको छ । वास्तवमा यो मुद्दाले दीर्घकालीन रूपमा कसैको पनि भलो गर्दैन ।

प्रविधिमाथिको समान पहुँचका लागि अमानवीय एकस्वको अधिकार (पेटेन्ट राइट) का विरुद्धमा आवाज उठाइनु जरुरी छ । प्रविधिको विकासमा मानव सभ्यताले उत्पादन गरेको ज्ञानको योगदान छ । ज्ञान र प्रविधि सभ्यताका साझा सम्पत्ति हुन् । उदाहरणका लागि शून्यको आविष्कार गर्नेलाई अहिलेको अल्गोरिथ्म्बाट वञ्चित गरिएको छ । के कागजको आविष्कार नभएको भए अहिले रकेट विज्ञान सम्भव हुन्थ्यो ?

अधिकारको नाममा एकस्वको अधिकार शोषण र विभेदको प्रमुख कारण बनेको छ । वर्गीय समस्यालाई मलजल गर्न यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । ज्ञानमा गरिएको कब्जाले वास्तवमा सबै समुदायलाई समान अवसरको अधिकारबाट वञ्चित गरेको छ । वास्तवमा यसले बपौती प्रथालाई प्रोत्साहन दिएको छ ।

नेपाली समाजमा आफ्ना बाउबाजेको ऋण–धन जिम्मा लिनुपर्दछ भन्ने परम्परागत मान्यताका आधारमा पनि बपौती प्रथा चलेको छ । राजनीतिले यो मुद्दालाई बलियो गरी उठाउन नसक्दा प्रथाका समस्या बुझ्न आम मानिस असमर्थ छन् । अहिले हाम्रो देशमा छोरीले पनि बपौती पाउनुपर्दछ भन्ने कुरा उठिरहेको छ । वास्तवमा यो मुद्दाले दीर्घकालीन रूपमा कसैको पनि भलो गर्दैन । यो पुँजीवादी सुधारको प्रयास होला तर यो बपौती प्रथाको निराकरणको प्रयास होइन । बरू यसले यो कुरीतिलाई मान्यता दिँदै अगाडि बढाउन सहयोग गरेको छ ।

बिल गेट्सले भनेजस्तै पैतृक सम्पत्तिले सन्तानको श्रमबारे ज्ञान तथा सम्मानको विकासमा बाधा सिर्जना गर्दछ । यत्ति मात्रै भने होइन । यसरी हस्तान्तरण गरिएको सम्पत्तिका कारण समाजका अन्य सदस्यहरू माथि पनि अन्याय हुन जान्छ । किनकि, संग्रह गरिएको धन साझा प्रकृति वा समाजबाट नै लिइएको हो । त्यसमा सबैको अधिकार र योगदान छ । वास्तवमा संग्रह गरिनु आफैँमा गलत हो भने यसरी संग्रह गरिएको धन श्रम नगर्ने व्यक्ति वा सन्तानलाई दिनु घोर अनैतिक हुन्छ । यसले समाजका अन्य व्यक्तिहरूको प्राकृतिक अधिकारलाई संकुचित मात्रै गर्दैन बरू शोषणलाई गहिरो बनाउँदछ ।

निश्चित समयसम्मका लागि सन्तानलाई आत्मनिर्भर बनाउनेतर्फ सहयोग गर्नु अभिभावकको जिम्मेवारी हुन्छ भने अभिभावक वृद्ध भइसकेपछि उनीहरूको ख्याल राख्ने जिम्मेवारी सन्तानको हुन्छ । एक दम्पती उनीहरूको सन्तानको पालन पोषण तथा शिक्षा—दिक्षाका लागि सक्दो लगानी गर्न सक्दछ । केही वर्ष सन्तानप्रतिको जिम्मेवारी उनीहरूको हुने भएका कारण कति र कसरी खर्च गर्ने भन्ने स्वतन्त्रता पनि उनीहरूमा नै निहित हुन्छ । राज्यले बपौतीबाट प्राप्त धनलाई गुणस्तरीय शिक्षामा लगानी गर्दै गयो भने त्यो पनि चिन्ताको विषय बन्दैन । सन्तानको पालनपोषण र बाबुआमाको स्याहारको काम राज्यलाई दिने अभ्यास गलत छ ।

अन्त्यमा,

व्यक्तिका लागि आफ्नो क्षमता तथा व्यक्तित्व विकास गर्नका लागि फराकिला समान अवसर उपलब्ध हुनुपर्दछ । यस लेखले तर्क गर्‍यो कि उक्त दिशामा बपौती बाधक भएकाले उदारवादी तथा समाजवादी मिलेर यसका विरुद्धमा शान्तिपुर्ण संघर्ष गर्न सक्दछन् । योग्यतावादलाई आलोचनामुक्त बनाउन र वर्गीय समस्यालाई केही न्यूनीकरण गर्नका लागि उनीहरू एक ठाउँमा आउन सक्ने देखिन्छ । यसरी हेर्दा बपौती प्रथाको उन्मूलनका लागि उपयुक्त समय आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved